२०७७ माघ ९, शुक्रबार

अख्तियार प्रमुख आयुक्तलाई महाअभियोग लगाउने पक्षमा काँग्रेस छैन ः मिनेन्द्र रिजाल

HOT NEWSकाठमाडौं, ७ भदौ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने पक्षमा पार्टी नरहेको स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रिजालले भने,‘काँग्रेस यसबारेमा स्पष्ट छ, अहिले हामीले डा. गोविन्द केसीले उठाएका शिक्षा र स्वास्थ्यसम्बन्धीको माग पुरा हुनुपर्छ भन्ने पक्षमा छौं, त्यो बाहेक हामीले केही सोचेका छैनौं, राजनीतिक मुद्दामा अहिले हामी छलफल गर्न तयार छैनौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता रिजालले चैत्रभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् । उनले अघि थपे,‘चुनाव भोलि होईन, हिजै हुनुपर्दथ्यो, हामीले त पहिला पनि यसबारेमा जोडदार रुपमा कुरा राखेका थियौं ।’

उनले चुनाव समयमै गर्ने कुरामा कसैलेपनि बखेडा झिक्न नहुने बताए । रिजालले भने,‘चुनाव गर्ने कुरामा मोर्चाले पनि शर्त तेर्साउनु भएन् ।’ संविधान संशोधन र चुनाव गर्ने कुरा संगसँगै अघि बढाउनुपर्ने रिजालले बताए । विवादित रहेका कुराहरु वार्ता तथा छलफलबाटै टुग्याउँनुपर्ने उनको भनाई थियो ।

मधेशी मोर्चालगायत असन्तुष्टहरुको माग पुरा गर्नको संविधान संशोधन गर्ने कुरामा एमालेलेपनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको रिजालले स्पष्ट पारे । उनले पार्टीले चाँडै मन्त्रीको नाम समेत टुँगो लगाउने बताए ।

पार्टीबाट को को मन्त्री बन्दैछन् त भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘त्यो त पार्टी सभापतिले निर्णय गर्ने कुरा हो, उहाँलाई पार्टी सभापतिमा जिताउन सहयोग गर्ने सहयोगीहरुलाई नै उहाँले मन्त्री बनाएर गुण तिर्नुहोला, अब उहाँले ईनाम दिने बेला आएको छ ।’ उनले सभापति देउवाले पार्टीभित्र सन्तुलन कायम गर्नेमा आफू विश्वस्त रहेको बताउँदै भने,‘हिजो उहाँ पार्टीलाई सन्तुलित बनाउनुपर्छ भन्नुहुन्थ्यो, अब उहाँले कसरी सन्तुलित कायम गर्नुहुन्छ त्यो हेर्न बाँकी छ ।’

नेकपा एमालेका नेता रघुविर महासेठले राष्ट्र र जनताको हितमा हुने संविधान संशोधनमा एमाले बाधक नबन्ने स्पष्ट पारे । उनले अघि थपे,‘संविधान संशोधन के को लागि हो, यो कुरा पहिला बुझ्न जरुरी छ, देश अहिले संक्रमणकालिन अवस्थामा छ ।’

महासेठले मधेशी मोर्चाका केही नेताहरुले संविधान पूर्नलेखनको कुरा उठाएकोप्रति ईंगित गर्दै भने,‘मोर्चाका केही साथीहरु संशोधनको कुरा उठाउनुहुन्छ, केही साथीहरु पूर्नलेखनको कुरा गर्नुहुन्छ, उहाँहरुभित्रै विवाद छ, कसको ईशारामा उहाँहरु यस्तो कुरा गर्दैहुनुहुन्छ ?’ यद्धपी उनले आफूहरु संविधान संशोधनको विरोधी नभएको स्पष्ट पारे ।

नेता महासेठले मोर्चाको गतिविधि नै अहिले शंकास्पद भएको टिप्पणी गरे । उनले भने,‘उहाँहरु एकातिर संविधान संशोधनको कुरा गर्नुहुन्छ, अर्कोतिर सरकार बनाउने र गिराउने खेलमा भाग लिनुहुन्छ, अनि आन्दोलनमा पनि छौं भन्नुहुन्छ, यो के तरिका हो ? हामीले बुझेका छैनौं ।’ उनले मोर्चाका नेताहरुलाई संविधानलाई क्रियाशिल बनाउने कुरामा ध्यान दिन आग्रह गरेका छन् ।

मोर्चाले अहिले सिमांकन लगायत संघीयताको कुरा छोडिसकेको उनको आरोप थियो । उनले भने,‘अहिले मोर्चाको लाग सिमांकनको कुरा गौण भएको छ, सरकारमा सहभागी हुन मोर्चाका साथीहरु अहिले बहाना बनाईरहेका छन् ।’ उनले अघि थपे,‘कुनै न कुनै बहानामा उहाँहरु सरकारमा जानुहुन्छ, त्यसको लागि आँतुर हुनुहुन्छ ।’ यद्धपी उनले अहिले गरिएको सिमांकन वैज्ञानिक नभएको टिप्पण्ी गरे ।

