२०७७ माघ ४, आईतवार

निर्धारित समयमै निर्वाचन गर

cropped-cropped-logos-1.jpgलामो समयको प्रतिक्षापछि मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन यही भदौ ८ गते गर्ने सहमति भएको थियो । त्रिभुवन विश्वविद्यालयलगायत देशैभरीका विभिन्न विश्वविद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन नभईरहेका बेला सुर्खेतमा हुन लागेको मपको स्ववियु निर्वाचनले स्वभाविकरुपमा सबैलाई राम्रै सन्देश दिने थियो भने त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयलाई समयमै स्ववियु निर्वाचन गर्नका लागि एउटा प्रकारको सन्देश पनि जाने थियो ।

तर अन्तिममा आएर मप विश्वविद्यालयको स्ववियु निर्वाचन सरेको छ । यसले विश्वविद्यालयलाई नै घातक हुने निश्चित छ । यदि अहिलेकै सन्दर्भमा निर्वाचन भएको भए यहाँका पदाधिकारीहरुदेखि विद्यार्थीसम्मलाई फाइदै–फाइदा थिए । तर विश्वविद्यालयमा पदाधिकारीहरुको नियतवश निर्वाचनको मिति सार्नुले पदाधिकारीको आगामी यात्रा अझ कठिनपूर्ण हुने निश्चित छ ।

हाल सम्पूर्ण विद्यार्थी संगठनहरुलाई सहभागी बनाएर स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने भन्दै बहाना गरेर विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्वाचन सार्ने निर्णय गरेको छ । आगामी यात्रा यसका लागि असाध्यै चुनौतिपूर्ण हुने र त्यसले विश्वविद्यालयको उधोगतिको यात्रा प्रारम्भ हुने देखिन्छ ।

सबै विद्यार्थी संगठनहरुले निर्धारित मितिमै निर्वाचन हुनुपर्ने माग गरेका छन् । यो मागले उनीहरुलाई गल्ती सच्याउन दबाब दिनेछ । यदि यो गल्ती सच्चिएन भने तत्कालका लागि स्ववियु निर्वाचन टर्नेछ, त्यो सँगै विद्यार्थीहरुले गर्ने सशक्त आन्दोलनको सामनासमेत कार्यकारीले गर्नुपर्ने छ । त्यसकारण अहिलेको सबैभन्दा उत्तम विकल्प भनेको पूर्व निर्धारित समयमै स्ववियु निर्वाचन सम्पन्न गर्नु हो ।