२०७७ कार्तिक ९, आईतवार

बजेटमा दलितका समस्या सम्बोधन गर्छु : ज्वाला

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जातीय छुवाछुत तथा भेदभावका विरुद्ध अभियान नै सञ्चालन गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेश स्तरीय दलितमैत्री नीति कार्यक्रम र बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।

मन्त्री ज्वालाले दलित समुदायलाई राजनैतिक, आर्थिक र सामाजिकरुपमा सशक्तिकरण गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । आवासविहीन दलितहरुको आवास निर्माण, दलित समुदायको शिक्षामा पहुँच बृद्धि गर्ने योजना र दलित समुदायलाई रोजगारीमा विशेष प्राथमिकता दिएमात्र प्रदेशमा जातीय छुवाछुत अन्त्यसँगै दलित समुदायले अधिकार प्राप्त गर्ने उनको भनाइ छ ।

मन्त्री ज्वालाले कर्णाली प्रदेशमा रहेका दलित समुदायले गर्दै आएको परम्परागत पेशलाई व्यवसायिक र आधुनिकीकरण गर्न पनि विशेष योजना बनाइने बताए । उनले सरकार बजेट निर्माण गर्ने र नीति कार्यक्रम छनौट गर्ने चरणमा रहेका बेला २४ प्रतिशत जनसंख्या ओगटेको दलित समुदायको लागि कार्यान्वयन गर्ने मूर्त खालका योजना र कार्यक्रम प्रस्ताव गर्न दलित समुदायबाट निर्वाचित सांसदलाई सुझाव दिए ।

कार्यक्रममा दलित अधिकारकर्मी हिरा सुनारले कर्णालीमा रहेका दलित समुदायको आर्थिक, राजनैतिक, सामाजिक अवस्थाको तथ्याङ्क प्रस्तुत गरेका थिए ।