महासेठले काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको तीन बुँदे सहमतिमा नौला कुरा केही पनि समावेश नभएको दाबी गरे । उनले भने,‘तीन बुँदेमा उल्लेख गरिएका सबै कुराहरु केपी ओलीजीले पनि कमिटमेन्ट गर्नुभएको थियो ।’ स्थानीय तहको निर्वाचन गर्नेबारेमा विभिन्न बखेडा झिक्नु भनेको चुनाव नै नगराउने बहानाबाजी भएको उनको तर्क थियो । उनले भने,‘अनावश्यक बखेडा झिक्नु भनेको चुनाव नगराउने कुरा हो, अहिले चुनाव नगर्ने खेल भैरहेको छ ।’

महासेठले अख्तियार प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउने हल्लाप्रति टिप्पणी गर्दै भने,‘यसबारेमा पार्टीले स्पष्ट रुपमा भनिसकेको छ, यो जरुरी छैन, डा. केसीका राजनीतिक माग पूरै गलत छन् ।’ उनले डा. केसीलाई महाअभियोग लगाउने कुरा गरेकोमा आक्रोश पोख्दै भने,‘उहाँले कि त राजनीतिक गर्नुपर्यो अनि उहाँले यो कुरा उठाउन मिल्छ, होईन भने किन यस्तो बहस गरिरहनुभएको छ ?’
नेकपा माओवादी केन्द्रका नेता अग्नि प्रसाद सापकोटाले चैत्रभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुने दाबी गरेका छन् । सापकोटाले भने,‘सरकार अहिले चुनाव गर्ने कुरामा पूर्ण प्रतिबद्ध छ, सकेसम्म चैत्र अन्तिमसम्म नभए बैशाख पहिलो हप्ताभित्र चुनाव हुन्छ ।’
नेता सापकोटाले संविधान संशोधनको लागि सरकारले व्यापक गृहकार्य गरिरहेको उल्लेख गर्दै मधेशी मोर्चापनि सरकारमा सहभागी हुने स्पष्ट पारे । उनले सरकारले राजनीतिक दलहरुवीच राष्ट्रिय सहमतिको वातावरण बनाउने विश्वास समेत व्यक्त गरे ।
उनले अघि थपे,‘सरकारको प्रमुख दायित्व भनेको नै दलहरुवीच सहमति कायम गर्दै संविधान संशोधन गर्नु, शान्ति प्रकृयालाई निश्कर्षमा पुर्याउनु र राष्ट्रिय सहमतिको वातावरण बनाउनु हो, त्यही अनुसार अहिले सरकारले काम गरिरहेको छ ।’
नेता सापकोटाले अहिलेको आवश्यकत्ता महँगी नियन्त्रण गर्नु, कालोबजारी बन्द गर्नु र सुशासन कायम गर्नु भएकाले अख्तियार प्रमुख आयुक्तलाई महाभियोग लगाउनुपर्छ भनेर बखेडा झिक्न नहुने बताए । उनले अघि थपे,‘यो अहिले बहस गर्नुपर्ने मुद्दा नै होईन् ।’
मधेशी मोर्चाका नेता अनिल झाले अख्तियार प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउने पक्षमा मोर्चा नभएको स्पष्ट पारेका छन् । झाले भने,‘यो बेमौसमको बाजा हो, यस्तो मुद्दामा मोर्चाको कुनै चासो छैन, महाअभियोग लगाउनु अहिले आवश्यकत्ता नै छैन, न त यसको कुनै औचित्य नै छ ।’

झाले सिमांकनसम्बन्धी एकिन धारणा नआएसम्म आफूहरु स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताए । उनले अघि थपे,‘संघीयताको ढाँचा, सिमांकनबारे एकिन धारणा नआएसम्म हामी निर्वाचनमा भाग लिँँदैनौं ।’ उनले अबको १५ दिनभित्र संविधान संशोधन प्रस्ताव दर्ता भैसक्ने समेत दाबी गरे । उनले अघि भने,‘संविधान संशोधनबारे अहिले छलफल भैरहेको छ, मलाई लाग्छ सरकारले अबको १५ दिनभित्र संशोधन प्रस्ताव संसदमा टेबल गर्छ ।’ उनले एमालेले पनि संविधान संशोधनमा सहयोग गर्ने दाबी गरे ।

झाले भने,‘एमालेले मात्रै होईन अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने अन्य दलहरुले पनि संशोधनमा सहयोग गर्नुहुन्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं ।’ उनले काँग्रेस, माओवादी केन्द्र र मोर्चावीच भएको तीन बुँदे कार्यान्वयनतर्फ उन्मुख रहेको स्पष्ट पारे ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक पर्शुराम तामाङ्ले अख्तियार प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउनुपर्छ भनेर अनावश्यक बहस गरिएको बताउँदै भने,‘अख्तियारले सुशासन र भ्रष्टाचार उन्मुलन गर्नेगरि काम गरिरहेको छ, हामीले आयोगलाई सघाउनुपर्छ ।’

तामाङ्ले अहिले प्रमुख आयुक्तमाथि महाअभियोग लगाउनेबारेमा पार्टीले कुनै छलफल नै नगरेको स्पष्ट पारे । उनले संविधान संशोधनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने धारणा राखे । उनले भने,‘मुलुकलाई निकास दिनको लागि दलहरुवीच वार्ता, सम्वाद तथा सहकार्य र एकता आवश्यकत्ता हुन्छ, त्यही अनुसार अघि बढ्नुपर्छ ।’