२०७७ मंसिर ९, मंगलवार

दैलेखमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले स्थायी परिचय पत्र पाउने भएका छन ।
दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायको स्थायी बासस्थान तोकेर आउदो शनिबार देखी परिचयपत्र वितरण गर्न लागको होे । राउटे समुदायको स्थायी ठेगाना अब गुराँस गाउँपालिकामा कायम हुनेछ ।

गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउटेको नामथर र ठेगाना खुल्ने गरी परिचयपत्र वितरणको व्यवस्था गर्न गाउँपालिकालाई परिपत्र गरेको थियो ।

अहिले सरकारले राउटे समुदायका लागि मासिक भत्ताको व्यवस्था गरेको छ । राउटेलाई दिइने परिचयपत्र छपाइको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । आगामी शनिबार परिचयपत्र वितरण गर्ने तयारी गरिएको गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।
राउटे मुखिया सूर्यनारायण शाहीले सरकारले दिने भत्ताका लागि धेरै स्थानमा घुम्नुपर्ने बाध्यता हटेको बताएका छन ।
उहाँका अनुसार एकै स्थानमा बस्न पाउँदा राउटे समुदाय खुसी भएका छन । मौसम र हावापानी अनुकूल भएकाले आफूहरू गुराँसमा बसेको उहाँको भनाइ छ । राउटे समुदाय अहिले दैलेखको गुराँस गाउँपालिका–८, गर्चे खोलामा बस्दै आएका छन ।
प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले भत्ताका लागि राउटेलाई विभिन्न स्थानमा जानुपर्ने बाध्यता हटेको बताए ।
। बासस्थान फेरिरहने कारणले राउटे समुदायबाट अत्यधिक मदिरा सेवन गरी होहल्ला र झैझगडा गर्ने, जथाभावी वन फँडानी गर्ने जस्ता मुद्दा आउने गरेका थिए । ‘अब बासस्थान एकै ठाउँमा भएपछि यस्ता घटना कमी हुने अपेक्षा छ,’ उनले भने, ‘उनीहरूको जीवनस्तर पनि व्यववस्थित हुनेछ ।