२०८१, ८ बैशाख शनिबार

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, दलित समुदाय झनै विभेदमा परेको गुनासो

सुर्खेत । जातिय विभेद अन्त्य हुँदै जानुपर्नेमा पछिल्लो समय झनै बढ्दै गएको दलित समुदायले गुनासो गरेका छन् । अहिलेको विकसित समाजमा पनि जातिय विभेद कायमै रहेको भन्दै उनीहरुले न्यूनिकरणका लागि सबै क्षेत्र लाग्नुपर्ने बताएका छन् ।
५६ औँ अन्तर्राष्ट्रिय जातिय उन्मूलन दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले दलित समुदाय अझै पछि आफ्नो परिचय खोज्न बाध्य भएको बताएका छन् । देशमा जातिय भेदभाव अन्त्य नभए सम्म देश नै अछुतो हुने भन्दै उनीहरुले विभेद अन्त्य गर्नको लागि दलित, गैर दलित सबै अभियानमा समेटिनुपर्ने बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका कार्यपालिकाका सदस्य डण्ड विश्वकर्माले दलित समुदायका मागहरु मागमा मात्रै सिमित रहेको बताए । ‘अहिले सम्म हाम्रा मागहरु मागमा मात्रै सिमित भएका छन्,’ उनले भने, ‘हामी झनै विभेद्मा छौँ । कानुनमा लेखिएका कुराहरु व्यवहारतह लागु भएनन् ।’ यदि कानुनमा लेखिएका सबै अधिकार पाएको अवस्थामा नेपाली भनेर गर्व गर्न सकिने बताए ।

‘अब हामी नै जातिय भेदभाव् अन्त्य गर्नको लागि उठ्नुपर्छ,’ उनले थपे, ‘दलितलाई अछुतो भनेर राष्ट्र अछुतो हुन सक्दैन ।’ देशमा हुने सबै प्रकारका विभेदहरुको अन्त्य गरेर देशलाई जातिय भेदभाव मुक्त राष्ट्र घोषणा गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा वीरेन्द्रनगर–११ की तारा बादीले अझै पनि दलितले आफ्नो परिचय खोज्दै जानुपर्ने अवस्था रहेका बताइन् । ‘गाउँघर, समाजमा हामीलाई हेर्ने दृष्टिकोणमा केहि पनि परिवर्तन आएको छैन,’ उनले भनिन, ‘जातिय भेदभावले अझै पनि समाजमा जरा गाडेको छ । अझै पनि हामी यो सब सहेर बसिरहेका छौँ ।’

कार्यक्रममा वीरेन्द्रनगर–२ की वाडुली सुनारले समाजमा अपहेलित भएर बस्न बाध्य भएको बताइन् । दलित समुदायबाट राजनीतिमा लागेका नेता तथा जनप्रतिनिधि समेत गम्भिर नभएका कारण दलितमा मुद्दा जहाँको त्यहि रहेको बताइ्न ।
कार्यक्रममा दलित कल्याण संघ समन्वय समितिका सचिव भिम परियारले जातिय भेदभाव गर्ने परिवारलाई सरकारले दिने सबै सरकारी सेवा सुविधा रोक्दा गर्ने खालका नीति नियमहरु राज्यले ल्याउनुपर्ने बताए ।

जातीय भेदभाव तथा छुवाछुत अन्त्य सम्बन्धी जिल्ला समन्वय समिति, सुर्खेतले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य सिता नेपाली, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकाल लगायत अन्य विभिन्न क्षेत्रका व्याक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले जातिय भेदभावलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।