२०८१, ६ बैशाख बिहीबार

‘बाँझो जमिन खन्ने काम पनि गर्छु’

 


मिनासिं रखाल कर्णाली प्रदेशसभा सदस्य हुन् । दैलेख जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले हाम्रो नयाँ नेपाल दैनिकको आइतबारिय स्तम्भ ‘दैनिकी’ आफ्नो दैनिकी यसरी बताइन् :

म बिहान करिब साढे चार बजे उठ्छु । कहिलेकाही साँझ ढिला सुतेको दिन अलि ढिला पनि हुन्छ । आफुले जानेअनुसारको योगा गर्छु । व्यायाम पनि गर्छु सामान्य रूपमा । विहान बैठक र अन्य काम नपरेसम्म मर्निङ वाक पनि गर्छु । तर नियमित चाहिँ मर्निङ वाक गर्दिन । प्रदेशसभा बैठकमा पनि प्राय हिँडेर जाने आउने गर्छु ।

सामान्य खाना खान्छु

म विहान खाजा प्राय खाँदिन । घरमा नौ बजे नै खाना तयार हुने भएकोले बिहान चिया मात्रै पिउँछु । म सामान्य खाना मन पराउँछु । खाना मलाई मन नपर्ने भन्ने छैन ।

खाना आफै बनाउँछु

प्रायगरी खाना बनाउने काम आफै गर्छु । कहिलेकाही अरूले सहयोग गरेपनि प्रायजसो खाना बनाउने कोठा सरसफाइ गर्ने लगायतका काम आफै गर्छु ।

बाँझो जमिन खन्ने काम पनि गर्छु

दैलेख गएको बेला गाउँको बाँझो जमिनमा सागपात, लसुन, प्याज र तरकारी लगाउने काम पनि गर्छु । खन्ने काम पनि गर्छु ।
साँझ करिब १० बजेतिर सुत्छु ।

फोनमा कुरा गर्न रूचाउँदिन

म धेरै फोनमा कुरा गर्न रूचाउँदिन । बैठकमा भएको समयमा फोन आएको जरूरी फोनहरू कलब्याक गर्छु । तर धेरै समय काम परेको बेलाबाहेक फोनमा कुरा गर्दिनँ ।

फेसबुकको मेसेज रिप्लाई गर्दिनँ

सामाजिक संजाल फेसबुक अलिअलि चलाउँछु । हामीले पहिलेदेखि जानेर आएनौं । पछि पनि त्यति ध्यान नदिएको कारण फेसबुकमा केही कुराहरू हेर्नेबाहेक मेसेजमा कुरा गर्दिन । धेरैले मेसेज गरिरहनुभएको हुन्छ फेसबुकमा तर मैले त्यसको उत्तर दिन असमर्थ हुन्छु । समय पनि धेरै नहुने भएकोले पनि होला सायद ।

टेलिभिजन हेर्छु

मैले टेलिभिजन हेरिरहन्छु । टेलिभिजनमा सुचनामुलक, समाचार र जानकारीमूलक सामाग्रीहरू हेर्ने गर्छु । पत्रपत्रिका मकहाँ उपलब्ध नहुने भएकोले कम पढ्छु । अन्यत्र पत्रपत्रिका भेटेँ भने समाचारका शिर्षक र मुख्य कुराहरू पढ्छु ।

फिल्म हेर्न असाध्यै रहर मान्छु

फिल्मको म शौखिन नै हुँ । फिल्म हेर्न असाध्यै रहर मान्छु । इतिहास, वर्तमान सामाजिक परिवेशका फिल्महरू हेर्छु । अहिले समय मम भएकोले फिल्म हेर्ने समय पुगिरहेको छैन ।

देशभक्ति गित सुन्छु

पुराना गितहरू सुन्छु । आधुनिक र लोक गितहरू सुन्छु । अचेलका उट्पट्याङ गित सुन्दिन मार्मिक, सन्देशमुलक गित सुन्छु । देशभक्ति गित पनि सुन्छु ।

कानुनका किताब पढ्छु

अहिले मलाई अन्य सैद्धान्तिक कितनबहरू पढ्ने फुर्सद हुँदैन । संसदका, संसदिय समितिका विषयमा कानुनहरू विधेयकहरू पढ्ने गर्छु । नीति तथा कार्यक्रम वजेट लगायतका विभिन्न कानुनका किताबहरू पढ्छु ।
खाली समयमा मनोरञ्जनात्मक किताबहरू पढ्छु । कथा उपन्यास लगायतका पुस्तकहरू पढ्छु । इतिहासका पुस्तक पनि पढ्छु ।

भेटघाट अनावश्यक गर्दिन । खालि भएको समयमा काम परेमा भेटेर कुरा गर्छु ।

प्रदेशसभामा बोल्नुपर्ने कुराहरू घरमा तयारी गरेर जान्छु

प्रदेशसभा बैठकमा बोल्नुपर्ने कुराहरूमा पहिल्यै घरमा तयारी गरेर जान्छु । लामो लामो कुरा भएमा लेखेरै पनि लैजान्छु । विषयवस्तुको बारेमा बुझ्न ऐन कानुन आदि पढ्छु । पढिसकेपछि मनमा लागेका र चित्त नबुझेका कुरा टिपेर संसद् बैठकमा बोल्छु ।

मलाई सरसफाइमा बढि ध्यान दिन मन लाग्छ । व्यक्तिगत र घरआगन सरसफाईमा ध्यान दिन रहर लाग्छ ।

देशभित्रका नयाँ ठाउँ घुम्छु । घुम्न राम्रै लाग्छ ।

हाम्रा धेरै भुमिकाहरू छन्

म आफ्नो जीवन व्यस्त ठान्छु । हामिले व्यस्त समय समयको सदुपयोग गरेका छैनौं । हामी प्रदेशसभाको सदस्य भएको नाताले हाम्रा धेरै भुमिकाहरू छन् । निर्वाचन क्षेत्रका कुरा, सिमान्तकृत समुदायका लगायतका धेरै कुराहरू छन् ।

हामी अहिले आफुलाई कम्नियुष्ट भनेपनि त्योअनुसार गरिरहेका र चलिरहेका छैनौं । हामिले कम्नियुष्ट सिद्धान्तअनुसार चल्न सकिरहेका छैनौं । कम्नियुष्टको सिद्धान्त, विचारधारा र हामी आफैलाइ हेर्दा असली कम्न्युष्ट हैनौं जस्तो लाग्छ । मैले कम्नियुष्ट विचारधारा र सिद्धान्त पढेअनुसार यही बुझेको छु ।