२०७७ कार्तिक ३, सोमबार

एक जनालाई ६ जिल्लाको जिम्मा

सुर्खेत । कर्णाली प्रदेशमा एक कार्यालयका कर्मचारीले ६ जिल्लाको काम एक्लैले भ्याउनुपर्ने बाध्यता छ । सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापा जनशक्ति अभावका कारण ६ जिल्लाको काम उनी एक्लैले गर्छन् ।

जनशक्ति अभावका कारण ६ जिल्लाको काम उनले जेनतेन एक्लैले हेर्दै आएका छन् । काम विशेष कार्यालय बाहिर जानुपर्दा जिम्मेवारी सम्हाल्ने अर्काे कुनै कर्मचारी नहुँदा निकै समस्या हुने गरेको उनले बताए ।

हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, रुकुम (पश्चिम) र सुर्खेत जिल्लाको काम आफू एक्लैले सम्हाल्नुपरेको निमित्त प्रमुख थापाले बताए ।

उनले बैशाखसम्म जाजरकोट, दैलेख र सुर्खेतको काम सम्पन्न गरेका छन् भने अन्य जिल्लाको काम सम्पन्न गर्ने तयारीमा छन् ।

कार्यालय प्रमुख नहुँदा निमित्त कार्यालय प्रमुखका रुपमा समेत काम गर्दै आएका खाद्य निरीक्षक थापाले गत साउनदेखि आफू एक्लैले ६ जिल्लाको काम गर्नुपरेको गुनासो गरे ।