२०७७ कार्तिक ११, मंगलवार

तेजबहादुरको १३ वर्षमा ३४ देशको यात्रा

सुर्खेत । ह्विलचियरमार्फत् विश्व भ्रमण मा निस्केका ओखलढुङ्गाका तेजबहादुर कार्की हिमाली जिल्ला हुम्ला जान सुर्खेत आइपुगेका छन् । उनी विश्वका विभिन्न मुलुकहरुको भ्रमणका क्रममा सुर्खेत आइपुगेका छन् ।

हुम्ला सम्मको यात्रा तय गरेका कार्कीले सोमबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै आफ्नो अठोट पूरा गर्ने बताएका छन् । २०५७ माघ २३ मा भएको बस दुर्घटनामा परी दुवै खुट्टा गुमाएका कार्की विश्व शान्तिको कामना गर्दै विश्वयात्रामा निस्केका हुन् ।

२०६१ जेठ ४ मा यात्रा सुरु गरेका कार्कीले हालसम्म नेपालका ६४ जिल्ला भ्रमण गरिसकेका छन् भने अहिले सुर्खेत हुँदै हुम्ला सम्मको भ्रमण गर्ने तयारीमा जुटेका छन् ।

१३ वर्षे यात्रामा ३४ वटा देश भ्रमण गरिसकेको कार्कीले बताए । ‘‘विश्व साइकल यात्री पुस्कर शाहको टेलिभिजनमा अन्तर्वार्ता हेरेपछि मलाई पनि शान्तिको खोजीमा भौँतारिन मन लाग्यो, अनि ओछ्यान छाडी यात्रामा निस्केँ’’, उनले भने ।

‘अपाङ्गले पनि सपाङ्ग व्यक्तिले जस्तै काम गर्न सक्छ’ भन्ने भनाइलाई पुष्टि गरेर देखाउनका लागि आफूले पदयात्रा सुरु गरेको कार्कीको भनाइ छ । यसैकारण आफ्नो यात्रालाई ‘विश्वशान्ति ह्विलचियर पदयात्रा’ नाम दिइएको उनको भनाइ छ ।

उनले आफ्नो कठिन यात्रालाई विश्व शान्ति स्थापना तथा नेपाल सरकार अपाङ्ग आयोग गठनका लागि दबाब दिन पनि भएको बताए । यद्यपी आफ्नो आवाजलाई सरकारले हालसम्म सम्बोधन गर्न बेवास्ता गरेको कार्कीले गुनासो गरे । यात्राका क्रममा राष्ट्र प्रमुखलाई भेट्ने गरेका छन् ।

अपाङ्ग आयोग गठन र अपाङ्गमैत्री संविधानमा उनले जोड दिएका छन् । कार्कीका परिवार काठमाडौंमा बस्छन् । परिवार नजिक भए मायाले बाँध्ने र यात्रामा बाधा आउने उनको बुझाइ छ । त्यसैले घर जाँदैनन् । ‘‘लक्ष्य पूरा भएपछि मात्र परिवारसँग बसौंला’’, उनले भने ।

उदयपुरको कटारीमा २० हजार लुटिएको घटना उनको यात्राको सबैभन्दा दुःखद् भएको उनको भनाइ छ । कार्कीको यात्रामा रोटरी इन्टरनेशनलकी सिद्धीलक्ष्मी श्रेष्ठ र उनका गाइडर प्रदिप तामाङ रहेका छन् ।