२०७७ कार्तिक १४, शुक्रबार

वीरेन्द्रनगरमा ‘एक टोल–एक प्रशिक्षक’

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले नगरमा ‘एक टोल–एक प्रशिक्षक’ राखिने बताएका छन् । पतंञ्जली योग समिति सुर्खेतको प्रथम वार्षिक साधारण सभालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दे मेयर सुवेदीले स्वस्थ शरीर तथा सकारात्मक विचारका लागि योगाका माध्यमबाट सर्वसाधारणको स्वास्थ्यप्रति जागरुक ल्याउन ‘एक टोल–एक योगा प्रशिक्षक’ राखिने बताएका हुन् ।

उनले योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै अध्यात्मिक भावना जागृत हुने भएकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा नै ‘एक टोल–एक योगा प्रशिक्षक’ तयार गर्ने कार्यक्रम राखिएको जानकारी दिए । उनका अनुसार ‘एक टोल–एक प्रशिक्षक’ कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्न प्रदेश आयुर्वेद औषधालयसँगै पतंञ्जली योग समितिसँग समन्वय गरेर अगाडि बढिनेछ ।
प्रदेश आयुर्वेद औषधालयका डाक्टर शंकरप्रसाद रिजालले प्रदेशमा एक हजार पाँच सय योगा प्रशिक्षक भएपनि हाल एक सय ५० जना मात्र सक्रिय रहेको बताए । उनले योग तथा जडिबुटीलाई सँगै जोडेर अगाडि बढाउन औषधालयले प्रदेशका १० वटै जिल्लामा ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरिने जनाए ।

‘आयुर्वेदमा योगाको स्थान महत्वपूर्ण रहेकाले यसको प्रचार–प्रसारसँगै भौतिक पूर्वाधार निर्माणमा जोड दिने नीति सरकारले लिएको छ,’ उनले भने, ‘प्रदेश सरकारको लगानीमा वीरेन्द्रनगर भित्र एउटा प्रदेश स्तरीय योगा हल निर्माणका लागि यसै वर्षमा सम्भाव्यता अध्ययन गरिनेछ ।’ उनले यसै वर्षदेखि प्रदेश आयुर्वेद औषधालयमा कम्तीमा डेढ सय जना अट्ने योग हल निर्माण गरिने बताए । कार्यक्रममा प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकाल, पतंञ्जली योग समिति कर्णाली प्रदेशका महामन्त्री जनकबहादुर शाही, प्रदेश सह–महामन्त्री हिरा आचार्य, जिल्ला अध्यक्ष शिवप्रसाद गौतमलगायतले योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै अध्यात्मिक भावना जागृत गर्न सहयोग पुग्ने भएकाले योग सबैका लागि आवश्यक रहेको औल्याए ।