२०७७ कार्तिक १२, बुधबार

दर्शक वीरेन्द्रनगर सरकार : सामुदायिक विद्यालय लाखौं कमाउँदै

सुर्खेत । सुर्खेत जिल्लाको नमूना विद्यालय हो जन माध्यमिक विद्यालय सुर्खेत । वीरेन्द्रनगरको वडा नं. ६ को मुटुमा अवस्थित विद्यालयले वार्षिकरुपमा करोडौं रकम सटर भाडाबाट असुल्ने गरेको छ । त्यतिमात्रै होइन, अंग्रेजी कक्षाका नाउँमा विद्यालयले भर्ना शुल्कका नाउँमा चार हजार नौ सयदेखि ७ हजारसम्म असुल्ने गरेको पाइएको छ । ‘‘मेरो छोरो जन माविमा कक्षा पाँचमा अध्ययन गरी ६ मा गएको थियो ।’’ नाम उल्लेख नगर्ने शर्तमा एक अभिभावकले भने, ‘‘उसलाई अंग्रेजी कक्षामा भर्ना हुन दिइएन ।


अहिले नेपाली माध्यममा कक्षा ६ मा भर्ना गरेको छु ।’’ वार्षिकरुपमा करोडौं आम्दानी गर्ने जन मावि अहिले धन कमाउने थलोका रुपमा स्थापित बन्दै गइरहेको छ । कुनै बेला गरिब विद्यार्थीहरुका लागि सुर्खेतको सबैभन्दा राम्रो विद्यालय भनेर चिनिएको सामुदायिक विद्यालय अहिले अंग्रेजी माध्यमका नाउँमा धनीहरुको, पहुँच हुनेहरुका छोराछोरीको अध्यापन गराउने अखडा बन्दै गइरहेको स्थानीयका भनाई छ ।
त्यहाँका प्राचार्य र किर्ते गरेर पुनः विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेका अध्यक्षले विद्यालयका नाममा आएको कैयौं रकम हिनामिना गरिरहेका छन् । सुर्खेतका जन माध्यमिक विद्यालयमा मात्रै यस्तो जात्रा हुँदैन, संस्कृत माध्यमिक विद्यालय इत्राम पनि यही क्रम जारी छ । ‘‘यी सामुदायिक विद्यालयका भरपर्दा मेरा दुई भाईको भर्ना छुट्यो ।’’ अभिभावक तथा दिदी रचना बुढा भन्छिन्, ‘‘अब कहाँ पढाउने होला, भर्नाको म्याद पनि गइसकेको छ ।’’ उनले अंग्रेजी नपाए पनि नेपाली माध्यममा भर्ना लिइदिएको भए आफूहरुले सास्ती नपाउने बताइन् ।

‘‘न जागिर न अन्य आम्दानीको श्रोत ।’’ सुर्खेतमा सामान्य रोजगारी गर्दै आएकी बुढाले भनिन्, ‘‘अब बोर्डिङ्गमा कसरी भर्ना गरेर पैसा जुटाउने होला तनाव भइरहेको छ ।’’ अमर ज्योति विद्यालयको ३ सय मिटर दूरीमा रहेका एक अभिभावकले नीजि क्षेत्रमा भर्ना गराउनुपर्ने बाध्यता आयो यो वर्ष । ‘‘छोरो ६ कक्षामा गयो । उसले नाम निकाल्न सकेन भनियो ।’’ अभिभावक रमेश खनालले भने, ‘‘बाध्यतावश मैले छोरालाई पायक पर्ने सरकारी विद्यालयमा भर्ना गराउन सकिन र नीजि विद्यालयको शरणमा जानुपर्ने अवस्था सिर्जना भयो ।’’
यता, विद्यालयका प्रधानाध्यापकहरु भने अंग्रेजी माध्यमका कारण विद्यार्थीहरुबाट भर्ना शुल्क लिने गरिएको बताउँछन् । यस विषयमा कुराकानी गर्न खोज्दा जन माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठको फोन उठेन । संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक आफू कार्यक्रममा एकदमै व्यस्त भएको बताउँदै फोन राखे । अमर ज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाको मोबाइल अफ रहेको थियो । यता, नगर शिक्षा कार्यालयका विद्यालय निरीक्षक उत्तम आचार्यले भर्ना शुल्क लिएको भनेर धेरै उजुरी आएको बताए । ‘‘उजुरीहरु आएका छन् । हामी यहाँ आएको दुई÷तीन दिन मात्रै भयो ।’ ’ उनी भन्छन्, ‘‘वास्तविकता के हो त्यो अनुगमनमा गएर थाहा हुनेछ ।


त्यसपछि हामी कार्यपालिकामा राख्छौं र कार्यपालिकाले आवश्यक निर्णय लेला ।’’ यता, वीरेन्द्रनगर नगर प्रमुख देवकुमार सुवेदी पनि भर्ना शुल्क लिइरहेको सूचना आफूले पाएको बताउँछन् । ‘‘मैले पनि हजुरले भनेजस्तै सूचना पाएको छु ।’’ उनले भने, ‘‘नगर शिक्षा समितिलाई अनुगमनमा खटाउने र यसबारेमा थप बुझ्नेछु ।’’ उनले यो वर्ष अनुगमन मात्रै गर्न सकिने बताए । ‘‘हामीले कानून नबनाएका कारण कारवाही गर्न सक्ने अवस्था छैन ।’’ उनले भने, ‘‘विद्यालय सेवा क्षेत्रभन्दा भित्रका सबै विद्यार्थीहरुले अनिवार्यरुपमा शिक्षा प्राप्त गर्न पाउनुपर्छ । त्यस्तो भएको छ भने अर्को वर्ष ति विद्यालयलाई कारवाहीको दायरामा ल्याउँछौँ ।’’ उनले नगरपालिका सामुदायिक विद्यालयको सामु निरिह नबनेको बताए ।