२०७७ कार्तिक ३, सोमबार

कर्णालीका सांसदको संघसंग गुनासो : भन्छन्,‘भेरी बबईबारे स्पष्ट पारियोस्’

सुर्खेत। कर्णाली प्रदेश
सभा सदस्यले संघीय सरकारसँग गुनासो पोखेका छन् । शुक्रबार बसेको सभाको बैठकमा बोल्ने अधिकांश सदस्यले यस्तो
गुनासो गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भेरी–बबई बहुउद्देश्यीय आयोजनाको लाभ कर्णालीले पाउनुपर्ने बताउँदै संघीय सरकारको ध्यानाकर्षण गराए । ‘‘संघीयता भएको मुलुकमा प्राकृतिक स्रोत र साधनबारे प्रदेशबीच द्वन्द्व चलेको इतिहास छ ।’’ उनले भने, ‘‘प्रदेश सभा तथा सरकारमार्फत् संघीय सरकारको ध्यानाकर्षण होस् । भेरी– बबईले पक्कै विवाद ल्याउने मैले देखेको छु ।’’ उनले भेरी नदीको श्रोत संरक्षण गर्नुपर्ने, बिजुली आधा दिनुपर्ने, भेरी नदीमा रहेका आयोजना पीडितलाई उपयुक्त राहत दिनुपर्ने बताए ।

प्रदेश सभा सदस्य अम्मरबहादुर
थापाले संघीय सरकारले कर्णालीको बिजुली तत्काल सुधार गर्नुपर्ने माग राखे । ‘‘हावा चल्यो, थोरै पानी आयो कि बत्ती जान्छ । कहिले ४ दिनसम्म अध्याँरो हुन्छ ।’’ उनले भने, ‘‘प्रदेश सरकार संघीय सरकारसँग के गरेर हुन्छ, तत्काल बत्ती हराउने समस्या हल गर्नुपर्छ ।’’

अर्का सदस्य सुशिलकुमार थापाले दैलेखको दुल्लुमा रहेको नाभीस्थान र
श्रीस्थानमा पेट्राेलियम पदार्थको उत्खनन्को प्रक्रिया संघीय सरकारले सुरु गरेको बताउँदै धन्यवाद दिए । यसका साथै उनले उक्त क्षेत्रमा सुरक्षाका लागि प्रहरी चौकीको व्यवस्था गर्न र त्यहाँ बैंक खोल्न प्रदेश सरकारमार्फत् संघीय सरकारसँग माग राखे ।

सांसद दानसिंह परियारले लोकसेवा
आयोगले लोकतन्त्रको मूल मर्म विपरित विज्ञापन खोलेको बताउँदै कडा आलोचना गरे । उनले संघीयतालाई, संविधानलाई कार्यान्वयन गर्न संघीय
सरकारसँग माग गरे ।

प्रदेश सभा सदस्य पद्मा खड्काले असारे विकास गर्ने चलनलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखिन् । सांसद कृष्ण शाह (आचार्य)ले अहिले युवाहरु खाडी तथा भारतमा काम गर्न जाने क्रम थप बढेको बताउँदै प्रदेश सरकारले उनीहरुलाई रोजगारी दिन के गरिरहेको छ भन्ने प्रश्न गरिन् ।

राप्रपाका तर्फबाट संसद सोशीला
शाहीले संसदीय दलको कार्यालय
परिवर्तन किन गरिएको भन्दै सभामा
प्रश्न गरिन । उनले भनिन् ‘‘संसदीय दलको कार्यालयलाई कुन सोचका साथ हटाइएकाे हाे ? कसको हो जिम्मा ?’’