२०७७ कार्तिक ११, मंगलवार

गाडीको लागि अत्याधुनिक अटो वर्कसप खुल्यो

सुर्खेत । सहरीकरण बढेसँगै गाडी मर्मत र सर्भिसिङ्गका लागि वीरेन्द्रनगरमा अत्याधुनिक वर्कशप खुलेको छ । के.वी. इन्टरप्राइजेजका नामबाट युवा व्यवसायी कमल खड्का ‘जुनी’ले एरिचोक नजिकै वर्कसप सञ्चालनमा ल्याएका हुन् ।

देउती नागरिक यातायातका अध्यक्षसमेत रहेका खड्काले नयाँ व्यवसायका रुपमा वर्कसप सञ्चालन गरेको र यसले सुर्खेतमै सबै किसिमका गाडीहरु मर्मत तथा सर्भिसिङ्गका लागि एउटै थलोबाट सेवा दिने बताए । हेवी इक्विपमेन्टलगायत सबै किलोमिटरका गाडी मर्मत गर्ने एउटै थलोका रुपमा वर्कसप सञ्चालनमा ल्याइएको र सुर्खेतमा यसले ग्राहकलाई उत्कृष्ट सेवा दिने उनको दावी छ ।

गाडी धुने, सर्भिसिङ्ग, मर्मतलगायत टायर र पाटपुर्जाहरु समेत एकै थलोमा उपलब्ध गराइने गरी सेवा सुरु गरेको खड्काले बताए । खड्काले वर्कसप साढे दुई करोड लगानीमा तयार भएको बताए । पछिल्लो समय युवाहरु होटेल व्यवसाय, पर्यटन, कृषिलगायत यातायात क्षेत्रमा लगानीका लागि आकर्षित हुने गरेका छन् ।

निर्माण व्यवसायी एकता समाज, सुर्खेतका वरिष्ठ उपाध्यक्ष पदमबहादुर खड्काले यस किसिमको वर्कसपले ग्राहकहरुको ध्यान सजिलै तान्ने बताए । वर्कसपको उद्घाटन वीरेन्द्रनगर कार्यपालिका वडा नम्बर ४ का अध्यक्ष निलकण्ठ खनालले गरेका हुन् ।

अध्यक्ष खनालले व्यवसायीका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउँदै सफलताको शुभकामनासमेत दिए ।