२०७७ कार्तिक ४, मंगलवार

वर्षाले कर्णालीमा हवाई उडान अवरुद्ध

सुर्खेत । विगत ३ दिनदेखि कर्णालीका जिल्लाहरुमा हुने नियमित उडान ठप्प भएको छ ।

केही दिनदेखिको लगातार वर्षा, हुस्सु र खराब मौसमका कारण कर्णालीमा हवाई सेवा ठप्प भएको हो ।

लगातारको पानी र खराब मौसमका कारण कर्णालीमा रहेका विमानस्थल
बन्द भएका छन् । विमान सेवा ठप्प भएपछि सर्वसाधारण विमानस्थलमा अलपत्र परेका छन् ।

नेपालगञ्ज र सुर्खेतबाट मुगु, जुम्ला, हुम्ला, डोल्पा र रुकुममा दैनिक उडान हुने गरेकोमा खराब मौसमका कारण उडान प्रभावित भएका छन् । खराब मौसम, निरन्तरको पानीले तीन दिनदेखि रारा, जुफाल लगायतका विमानस्थल बन्द भएको सीता एयरका स्टेशन प्रमुख शिवराज भामले बताए ।

कर्णाली क्षेत्रका लागि नेपालगञ्ज र सुर्खेतबाट सीता, तारा, गोमा, नेपाल एयरलाइन्स लगायतका सरकारी तथा नीजि विमान कम्पनीले सेवा दिँदै आएका छन् ।

यसैबीच, डोल्पा जुफाल विमानस्थल चार दिनदेखि खुलेको छैन । मौसममा खराबी आएर जहाजले उडान भर्न नसकेपछि विमानस्थल बन्द भएको हो । खराब मौसमका कारणले जहाजले उडान भर्न नसकेपछि जिल्ला अस्पताल, डोल्पामा जाने औषधिसमेत नेपालगञ्ज विमानस्थलमा नै थन्किएको छ ।

दुई सातादेखि अस्पतालमा ३० जनाभन्दा धेरै बिरामी भर्ना गरिएका छन् । औषधि अभाव हुन थालेपछि माथिल्लो निकायमा माग गरिएको औषधि नेपालगञ्जमै थन्किएको निमित्त अस्पताल प्रमुख डक्टर सिजन रावलले
जानकारी दिए ।

यता, जिल्ला अस्पतालमा बिरामी बढिरहेका र मौज्दात औषधि सकिदै गएको अस्पतालले जनाएको छ । यस्तै, डोल्पामा निरन्तरको वर्षाका कारण अनाथ बालबालिकाका लागि बन्दै गरेको भवन भत्किएको छ   ।

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट
बगरमा बन्दै गरेको दुई तले भवन भत्केको हो । भवन भत्किँदा माथिल्लो तलाको एक र तल्लो तलाको एक गरेर दुई कोठा पुर्णरूप मा क्षति भएको महिला सामुदायिक सेवा समाज तथा अनाथ बाल बालिकाका संरक्षक केन्द्रका अध्यक्ष दिलमाया बिष्टले बताए ।