२०७७ कार्तिक ६, बिहीबार

सांसदको नारा : कति भए पूरा, कति छन् अधुरा

सुर्खेत । सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ठम्मर विष्ट । चुनावको बेलामा सिम्ता र गुर्भाकोट गाउँपालिकाका सबै वडामा बिजुली पु¥याउने, भेरीको पानीडाँडामा लैजाने र सिंचाई गर्ने, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा नमूना काम गर्ने उनको दलको घोषणापत्रमा उल्लेख थियो ।

तर उनी निर्वाचित भएर गइसकेपछि सुरुवाती चरण राम्रो नदेखिएको नेपाली कांग्रेसबाट सांसद बिष्टका प्रतिद्वन्दी तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति उपसभापति टेकबहादुर सिंह बताउँछन् । सिंहले भने, ‘‘तर पनि निराश नै भइहाल्नुपर्छ जस्तो मलाई लाग्दैन । सिम्तामा भेडाबाख्रा बाँड्ने, तरकारी खेती गर्ने किसानलाई पम्प वितरण गर्ने बाहेक विद्यालयमा काम सुरु भएको सुन्नमा आएको छ ।’’ उनले भने, ‘‘तर अन्य विकास निर्माणका काम कतै पनि सुरु भएको मलाई जानकारी छैन । यही ताल हो भन उहाँले प्रदेश क्षेत्रमा केही पनि गर्न सक्नुहुन्न कि भन्ने मेरो शंका हो ।’’

उपसभापति सिंहले सांसद बिष्टले काम गर्न चाहे जनताका अपेक्षा पूरा गर्न सकिने बताए । सिंह बिष्टबाट पराजित उम्मेद्वार हुन् । ‘‘पाँच वर्षमा उहाँले जनतासामु मत माग्ने बेला गर्नु भएको प्रतिबद्धता पूरा गर्न सकिन्छ ।’’ उनले भने, ‘‘तर कामै नहुने हो भने, मन्त्रीभन्दा अरुले बढी बजेट पाउने हुन् भने उहाँ निरीह बन्ने अवस्था फेरि पनि आउनेछ ।’’ उनले दुई तिहाईको नेकपा सरकार भएकाले संसदमा सशक्त भूमिका खेल्न सांसद बिष्टलाई आग्रह गरे । ‘‘तपाईको सरकार दुई तिहाईको छ ।’’ उनले भने, ‘‘त्यहाँ जोडदाररुपमा जनताका माग सम्बोधन हुने गरी आवाज उठाउनुहोस् र जनताका चाहना पूरा गर्ने प्रयास गर्नुहोस् ।’’

यता, नेकपाका नेता टेकेन्द्र बस्नेत भने सांसद बिष्टको बचाउ गर्छन् । ‘‘एकै वर्षमा सबै काम गर्न सकिदैन ।’’ उनले भने, ‘‘चुनावमा घोषणा गरिएका वाचाहरु क्रमैसँग पूरा होलान् । हामी आशावादी छौँ ।’’ उनले प्रदेश सभाका सदस्य बिष्टले सदनमा सशक्त भूमिका खेलेको बताए । ‘‘उहाँबाट आम जनता सन्तुष्ट छन् ।’’

उनी भन्छन्, ‘‘उहाँ आफैले मतदाताको इज्जत जोगाउने कुरा गर्नु भएको छ । उहा ँ यस क्षेत्रका े विकासका लागि कटिबद्व भएको मेरो विश्वास छ ।’’ सांसद ठम्मर विष्ट भने काम सुचारु भइरहेको बताउँछन् । ‘‘मेरो निर्वाचन क्षेत्रमा करिब एक अर्ब बजेट आएको छ । त्यो मध्ये भौतिक योजना मन्त्रालयको बजेटमा सबै टेण्डर भइसकेका छन् ।’’ उनले भने, ‘‘भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको सबै कार्यक्रम असारभित्रै सम्पन्न भइसक्छन् ।’’

उनले भेरीको पानी लिफ्ट गर्दै सिम्ता–४ मा सिंचाई आयोजना अन्तिम चरणमा पुगेको दावी गरेका छन् । यस्तै, राकममा बोरिङ्गबाट पानी ल्याउने योजनासहित उक्त आयोजनाको डिपीआर बनिसकेको छ । ‘‘दुई वर्षभित्र सबै वडामा बिजुली पुग्छ ।’’ उनी भन्छन्, ‘‘जनताका आधारभूत आवश्यकता आगामी पाँच वर्षभित्र पूरा गरेर छोड्ने गरी म अघि बढिरहेको छु ।’’