२०७७ कार्तिक ३, सोमबार

दुःख र सुखका प्रतीक, साउन र भदौ

जीतबहादुर शाह

आषाढ जाने र साउन लाग्ने सक्रान्तिलाई साउने सक्रान्ति पर्बको रुपमा मनाउने चलन छ । घिउ र
घिउबाट बनेका परिकारहरु खाने भएको हुँदा यसलाई पश्चिम पहाडतिर घिया सक्रान्ति भनेर पनि सम्बोधन गरिन्छ त कतै राँके सक्रान्ति पनि भनिन्छ ।

हामी सानो छँदा यो पर्व मनाउँने क्रममा मेरी आमाले ‘यो वर्षेझरीमा बाँचिदैन होला’ भन्दै मनाउने पर्व हो भनेर सिकाउनु भएको पाठ अहिले पनि सम्झनामा छ । त्यसरी नै आमाले साउन जाने र भदौ लाग्ने सक्रान्तिको पर्व मनाउँदा ‘अव त बाँचियो’ भनेर मनाउने पर्व हो भनेको पनि विर्सिएको छैंन ।

साउनमा घटेका विभिन्न प्राकृतिक प्रकोप र तिनले सिर्जना गरेका मानवीय विपत्तिहरुलाई विवशतापूर्वक भोग्नु पर्दा र देख्नुपर्दा सानो छँदा आमाले भनेका ती कुराहरुप्रति नजाँनिदो तरिकाले ध्यानाकर्षण भइरहेको छ अहिले ।

आज भन्दा ५ वर्ष अघिको कुरा अर्थात २०७१ साल साउन ३० गते विहान ५ नबज्दै मोबाइलको
घण्टी बज्यो । मोबाइल रिसिभ गर्दा मेरो भान्सामा काम गर्ने भाइ आत्तिएर बोलिरहेका थिए–‘सर मेरो
घरमा बाढी पस्यो । जहानकेटाकेटी र बचेको सामान ल्याएर त्यतै आउदैछु ।’ मैले ‘हुन्छ’ भनें ।

त्यसपछि त विहानीपख सूर्यको किरणले धर्तीमा पाइला टेक्न नपाउँदै बाँके, बर्दिया, दाङ र सुर्खेत लगायत देशैभरिबाट बाढीले निम्त्याएका कहालीलाग्दा खवरहरु मिडियामा आउन थाले । म बसेको बासस्थानलाई समेत वरिपरिबाट बाढीले घे¥यो । धन्न, बाढी भित्र नपसेपछि साँझपख बाढीपिडितहरु आएर बस्ने थलो भयो मेरो बासस्थान । त्यो दिनभरि एउटा पनि सुखद खवर सुन्न पाइएन ।

रातमा समेत बस्तुभाउ कराएको, मानिसहरु रोएको जस्ता कारुणिक आवाजहरु भूमण्डलमा सलबलाइरहे । गाउटोलदेखि मिडियासम्म मानबीय विपत्तिका खवरहरुले भरियो । पैतालीस वर्षपछि पहिलोपटक म बसेको बर्दियाको गुलरियामा बाढी पसेर बस्तीहरु क्षतविक्षत भए । अन्यत्र पनि यस्तै भयो ।

साउन महिनाभरि आम रुपमा त्यति राम्रा खवरहरु सुन्ने सञ्जोग मिलेन । हरेक दिन जस्तो बाढी पहिरोको प्रकोपले मानवीय क्षति भएका अशुभ
खवरहरु सुन्ने क्रम जारी रह्यो । सुनकोशीले सातादिनसम्म आम नेपालीका खुशी लुटेर हाँस्न
दिएन । कति स्कूले नानीहरु पानीमा डुबेर मरे । पहिरोले च्यापिएर सकिए । कति बाँचे पनि उनीहरुका लुगाफाटा, पाठ्यसामग्री र विद्यालयहरु बच्न सकेनन् । माटो बनेर धर्तिमा मिसिए । बाढी बनेर बगरमा बगे । विचरा कति मानिसहरुले आफू बाँचे पनि आफन्त र आफ्नो श्रीसम्पत्ति सबै गुमाए । कति मानिसहरुलाई आफ्नो बासस्थान कहाँनेर थियो भनेर अनुमान सम्म पनि गर्न
नसक्ने स्थितिको सिर्जना भयो ।

