२०८१, ७ बैशाख शुक्रबार

सिम्तामा ५० बेडको आइसोलेसन कक्ष स्थापना

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले ५० बेडको आइसोलेसन कक्षको स्थापना गरेको छ । गाउँपालिका वडा नम्बर ४ स्थित बजेडीचौर स्वास्थ्यचौकीमा अक्सिजन सहितको ५० बेडको आइसोलेसन सेन्टरको स्थापना गरेको हो ।

गाउँपालिका भित्रका कोरोना संक्रमित बिरामीलाई ध्यानमा राखेर सबैलाई पाएक पर्ने गरी आइसोलेसन कक्षको सुरुवात गरिएको सिम्ता गाउँपालिकाका अध्यक्ष केविन्द्रकुमार केसीले बताए ।

‘बिरामीलाई लक्षित गरेर केहि अक्सिजन सिडिण्डरको व्यवस्था गरेका छौँ,’ अध्यक्ष केसीले भने, ‘विद्युतबाट सञ्चालन हुने अक्सिजन मेसिन समेतको व्यवस्था गरेका छौँ । यदि कसैलाई थप उपचारको लागि बाहिर लिनुपनरेमा अक्सिजन सहितको एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ ।’

यस्तै अध्यक्ष केसीले गाउँ गाउँमा कोरोनाको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्यचौकी नभएको क्षेत्र, टोल–टोलमा स्वास्थ्य जाँच गराइरहेको समेत बताए । ‘स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्यचौकी नभएको क्षेत्रहरुमा घरमै गएर स्वास्थ्य जाँच गरिरहेको छ,’ उनले थपे, ‘टोली गाउँपालिकाका सबै वडामा पुग्ने छ ।’