२०८१, ११ बैशाख मंगलवार

पेट्रोलियम पदार्थ अन्वेषणको पहिलो चरण सम्पन्न

दैलेख ।
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ । साइस्मिक सर्भेको काम सकिएसँगै अन्वेषण अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको हो । यहाँका नाभिस्थान, शिरिस्थान, पादुका लगायत क्षेत्रलाई आधार बनाई थालिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत पहिलो चरणको काम बिहीबार सकिएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा। गणेशनाथ त्रिपाठीले बताए ।
गत कात्तिकदेखि शुरु गरिएको अन्वेषण अन्तर्गत जियोलोजिकल सर्भे, म्याग्नेट सर्भे, टेल्युरिक सर्भे, जिओकेमिकल सर्भे, स्याम्पलिङ सर्भे र साइस्मिक सर्भेको काम चिनियाँ प्राविधिक टोलीले सम्पन्न गरेको अन्वेषण अधिकृत त्रिपाठीले जानकारी दिए ।
अन्वेषण अन्तर्गत सबैभन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्भे रहेको थियो । उनले चिनियाँ प्राविधिक टोली चीन फर्कने र अन्वेषणमा संकलन गरिएका डाटाको तीन महीनासम्म अध्ययन गरी पुनः फर्केर ४ किलोमिटर गहिराइसम्म मुख्य ड्रिलिङको काम पनि गरिने पनि जानकारी दिएका छन् ।
उनका अनुसार ड्रिलिङको काम आगामी वर्षको भदौ–असोजबाट शुरु गरिने र प्राविधिक टोलीले चाइना पुगेर कुन ठाउँमा ड्रिलिङ गर्ने भनेर म्यापिङ गर्ने र फेरि अर्को चिनियाँ टोली ड्रिलिङका लागि पुनः नेपाल आउने बुझिएको छ ।
चिनियाँ प्राविधिक टोलीले गत कात्तिक महीनादेखि दैलेखका भैरवी, भगवतीमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा विन्द्रासैनी नगरपालिकाका भू–भागलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गर्दै आएको थियो ।
भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएको अवस्थामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो ।
उक्त सहमति अनुसार नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो ।
सम्झौतामा चीन सरकारले पेट्रोलिम पदार्थ अन्वेषणका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।