एउटै विछ्यौनामा सुतेका पती–पत्नी र सन्तानहरु विहान उठ्दा एकले अर्कालाई भेट्ने स्थिति भएन । त्यत्तिमात्र नभइ साउन महिनाभरि कतिले सर्पदंश, विसालु च्याउ, प्रदूषित पानी, चट्याङ लगायतका कारणबाट पनि जीवन गुमाउनु परिरहेको अवस्था जगजाहेर छ ।

तुलनात्मक रुपले त्यो वर्ष बाढीले बढि दुःख दियो ।
त्यसो त अहिले मात्र होइन हरेक वर्ष साउनमा
बाढीपहिरोले दुःख दिइरहेको छ । मानिसहरुले हेर्दाहेर्दै आफू बसेको घरमा बाढी पस्छ । मानिसको आफ्नो घरलाई बाढीले आफ्नो भनेर पसेपछि मानिसहरु आफ्नो घरमा बसिरहन सक्दैनन् । कतिपय मानिसहरुले आफ्नो घरमा बाढी पस्दा पनि आफ्नो घरलाई त्याग्न सक्दैनन् । तिनीहरुलाई बाढीले आफुसँगै समाहित गरेर लिन्छ अनन्त स्थान तर्फ । यस्तो अवस्थामा बाढीलाई मानिसले टुलुटुलु हेरेर स्वागत गर्न बाहेक अर्को विकल्प हुदैन ।

चोर, डाँकु र बाघभालुलाई जस्तो शस्त्रअस्त्र र
बाहुबल देखाएर लखेट्न पनि सक्दैनन् मानिसले
बाढीलाई । यस्तो भयो कि बाढी एउटा आततायी
शासकको आदेशमा हतियार बोकेर आउछ र आततायी शासककै आदेशमा नरसंहार गरेर फर्कन्छ । बाढी भनेको प्राकृतिक प्रकोप हो । प्राकृतिक प्रकोप सधैभरि विभत्स र दुःखदायी हुने गर्दछ । सामान्य अवस्थामा समाजमा शान्तिको उपस्थिति हुन्छ ।

त्यतिबेला प्राकृतिक नियमकानूनहरु पनि आ–आफ्नो विधि र पद्धतिअनुसार सञ्चालन भइरहेका हुन्छन् । त्यस्तो अवस्थामा सन्ततिहरुले अग्रजहरुको दाहसंस्कार गर्ने गर्दछन् । तर जव प्राकृतिक प्रकोपको उपस्थिति हुन्छ, त्यतिबेला शान्ति बिथोलिनुको साथै प्राकृतिक नियमहरु पनि विपरित किसिमले सञ्चालन हुन थाल्छन् । यस्तो अवस्थामा अग्रजहरुले सन्ततिहरुको दाहसंस्कार गर्नुपर्ने हुन्छ । प्राकृतिक प्रकोपको कारण
साउन महिनाभरि सर्वत्र यस्तै दृश्यहरु देखिए, सुनिए र भोगिए पनि । आफ्नो जन्म दिनको कार्यक्रममा निम्तो गरेका आफ्नै कक्षाको साथी सुजल पानीमा डुबेर मृत्यु भएपछि विचरा मेरो छोरीले आफ्नो जन्म दिनको कार्यक्रम नै रद्ध गरिन् ।

उनको साथीको बाबाले छोराको दाहसंस्कार गरे । भेट्न जाँदा विचरा सुजलको बुबा कपाल खौरेर सेतो बस्त्र लगाई छोराको काजक्रियामा थिए । आमाको अझै राम्रोसँग होस खुलेको थिएन ।
मेरो छोरीले मात्र होइन यतिबेला मेरो छोरी जस्तै सयौं बालबालिकाहरुले आफ्ना दौतरीहरु गुमाएका छन् ।

साउन महिला गरीवहरुको निम्ति भोकमरि र
अनिकालको महिना पनि हो । यतिबेला पुरानो
उत्पादन भ्याइसकिएको हुन्छ भने नयाँ उत्पादन
खानलायक भइसकेको हुदैन । कतिपय गरीब
परिवारहरु त बन्यजन्य चीजबीजहरु–च्याउ, गीठा,
भ्याकुर, तरुल, जामुन, कर्कलो आदि खाएर पनि
बाँच्नु पर्ने हुन्छ । कतिपयले साहुसँग खाद्यान्नको
बेसाहा गरेर पनि प्राण धान्नुपर्ने हुन्छ । यसले गर्दा
साउनमै गरीवहरुको परिवारको थाप्लोमा ऋणको
बोझसमेत थपिने गर्दछ । कतिपयले त यतिबेलै
अञ्जानमा नखानुपर्ने अखाद्य एवम् विषालु पदार्थ
खाएर जीवनलाई जोखिममा पार्ने गर्दछन् ।

