२०७७ कार्तिक ११, मंगलवार

सरकारको प्रशंसनीय कामः द्वन्द्वपीडितलाई तालिम

सुर्खेत । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले द्वन्द्व पीडितलाई सीप विकास तालिम दिने भन्दै १५ दिने सार्वजनिक सूचना जारी गरेको छ । यसका लागि मन्त्रालयले दुई करोड पचास लाख बजेट विनियोजन गरेको छ ।


मन्त्रालयका सचिव गंगा राम गेलालका अनुसार पहिलो चरणमा कर्णालीमा कति द्वन्द्व पीडित सीप सिक्न चाहन्छन् भन्ने तथ्याङ्क सङ्कलन गर्ने र दोश्रो चरणमा सिटिइभिटीसँग सम्झौता गरेर आवश्यकता पहिचान गरेर सीप विकास तालिम दिने गरी मन्त्रालय अघि बढेको हो । ‘‘अहिले हामीले लामो अवधिका सीप विकास तालिम र छोटो अवधिका सपि विकास तालिम सञ्चालन गर्ने निर्णय गरेका छौँ ।’’ उनले भने, ‘‘तालिम आवासीय भएका कारण सुर्खेत वा नेपालगञ्जमा तालिमको आयोजना गरिनेछ ।


त्यसका लागि अहिले हामीले दरखास्त मागेका छौँ । त्यसपछि आवश्यक कार्यविधि बनाएर हामी तालिम दिन सुरु गर्नेछौं ।’’ मन्त्रालयले द्वन्द्व पीडित युवाहरुका लागि लामो अवधिका लागि भनेर व्यावसायिक मोटरसाइकल मेकानिक्स, व्यावसायिक मेसन, व्यवसायिक प्लम्बर, लाइट भेहिकल मेकानिक्स, व्यावसायिक विल्डिङ्ग इलेक्ट्रिसियनमा सीप विकास तालिम दिनेछ । यस्तै, छोटो अवधिका वेटर्स, वेटे«स, होटल असिस्टेन्ट, फर्निचर मेकर, बार बिन्डर, इण्डस्ट्रियल इलेक्ट्रिसियनको तालिम दिने सार्वजनिक सूचनामा उल्लेख छ ।


यस्तै, एसी मेकानिक्स, सहायक ब्यूटीसियन तालिम, लाईब्रेरी सहायक, मन्टेश्वरी र कम्प्यूटर हार्डवेयर टेक्निसियनको तालिम लिन इच्छुक द्वन्द्व पीडितलाई अबको आठ दिनभित्र अनलाईनमै दरखास्त दिन आव्हान गरेको छ । www.dwandapidit.karnali.gov.np मा गए र निवेदन दिन सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचनामा आवेदनका साथ संलग्न राख्नुपर्ने कागजातको पनि माग गरेको छ । सूचनाअनुसार द्वन्द्व पीडित व्यक्ति स्वयम्को हकमा नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, बसाइ–सराइ भएको प्रतिलिपीको माग गरेको छ । द्वन्द्व पीडित परिवारको हकमा द्वन्द्व पीडित व्यक्तिसँगको नाता प्रमाणित प्रतिलिपीसहित दरखास्त दिनुपर्ने उल्लेख छ ।