२०७७ कार्तिक ६, बिहीबार

नरहरीनाथ आगलागी क्षती : प्रहरीको मुचुल्का २५ लाख, जनप्रतिनिधिको २ करोड र विप्लपको ८ लाख दावी

कालिकोट ।
कालिकोटको नरहरिनाथ गाउँपालिकामा भएको आगलागीमा भएको क्षतिको जनप्रतिनिधि र प्रहरीको विवरण फरक परेको छ । प्रहरीले आगलागीबाट करिब २६ लाख रुपैयाँ बराबरको क्षति भएको मुचुल्का तयार पारेको छ भने गाउँपालिकाले दुई करोड रुपैयाँभन्दा बढी क्षति भएको दाबी गरेको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको आगजानीबाट गाउँपालिका कार्यालय र ६ नं. वडा कार्यालयमा गरी २५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका टका प्रमुख डीएसपी विनोद शर्माले बताए। नरहरिनाथ गाउँपालिकाकी उपाध्यक्ष मनशोभा बुढाले आगलागीमा दुई करोड बढी क्षति भएको बताइन्।
गत बुधबार राति एक बजेतिर नरहरिनाथ गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको झ्याल फोडी पेट्रोल खन्याएर आगजानी गरेका थिए।

विप्लव नेकपाले पनि छानविन गर्ने

उता सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कालिकोटले आफ्नै कार्यकर्ताले जलाएको नरहरिनाथ गाउँपालिकामा भएको क्षतिको विवरणमाथि छानबिन गर्ने बताएको छ। विभिन्न निकायले क्षतिको फरक फरक विवरण देखाएको भन्दै उसले छानबिन गर्ने बताएको हो। नेकपाका जिल्ला सेक्रटरी मनीलाल ऐडी रणदीपले बढीमा ८ लाख बराबरको क्षति भएको दाबी गरे।