२०७७ कार्तिक ५, बुधबार

बढ्दै जुम्ली मार्सीको रोपाई क्षेत्रफल : पुग्यो १५ सय हेक्टर

सुर्खेत । कर्णाली प्रदेशकै सबैभन्दा महत्वपूर्ण मानिने धान मार्सीको जुम्लामा रोपाई गर्ने क्षेत्रफलमा बृद्धि भएको छ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओली सहितले चरेशको थालमा मार्सी खाएको तस्विर बाहिरिएसँगै जुम्लाका किसानमा मार्सी जातको धान उत्पादन गर्न रुचि बढेको पाइएको हो ।

‘‘विगतका वर्षहरुमा मार्सी धानको उत्पादन कम हुने भएका कारण उत्पादन गर्ने क्षेत्रफलमा निरन्तर कमी हुँदै आएको थियो ।’’ कृषि ज्ञान केन्द्र, जुम्लाका कृषि अर्थ विज्ञ बालाराम देवकोटाले भने, ‘‘देशका प्रमुख व्यक्तिले नै धानको प्रचार गरेर भात खाइदिएपछि यसको देशव्याप चर्चा भयो र बजारको माग धान्न जुम्लालाई हम्मे–हम्मे भयो ।’’ सोही कारण अहिले जुम्ली मार्सी धान लगाउने किसानहरुको संख्या र क्षेत्रफलमा केही मात्रामा भए पनि बृद्धि भएको हो ।

आर्थिक वर्ष २०७२ मा १ हजार ३ सय ५० हेक्टर खेतमा मार्सीको रोपाई भएको थियो भने त्यो वर्ष २ हजार ४ सय ३० मेट्रिक टन धान उत्पादन भएको थियो ।

२०७३ मा १४ हेक्टर खेतमा रोपाई भएकोमा २ हजार ६ सय ६० मेट्रिक टन उत्पादन भएको देवकोटाको भनाइ छ ।

यस्तै, २०७४ मा १ हजार ४ सय ५० हेक्टरमा धान खेती भएको जुम्लामा २ हजार ६ सय ८२ मेट्रिक टन धान उत्पादन भयो भने २०७५ मा १५ सय हेक्टरमा धान खेती भयो भने उत्पादन २ हजार ८ सय ५० मेट्रिक टन भएको कृषि ज्ञान केन्द्र, जुम्लाले जनाएको छ ।

चालु असार महिनामा सोही परिणाममा
धान खेती भइरहेको बताइएको छ । देशव्यापीरुपमा मार्सी धानको प्रचार भएसँगै किसानहरु खुसी देखिएको देवकोटाको भनाइ छ ।

‘‘विगतमा मार्सी चामलको व्यापार न्यून मात्रामा हुने र त्यसले आर्थिक उपार्जनमा टेवा नपुग्ने भएका कारण किसानले अन्य जातको धान खेती गर्ने गरेका थिए ।’’ उनले भने, ‘‘अहिले उत्पादन भएको खण्डमा बजार जति पनि भएका कारण किसानहरुले मार्सी धान लगाउने लहर नै चलेको हामीले पाएका छौँ ।’’

यद्यपी चन्दननाथ १ र ३ तथा लेकाली १ र ३ जातका धानका खेती पनि हुने गरेको छ । २९ सय हेक्टरमा यी धानको खेती भइरहेको छ ।

कृषि ज्ञान केन्द्र, जुम्लाले मार्सी धानको बारेमा जनचेतना जगाउने काम गरिरहेको विज्ञ देवकोटाको भनाइ छ । ‘‘हामीले मार्सी चामलको प्रचार–प्रसार गर्ने, कृषकलाई जनचेतना जगाउने काम गर्दै आइरहेका छौँ ।’’ उनले भने, ‘‘यसका साथै बजारीकरणमा सहयोग पुगोस् भने हामीले कोसेली घर निर्माणका लागि अनुदान दिने गरिरहेका छौ ।’’

हाल जुम्ला, मुगु लगायतका जिल्लाका
पर्यटकीय स्थान जाने बाटोमा कोशेली घर स्थापना भइसकेको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रका अनुसार मार्सी जातको धानमा बढी रोग किरा लाग्ने भएका कारण खेती कम हुने गरेको हो ।

अन्य जातको धानमा रोगसँग लडने क्षमता धेरै हुने र उत्पादन पनि बढी हुने भएका कारण विगतमा कृषकहरुको अन्य जातको धानप्रति माया बढ्दै गएको हो । अब बिस्तारै मार्सीको खेती हुने क्षेत्रफलमा बृद्धि हुँदै जानेमा कृषि ज्ञान केन्द्र ढुक्क रहेको देवकोटाको भनाइ छ ।