२०७७ कार्तिक ६, बिहीबार

केपीएलको लागि क्रिकेट मैदान व्यवस्थित बनाइयो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बैशाख १२ गते देखि आयोजना गर्न लागिएको कर्णाली प्रिमियर लिगको लागि मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको छ । देशभ रहेका आठ वटा टोलीले सहभागिता जनाउने उक्त प्रतियोगिताका बिजेताले पाँच लाख र उपबिजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।


कर्णाली प्रदेशको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता भएको आयोजकको दावी छ । ‘‘मैदान सम्याउने, पिच र बाउन्ड्रीको लेभल मिलाउने लगायतको काम लगभग सकिएको छ’’ कर्णाली प्रिमियर लिग दोस्रो संस्करणका संयोजक रेशम शाहीले भने, ‘‘यसपटक दर्शकका लागि न्यूनतम मूल्यमा टिकट शुल्क लगाएका छौँ । ३० रुपैयाँ, एक सय र तीन सय रुपैयाँको टिकट शुल्क तोकेका छौँ ।’’ क र्णाली क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा सहभागी समूहमध्ये बिजेतालाई पाँच लाख रुपैयाँको नगद पुरस्कार राशी प्रदान गरिने छ ।


प्रतियोगितामा दोस्रो टिमलाई दुई लाख रुपैयाँ, म्यान अफ द सिरिजलाई ५० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई २०–२० हजार रुपैयाँ नगद प्रदान गरिने छ । यस्तै, प्रत्येक खेलहरुमा म्यान अफ द म्याच हुने खेलाडीले तीन हजार पाँच सय रुपैया ँ पुरस्कार पाउने छन् । प्रतियोगितामा तीन वटा विभागीय टिमसहित आठ टिम सहभागी हुँदैछन् । बसन्त रेग्मीको कप्तानीमा सशस्त्र प्रहरीको एपीएफ क्लब, विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मी क्लब र मञ्जीत श्रेष्ठको कप्तानीमा नेपाल पुलिसको टिमले प्रतियोगितामा सहभागी हुनेछन् ।

यस्तै, कर्णाली क्रिक्रेट एकेडेमीमा रविन्द्रजंग शाही, महेन्द्रनगर क्रिकेट एकेडेमी (कञ्चनपुर)बाट सुशील खड्काले टिमको नेतृत्व गर्नेछन् । मेहबुब आलमले लालिगुराँस क्रिकेट एकेडमी (झापा) र अजय साहनीले मध्यपश्चिम क्रिकेट (बाँके) र सुरेन्द्र चन्दले हिमालयन क्रिकेट एकेडमी ( काठमाडौं)को टिमको नेतृत्व गर्नेछन् ।
प्रतियोगिता अवधिभर १५ वटा खेल हुने आयोजकले जनाएको छ । पहिलो र अन्तिम दिन १÷१ वटा खेल हुनेछन् भने अन्य दिन दुई–दुई वटा खेल हुने आयोजकले जानकारी दिएको छ ।