मानिसहरु साउनमै देवीदेवताहरुको पनि बढी
पूजाअर्चना गर्दछन् । साउनलाई महादेव अर्थात
शिवको महिना पनि भन्ने गरिन्छ । सायद त्यसैले
पनि यो महिनामा बढि विनास भएको हुन सक्छ ।
महादेवलाई नै खुशी बनाएर आफू दुःखदर्दबाट मुक्ति पाउनका लागि मानिसले सकेसम्म जप, तप र पूजाआराधना गर्दछन् । कति किलोमीटर त घस्रिएर हिड्दै महादेवको शरण पर्न पुग्छन् । कति त नाङ्गै खुट्टा रगत चुहाउदै दशौं किलोमीटर बाटो हिडेर महादेवकोमा जान्छन् । कति महिलाहरु पानीसम्म नखाएर साउनको हरेक सोमबार महादेवको नाममा ब्रत बस्छन् ।

कतिले सम्पति दान गर्दछन् दुःखदर्दबाट मोक्ष्य प्राप्तिका लागि । तथापि तिनै मानिसहरुले बढि सास्ती र पीडा पाइरहेका हुन्छन् । जो मानिसहरु
अरुलाई दुःख दिएर आफू महल ठडयाउछन्
तिनीहरुलाई बाढी पहिरोले पनि केही गर्दैन । जो
मानिस भगवानप्रति विश्वास गर्दै अरुलाई दुःख
दिनु पाप सम्झन्छन, तिनैले साउनमा महादेवको
नाममा जति पूजाअर्चना गरेपनि पीडा पाइरहेकै
देखिन्छन् ।

सायद हामीले बुझेको भगवानको नियम हामीले बुझे भन्दा फरक रहेछ क्या रे । मेरी आमाले भने जस्तै भदौ लागेपछि भने त्यति धेरै मानवीय क्षति हुने गरी प्राकृतिक विपत्तिहरु व्यहोर्नु पर्दैन भन्ने कुरा विगतको आँकलनबाट पनि भन्न सकिन्छ । बरु यतिबेला विभिन्न चाडपर्वहरुले मानिसहरुलाई खुशी तुल्याउन सहयोग गर्दछन् ।

तीज लगायतका महोत्सवहरुमा आफ्ना दुःखदर्द
विर्सिएर दिदीबहिनीहरु रमाउने र नाँच्ने गर्दछन् ।
भाद्रमा खेतबारी, पाखापखेरा र कान्लाहरु पनि
हरियाली र उत्पादनले भरिभराउ हुन्छन् ।

बालीनाली र फलफूलहरु खानको लागि तयारी हुने अवस्थामा पुग्नै लागेका कारण त्यति सारो भोकमरी पनि हुदैन । मैले नजीकबाट देखेको कर्णालीको जुम्ला र विशेष गरी हिमाली जिल्लाहरु त भदौमा प्राकृतिक उत्पादनहरुले षोडसी सुन्दरी सिंगारिएका झै लाग्दछन् । शरदकालीन मौषमको पूर्व सन्ध्या भएकोले पनि होला, यतिबेला जताततै फूलैफूल हुने भएकोले पनि मानिसको मन पनि फूललाई देखेर फूल जस्तै हुन कोशीस गर्दैछ ।

केही वर्ष अघिदेखि नै विपत ब्यवस्थापनका
कुराहरु उठिरहेका छन् । यसपालि त संघीय सरकारले स्थानीय सरकारलाई जुनसुक बजेटबाट पनि रकमान्तर गरी विपत ब्यवस्थापनमा खर्च गर्न सकिने गरी निर्देशन जारी गरेको कुरा मिडियामा
आएको छ । विपत मानबीय कमीकमजोरी र असाबधानीकै कारण मानिसलाई दुःख दिन आउने हो ।

यसलाई धेरै हदसम्म न्यूनिकरण गर्न सकिन्छ । आशा गरौं, विपत ब्यवस्थापनमा भएको हाम्रो
योगदानले भदौ महिनामा झै साउन महिनामा पनि ‘बाँचियो, अव केही हुदैन’ भनेर खुशी साट्ने अवसर मिलोस हामी सवैलाई । साउन पनि दुःख होइन कि सुखको प्रतीक बनोस् । साउने सक्रान्तिको अवसरमा यही शुभकामना सवैलाई ।