२०७७ कार्तिक ५, बुधबार

बाढी पीडित बालबालिकाको पीडा : ‘अहिले पनि गिट्टी कुट्छन्’

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मुरमुरीका गगन सुनार कक्षा ५ मा पढ्छन् । उनी बाढी पीडित हुन् । त्रिपालमा बस्दै आएका गगन विद्यालयको पोशाक, शैक्षिक सामग्री किन्ने खर्च नभएर पढाई छोड्ने विचारमा छन् ।

‘‘पढ्ने मन त धेरै छ घरमा कमाउने कोही छैन, यसअघि त संघसंस्थाले दिएको सहयोगमा पढाइ चल्यो’’, उनले भने, ‘‘अहिले गाउँमा बालुवा बटुलेरै दिनमा एक, दुई सय कमाइ गर्छु, यसैबाट खर्च चलाएको छु । अब यसरी नै पढ्न त सकिँदैन होला ।’’

उनले आफूहरुप्रति राज्यले बेवास्ता गरेको आरोप लगाए । ‘‘यसरी कति दिनसम्म गिट्टी कुटेर पढ्न सकिएला ?’’ उनी भन्छन्, ‘‘अब पढाई छोडेर कालापहाड जानुको विकल्प देख्दिन ।’’ उसो त उनीभन्दा माथिल्लो कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु अहिले कालापहाडमा छन् ।

वीरेन्द्रनगरस्थित शिविरमा बसिरहेकी बाढी पीडित दिपा शाही कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममा कक्षा १० मा पढ्छिन् ।

आफ्नै घरमा बस्ने साथी बिहान ट्युसन पढ्न जाँदा सरकारले दिएको पुरानो त्रिपालमुनि बसिरहेकी दिपा भने त्यही समयमा गिट्टी कुट्न जान्छिन् । ‘‘बिहान ६ बजेतिर गिट्टी कुट्न गएकी म ९ बजे घर फर्किन्छु ।’’ उनी भन्छिन्, ‘‘खाना खाएर १० बजे पुग्ने गरी विद्यालय हिँड्छु ।’’ उनलाई विद्यालय पुग्न कम्तीमा आधा घण्टा लाग्छ ।

२०७१ सालको बाढीबाट घरबारविहीन
बनेका परिवार मध्येकी दिपा र उनीजस्ता साथीको यो बाध्यता हो ।

बाढी आउनुपूर्व उनको परिवारसँग पहिले जग्गा, जमिन थियाे, बुवाआमाले धान, चामल बेचेरै भए पनि खर्च धानेका थिए । विगत स्मरण गर्दै उनी भन्छिन्, ‘‘अहिले हामीसँग न घर छ, न त जग्गा जमिन नै ।

बिहान–बेलुका खान त बुवाआमाले दिनभर मजदूरी गरेर बल्लतल्ल पुग्ने गरेको छ, म मेरो पढाइ खर्च जुटाउन गिट्टी कुट्ने काम गर्छु ।’’

विभिन्न ठाउँमा अस्थायी शिविरमा बसेका उनीज स्ता धेरै बाढी पिडित बालबालिकाका पीडा यस्तै छन् ।

उनीहरू मजदूरी गरेर बचेको समयमात्र विद्यालय जान्छन्   । ‘‘विद्यालयमा शुल्क तिर्नुपर्यो, ड्रेस, कापी, कलम र पढाइ खर्च जुटाउनका लागि पनि काम गर्नुपर्ने बाध्यता छ’’, दिपाले भनिन् ।

‘‘नाम लेख्न र ट्युसनका लागि अर्काबाट ६ हजार सापटी मागेर काम चलाइयो, अब त्यो पैसा तिर्नका लागि पनि काम गर्नुपर्ने बाध्यता छ’’, कक्षा ७ मा अध्ययनरत बाढी पीडित कविता रोकायले भनिन्, ‘‘बिहान–बेलुका गिट्टी कुट्ने काम गरेरै विद्यालय जान्छु, कति दिन त काम गर्दागर्दै विद्यालय छुट्छ ।’’

बुवाआमाको कमाइ गर्ने स्रोत केही नभएपछि आफूले काम गर्नैपर्ने उनले बताइन् । वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रको प्राङ्गणमा रहेको शिविरमा बस्ने ३५ जना बालबालिकाको जीविका मजदूरी गरेरै चलेको छ ।

नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पञ्चपुरी–५ मुरमुरीका प्रधानाध्यापक बेला थापाका अनुसार विद्यालयमा ८२ जना बालबालिका बाढी पीडित छन्  । तिमध्ये ४० जना जति मात्र विद्यालय आउने गरेको उनले बताइन् ।

जिल्ला शिक्षा समन्वय इकाइ, सुर्खेतका प्रमुख भोजप्रसाद लम्साल बाढी पीडित बालबालिकाको अध्ययनका लागि भनेर सरकारले कुनै व्यवस्था गर्न नसक्नु दुःखद् भएको बताउँछन् ।

नेपालको संविधान, २०७२ मा शिक्षाको हक र बालबालिकाको हकलाई मौलिक हकमध्येमा राखिएको छ ।

तर सुर्खेतका बाढी पीडित बालबालिका भने कमजोर आर्थिक अवस्थाका कारण यी दुवै मौलिक हकको पूर्ण उपयोग गर्न सकिरहेका छैनन् ।

अधिवक्ता दुर्गा सापकोटाका अनुसार संविधानले प्रदत्त गरेको शिक्षाको हक र बालबालिकाको हकलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउँछन् । ‘‘संविधानले नै दिइसकेको अधिकार अब कार्यान्वयन गर्नुपर्छ ।’’