२०७७ कार्तिक ४, मंगलवार

कर्णाली प्रदेशसभामा २ मन्त्रीद्वारा जवाफ, सांसदले गरे गोष्ठीवाला बजेटको बिरोध

सुर्खेत । कर्णाली प्रदेशसभाको सोमबारको बैठकमासांसदहरुले राखेको धारणाहरुको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिएका छन् ।

प्रदेश सभाको साेमबारको बैठकमा आन्तिरक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेटमाथि सांसदहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा चालु बजेट नै आवश्यक पर्ने भएकाले अलि धेरै चालु बजेटको आकार बढी भएको बताए ।

मन्त्री विमला केसीले मन्त्रालयले हालसम्म गरेका विभिन्न आयोजना र कार्यक्रमहरुको बारेमा जानकारी दिँदै मन्त्री केसीले कठोरताका साथ आगामी आर्थिक वर्षको बजेट वितरणमुखी हुनबाट रोक्ने दृढता व्यक्त गरिन् ।

विचाैलिया, दलाल र भु-माफियाहरुको चलखेल आगामी बजेट र योजनामा बन्द गर्ने उनले दावी गरिन् । अनावश्यक खर्च कटौती गरिने पनि उनको भनाइ छ ।

योजनाहरु उल्लेख गर्दा केही प्राविधिक कमजोरी भएकाले सच्याउने मन्त्री केसीले बताइन् । यसैबीच, सोमबारको बैठकमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको बजेटमाथि छलफल सुरु भएको छ ।

छलफलमा भाग लिँदै सत्तापक्षका सांसद बिन्दमान बिष्ट र धर्मराज रेग्मीले सामाजिक विकास मन्त्रालयले पनि चालु खर्चमा विभिन्न तालिम गोष्ठीका लागि लाखौँ बजेट छुट्याएको भन्दै आपत्ती जनाए ।

प्रतिपक्ष दल कांग्रेसका सचेतक हिमबहादुर शाहीले बजेट मन्त्रीका जिल्ला केन्द्रित भएको आरोप लगाए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,
जुम्लालाई बजेट विनियोजन नगरेको भन्दै सांसद दीनबन्धु श्रेष्ठले आपत्ती जनाए ।

सांसद बदमी क्वारी बोहोराले दुर्गम डोल्पाका नागरिकहरुलाई आगामी
बजेटले सम्बोधन नगरेको बताइन् ।