२०७७ कार्तिक १०, सोमबार

सहकारीको कृषि अनुदानको गाडी, अध्यक्षको निजी प्रयोजनमा

सुर्खेत । कालिकोट जिल्लाको मोडल कृषि सहकारी संस्था लिमिटेडको गाडी दुरुपयोग भएको पाइएको छ । संस्थाका अध्यक्ष रत्नप्रसाद आचार्यले खसीबोका ढुवानीका लागि २०७४ साउनमा प्याक्टबाट खरिद गरिएको गाडी भाडामा सुर्खेत नेपालगञ्ज तथा काठमाडौंसम्म पठाउने गरेका छन् । यतिसम्मकी उनले गाडी भाडा उठाएर खाएपनि गाडी चलाउने ड्राइभरलाई विगत ६ महिनादेखि तलब दिएका छैनन् ।

संस्थाका अध्यक्ष रत्नप्रसाद आचार्यले निजी प्रयोजनमा प्रयोग गरेको जीप (बायाँ) र आचार्य (दायाँ) ।


गाडी चालक धिरज शाहीले अहिले गाडी नियन्त्रणमा लिएका छन् । ‘‘मेरो ६ महिनादेखिको तलब नदिएका कारण मैले गाडी नियन्त्रणमा लिएको हुँ ।’’ गाडी चालक शाहीले भने, ‘‘मेरो तलब नदिएसम्म गाडी नियन्त्रणमा नै राख्नेछु ।’’ अहिले उक्त गाडी वीरेन्द्रनगरमा रहेको बस काउण्टरमा राखिएको छ भने गाडीको चाबी उनले नियन्त्रणमा लिएका छन् ।

उनले आफूले गाडीमा यात्रु ओसार गर्दै आएको बताए । ‘‘मैले काठमाडौं, सुर्खेत, नेपालगञ्जसम्म यात्रु ओसार गरेको छु ।’’ उनले भने, ‘‘उक्त गाडी भाडा अध्यक्ष आफैले बुझ्ने गरेका छन् ।’’ अहिलेसम्म लाखौं रुपैयाँ भाडाबापत् उठिसकेको उनको भनाइ छ । सहकारी संस्थाका एक सदस्यले अहिलेसम्म भाडाबापत्को रकम भनेर अध्यक्षले बैंकमा जम्मा गरेको थाहा नभएको बताए । ‘‘हामीलाई अहिलेसम्म गाडी भाडा कति उठेको छ । जानकारी नै छैन ।’’ उनले भने, ‘‘सहकारी संस्थामा अध्यक्षको रजाई चलेको छ । उनको मनमर्जी बढिरहेको छ ।’’ एउटा प्रयोजनका लागि ल्याइएको गाडीलाई अर्कै प्रयोजनमा लगाउनु दुःखद् भएको उनको भनाइ छ ।


‘‘जुन उद्देश्य पूरा गर्न संस्थामा गाडी आएको हो । त्यहीअनुसार प्रयोग गर्नुपथ्र्यो ।’’ उनले भने, ‘‘तर अध्यक्षले व्यक्तिगतरुपमा भाडामा लगाएर व्यापक अनियमितता गरेका छन् ।’’ उनले उक्त गाडीबाट कति भाडा उठेको छ फिर्ता गराउनु पर्ने बताए ।
यसबारेमा कुरा गर्न खोज्दा सहकारीका अध्यक्ष आचार्यसँग सम्पर्क हुन सकेन ।