२०७७ कार्तिक ८, शनिबार

परीक्षण, प्रवृत्ति र पात्रहरु

जीतबहादुर शाह

कक्षा ११ को उत्तरपुस्तिका परीक्षण गर्ने कार्य गर्नु पहिले परीक्षकहरुको निम्ति एक दिने अभिमुखीकरण गोष्ठीकोे आयोजना गरिएको छ । गोष्ठीको मुख्य उद्देश्य भनेको उत्तरपुस्तिका परीक्षण गर्दा त्रूटी नहोस भन्ने हो ।

गोष्ठी सञ्चालनको क्रममा एउटा सत्र उत्तरपुस्तिका परीक्षण गर्नु राखिएको छ । एउटा कुनै परीक्षार्थीको कुनै विषयको उत्तरपुस्तिकालाई फोटोकपी गरेर उक्त विषयका परीक्षकहरुलाई परीक्षणका लागि वितरण गरिन्छ ।

परीक्षणका लागि परीक्षकलाई उत्तरकुञ्जिका पनि प्रदान गरिन्छ । परीक्षण कार्य सञ्चालन हुन्छ । गोष्ठीमा सहभागी साठी भन्दा बढिको संख्यामा रहेका परीक्षक शिक्षकहरुमध्ये हरेकले आफ्नो विषयको उत्तरपुस्तिका परीक्षण गर्ने अवसर पाउछन् ।

एउटा उत्तरपुस्तिका परीक्षण गर्न करिव आधा घण्टा लाग्छ । आधाघण्टा पछि नतीजा आउछ । नतीजाको टिपोट गर्ने काम सहजकर्ताबाट भइरहेको हुन्छ । नतीजा भने मैले सोचे भन्दा फरक आउछ । यत्ति फरक आउछ कि त्यसले मेरो सोचलाई नै फरक बनाइदिन्छ ।

शिक्षाको परिचय विषयको उत्तरपुस्तिका ६ जनाबाट परीक्षण गर्दा पूर्णाङ्क ५० मा अधिकतम २५ र न्यूनतम १७ प्रदान गरिन्छ । जनसंख्या अध्ययन विषयको पूर्णाङक ८० को उत्तरपुस्तिका ६ जनाबाट परीक्षण हुँदा अधिकतम २८ र न्यूनतम १६ अङक प्रदान गरिन्छ ।

स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको पूर्णाङ्क ५० को उत्तरपुस्तिका ५ जनाबाट परीक्षण हुँदा अधिकतम ४० र न्यूनतम ३२ अङक प्रदान गरिन्छ ।

त्यसरी नै नेपाली विषयको १०० पूर्णाङ्कको उत्तरपुस्तिका परीक्षण ११ जना परीक्षकबाट गरिदा अधिकतम ४६ र न्यूनतम ३१ अङ्क प्रदान गरिन्छ । अङ्ग्रेजी विषयको १०० पूर्णाङ्कको उत्तरपुस्तिका १५ जनाबाट गरिदा अधिकतम ७८ र न्यूनतम ५३ अङ्क दिइन्छ । यहाँ प्रस्तुत गरिएका विषयहरुको उत्तरपुस्तिका परीक्षणको फासला हेर्दा शिक्षाको परिचय, जनसंख्या, स्वास्थ्य, नेपाली र अंग्रेजी विषयमा क्रमशः ८, १२, ८, १५ र २५ रहेको देखिन्छ ।

परीक्षणको यो परिदृश्यले मेरो मनमा एकतमासले विद्यार्थी प्रति दयाभाव जागेर आयो । हाम्रो परीक्षण प्रणाली प्रति आक्रोश जाग्यो र आत्मग्लानी पनि । भाग्यबादलाई कहिल्यै विश्वास नगर्ने यो पङ्तिकार नजानिदो तरिकाले भाग्यबादतर्फ उन्मुख भए झै महसुस भयो ।

कुनै विद्यार्थीले कुनै विषयमा कति अङ्क वा कति ग्रेड ल्याउने भन्ने कुरा उसको कर्मले भन्दा पनि उसको कर्मलाई नियाल्ने मानिसको नियतमा भर पर्दोरहेछ भन्ने विचारले मलाई जिस्काइरहयो । यस्तो विचारलाई जीवनमा कहिल्यै प्रश्रय नदिने यो पङितकारलाई त्यस्तै विचार सही हो कि भन्ने पनि लागिरहयो त्यो गोष्ठीको अवधिभरि र त्यसको आसपाससम्म पनि ।

परीक्षण गरिएको अङ्कको फासला सवैभन्दा धेरै अंग्रेजीमा देखियो – २५ अङ्क । सिद्धान्ततः १० प्रतिसतसम्म स्वीकार गरिदोरहेछ । यो त भयो २५ प्रतिसत । कपि एउटै हो । अङ्क फरक प्रदान गरियो । कारण एउटै हो, परीक्षक फरक भए । प्रबृत्ति र सोच फरक भयो । निधारमा भाग्य लेख्ने गड अर्थात भावी फरक भएपछि वा लेख्ने समयमा उनको मुड फरक भएपछि भाग्य पनि तलमाथि भए जस्तै ।

