२०७७ कार्तिक ८, शनिबार

‘आँखाको सुरक्षा र उपचारमा ध्यान दिऊँ’

दैलेख । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका अध्यक्ष भेषबहादुर थापाले मानव शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग आँखा भएकोले यसको सुरक्षा र उपचारलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताएका छन् ।
भैरवी गाउँपालिकाको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल, सुर्खेतको प्राविधिक सहयोगमा स्वास्थ्य इकाई भैरवीद्वारा भैरवी–३ कुर्ममा आयोजित जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर तथा आँखा अप्रेशन शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्ता कार्यक्रमहरु सञ्चालन गर्नको लागि आफू र रेडक्रसको तर्फबाट सदैव सहयोग रहने बताए ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले आफ्नो गाउँपालिकाले आगामी दिनमा पनि बजेट विनियोजन गर्दा विकास निर्माणका कार्यक्रमसँगै मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्रमुख प्राथमिकता दिने बताए । उनले आगामी दिनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न विषयका विशेषज्ञहरु गाउँपालिकामै बोलाइ उपचार गर्ने व्यवस्था गर्न आफू र आफ्नो गाउँपालिका लागिपर्ने बताए ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्ट, नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका सभापति खेमराज केसी, सुर्खेत आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. शक्ति सुवेदी, सम्पूर्ण वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर ३ कि वडाध्यक्ष देवी भण्डारीले शिविरको पूर्ण सफलताको लागि शुभकामना मन्तव्य तथा भैरवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शमसेर बिष्टले स्वागत मन्तव्य राखेका थिए ।

बैशाख २८ गतेबाट सञ्चालित मोतिबिन्दु छ्नौट तथा आँखा उपचार घुम्ती शिविर स्वास्थ्य चौकी रावतकोट, स्वास्थ्य चौकी बडलम्जी, स्वास्थ्य चौकी भैरिकालिकाथुम र स्वास्थ्य चौकी कुसापानी गरी जम्मा ४ ठाउँमा सञ्चालन गरिएको थियो ।

ति घुम्ती शिविरहरुबाट करिब ६ सय आँखाका बिरामीहरुले प्रत्यक्ष स्वास्थ्योपचार पाएका थिए भने ६८ जना आँखाका बिरामीहरु मोतिबिन्दुको अप्रेसनका लागि छनौट भएको स्वास्थ्य शाखा प्रमुख शमसेर बिष्टले जानकारी दिए ।