२०७७ कार्तिक ११, मंगलवार

कर्णाली आँखा रोगीका बिरामी बढे

सुर्खेत ।  कर्णाली प्रदेशमा आँखाका विरामी बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । आँखाका बिरामी बढे अनुसार आवश्यक जनशक्ति र बजेट अभाबका कारण गुणस्तरीय उपचार सेवा प्रवाह गर्न नसकिएको सुर्खेत आँखा अस्पतालले जनाएको छ । कर्णाली प्रदेशको एक मात्र सुर्खेत आँखा अस्पतालले जनाए अनुसार एक बर्षमा ६० हजार भन्दा बढी आँखाका बिरामी उपचारका लागि आउने गरेकाछन् ।

गत आर्थिक वर्ष २०७४÷०७५ मा ६० हजार बढी आँखाका बिरामी उपचारका लागि आएका छन् । सुर्खेत आँखा अस्पतालले एक वर्षमा ६० हजार दुई सय ८३ जनाको आँखाको उपचार गरेको छ । जसमध्ये ३७ हजार आठ सय १५ जना अस्पतालमै आएर उपचार गरेका हुन् भने २२ हजार चार सय ६८ जनाले समुदायमा सञ्चालन गरिएको आँखा शिविरबाट उपचारको सेवा लिएका छन् ।

६० हजार बिरामी मध्ये एक हजार पाँच सय ९६ जनाले मोतिविन्दुको शल्यक्रिया गराएका छन् । अस्पतालले दिएको जानकारी अनुसार एक हजार एक सय २५ जनाले अस्पतालमै र चार सय ७१ जनाले समुदायमा सञ्चालित शिविरबाट मोति विन्दुको शल्यक्रिया गराएका हुन् । प्रदेशमा यति धेरै आँखाका विरामी हुँदा समेत लक्ष जनशक्तिको निकै अभाव रहेको अस्पतालले जनाएको छ ।

प्रयाप्त जनशक्ति नहुँदा ठूला शल्यक्रियाका लागि नेपालगञ्ज र काठमाडौंका अस्पतालमा बिरामी रिफर गर्नु पर्ने बाध्यता रहेको छ ।