२०८०, १४ चैत्र बुधबार

सुर्खेत विमानस्थल विस्तारको लागि जग्गा अधिग्रहणको पक्रिया सुरु

सुर्खेत । वीरेन्द्रनगरमा उपत्यकामा अवस्थित सुर्खेत विमानस्थलको विस्तारको लागि जग्गा अधिग्रहणको पक्रिया अघि बढाइएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षता बसेको सर्वपक्षीय बैठकले विमानस्थल विस्तारका लागि नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण तयार गरी जग्गा रोक्का प्रकृया अघि बढाउने निर्णय गरेको हो ।

विमानस्थलको धावनमार्गलाई बढाएर १५ सय ५५ मीटरमा बिस्तार गर्ने र रात्रीकालिन उडान गर्न सक्ने विमानस्थलको विकास गर्नको लागि जग्गा अधिग्रहणको काम सुरु गरिएको हो । हाल विमानस्थलको धावनमार्ग १२ सय ५५ मिटर क्षेत्रमा रहेको छ । यस अघि विमानस्थल विस्तारका लागि आवश्यक पर्ने ३० विगाह जग्गा अधिग्रहण गर्न नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गरिसकेको छ ।

विमानस्थल विस्तारका लागि मुआव्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने त्यसमा ५ प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने निर्णय समेत गरिएको छ । बाँकी रकम केन्द्र सरकारले व्यहोर्ने छ ।

बैठकले विमानस्थल विस्तार एवं स्त्तरोन्नतिका क्रममा आउन सक्ने विविध समस्या सामाधान गर्न कर्णाली प्रदेश सरकारले सर्वपक्षिय समिति गठन गर्ने, जग्गा प्राप्ति प्रकृया सिघ्र अघि बढाउन प्रमुख जिल्ला अधिकारीले ३ दिन भित्र मुल्याँकन समितिको बैठक आव्हान गरी काम अघि बढाउने समेत निर्णय गरिएको छ ।

संघीय राजधानीसँग सिधा जोडिएको कर्णाली प्रदेशको एक मात्रै सुर्खेत विमानस्थल साँघुरो भएकै कारण ठूला जहाज उडान र अवतरण गर्न सकिरहेका छैनन् । विस्तार भए पछि एटीआर ७२ सिटे जहाज ल्याण्ड गर्न सकिने बताइएको छ ।

बैठकमा मुख्यमन्त्री सहित प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सर्वराज खडका, प्रदेशसभाका सांसदहरु, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारी, प्रदेश सरकारका सचिवहरु, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेको थियो ।