२०८१, ७ बैशाख शुक्रबार

कर्णालीका १० वटै जिल्लामा फैलियो कोरोना, रोग नियन्त्रणलाई प्रभावकारी बनाउन नियन्त्रण निर्देशक समिति गठन

सुर्खेत । कोरोनाको दोस्रो लहर कर्णाली प्रदेशमा पनि तिव्र गतिमा फैलिरहेको छ । प्रदेशका १० वटै जिल्लाहरुमा दिन प्रतिदिन संक्रमितहरु बढ्दै गएका छन् । कर्णाली प्रदेश सरकारकाले कोभिड–१९ रोग नियन्त्रण तथा व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउनको लागि कोभिड रोग नियन्त्रण÷व्यवस्थापन निर्देशक समिति गठन गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा, आर्थिक मामिला तथा कानून मन्त्री, सामाजिक विकास मन्त्री सदस्य रहने गरि समिति गठन गरिएको हो ।

समितिमा जिल्ला सदरमुकाममा रहेका पालिकाका प्रमुख वा अध्यक्षहरु, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, प्रहरी नायव महानिरिक्षक, १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी समेत सदस्य रहेका छन् । समितिको सामाजिक विकास मन्त्रालयका सचिव सदस्य–सचिव रहेका छन् । समितिले कोभिड व्यवस्थापनको कार्यलाई प्रदेशभर प्रभावकारी बनाउन काम गर्ने सरकारका प्रवत्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले बताइन् ।

शुक्रबार प्रदेश सरकारको बैशाख २२ गते बसेको मन्त्रीपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्दै मन्त्री केसीले प्रदेश अस्पताल सुर्खेत समेत कोभिड–१९ रोग नियन्त्रण÷व्यवस्थापन निर्देशक समिति गठन गरिएको बताइन् ।

सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा, प्रमुख जिल्ला अधिकारी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, वीरेन्द्रनगर नगरपालिका प्रमुख, सदस्य रहने गरी समिति गठन गरिएको हो । जसको सदस्य–सचिव अस्पतालका मेडिकल सुपरिडेन्ट रहने छन् ।

यस्तै बैठकले कोभिड–१९ रोग नियन्त्रण÷व्यवस्थापनको लागि सामाजिक विकास मन्त्रालयलाई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड बजेट थप गर्ने निर्णय गरेको छ । प्राविधिक जनशक्ति सेवा करारमा छनौट गर्ने कार्यविधि २०७६ अनुसार विज्ञापन गरिएको भन्दा नबढने गरी करारमा कर्मचारी नियुक्ति गर्न सामाजिक विकास मन्त्रालय मार्फत स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

थप ५९९ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ५ सय ९९ जनामा कोरोना भाइरस (कोभिड—१९)को संक्रमण पुष्टी भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा ३ सय ८१ जना र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परिक्षणमा २ सय १८ जनामा संक्रमण पुष्टी भएको हो ।

जसमा सुर्खेतमा मात्रै ३ सय ६२ जना रहेका छन् । यस्तै दैलेखमा ६३ जना, जाजरकोटका ३८ जना, रुकुमपश्चिमका ५२, सल्यानका ५४, कालिकोटका २०, जम्लाका २, डोल्पाका १ र अन्य प्रदेशका ७ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५० जना संक्रमित उपचार पछि निको भएका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ९८ पुगेको छ । यो संगै हाल कर्णालीमा संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४७ पुगेको छ ।

थप ७ जनाको मृत्यु
यस्तै पछिल्लो २४ घण्टामा भित्र थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै कुल संक्रमित मध्ये ८० जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।