गुरु र गड उस्तै हो झै पनि लाग्यो । एउटा नराम्रो काम गर्ने मानिसको पनि सवैतिर हाइहाइ हुने र राम्रो काम गर्ने मान्छे सदैव पिल्सिएर बाँचिरहेका दृश्यहरुको आँकलन गर्दा त्यहाँ पनि सयमा पच्चीस अङ्कको फरक पर्यो होला भन्ने लाग्यो । यस्तैमा मैले आफ्नै विगतलाई सम्झें ।

एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण हुँदा खुशी लागेको थियो राम्रो गरेछु भनेर । प्रमाणपत्र तह द्वितीय श्रेणीमा उत्तीर्ण हुँदा नरमाइलो लागेको थियो राम्रो गर्न सकिन भनेर । त्यसरी नै स्नातक तह प्रथम श्रेणीमा उत्तीर्ण हुँदा फेरि खुशी भएर हौसिएको थिएँ राम्रो गरेंछु भनेर । त्यतिमात्र होइन एमफीलमा विशिष्ट श्रेणी आउदा खुशीले झनै सीमा नाघेको थियो के–के न गरेंछु भनेर ।

अहिले आएर लाग्यो कि यो मेरो कर्मले भन्दा पनि परीक्षकको मुड अनि कर्मले फरक पारेछ क्या रे । एउटै कपि परीक्षण गर्दा कसैले त्रिपन्न र कसैले अठहत्तर दिएजस्तै । त्रिपन्न दिने जस्ताको हातमा परेको बेला कमजोर श्रेणी आयो होला र अठहत्तर दिने जस्ताको हातमा परेको बेला राम्रो श्रेणी आयो होला । यसमा मेरो दोष के पो भयो र भन्ने पनि लागिरह्यो ।

मैले उठान गरिरहेको सन्दर्भ स्तरीकृत परीक्षाको हो । स्तरीकृत परीक्षामा सोधिने प्रश्नहरुलाई पटकपटक परीक्षण गरेर विश्वसनीयता, बैधता र बस्तुगतताका हिसावले उपयुक्त देखिएपछि मात्र प्रयोगमा ल्याउने गरिन्छ । विश्वसनीयता भन्नाले उक्त परीक्षण जतिपटक गरेपनि नतिजा उही आउनु हो । बैधता जुन कुराको परीक्षण गर्न खोजेको हो त्यो कुराको परीक्षण गर्न सक्ने परीक्षाको क्षमता हो भने बस्तुगतता कुनै एउटा परीक्षालाई जति परीक्षकले परीक्षण गरे पनि नतिजामा आउने समानता हो ।

मैले प्रस्तुत गरेको स्तरीकृत परीक्षाको परीक्षण कार्यमा देखिएको नतिजा विश्वसनीयता, बैधता र बस्तुगतताका हिसावले कमजोर देखियो । कारण धेरै होलान, यहाँ मैले देखेको कारण भनेको परीक्षकको मुड, क्षमता र सोचको भिन्नता हो । अझै किटेर भन्नु पर्दा परीक्षकको प्रबृत्ति र दृष्टिकोणको खेल हो जस्तो लाग्छ । कतिपय परीक्षकहरु आग्रह र पूर्वाग्रहमा डुवेर परीक्षणको कार्य अघि बढाउछन् ।

कसैले भावलाई भन्दा पनि भाषालाई प्राथमिकता दिने गर्दछन् । नेपाली भाषामा लेख्ने परीक्षार्थी र अङ्ग्रेजी भाषामा लेख्ने परीक्षार्थी प्रतिको सोच आवश्यकता भन्दा बढि नकारात्मक वा सकारात्मक भएको पाइन्छ । कतिपयले छिटोछरितो गरेर थोरै समयमा धेरै पारिश्रमिक पाउने मनसायका साथ काम गरेको पाइन्छ । कतिपयले परीक्षार्थीहरुलाई आफूसँग तुलना गर्दछन् र आफूले उक्त विषयमा प्राप्त गरेको प्राप्ताङक भन्दा बढि यसले पाउनु हुदैन भन्ने सोचका साथ काम गर्दछन् ।

परीक्षक भन्दा परीक्षार्थी राम्रा हुन सक्छन् भन्ने कुरा विर्सन्छन् । शिक्षक आफूहरु द्वितीय श्रेणी भन्दा माथिका नभएकाले परीक्षार्थीहरुलाई जति राम्रो लेखेपनि द्वितीय श्रेणीको प्राप्ताङ्क भन्दा बढि दिदैनन् भन्ने हल्लाले समेत मैले एमएड अध्ययन गर्दा केन्द्रीय क्याम्पस किर्तिपुरलाई नराम्ररी गाँजेको थियो । सायद यस्तै यस्तै सोच र प्रबृत्तिले गर्दा परीक्षाको विश्वसनियता, बैधता र बस्तुगतताको जग पटक पटक हल्लिने गर्दछ र मानिसहरु बाध्य भएर भाग्य भरोसा भन्दै कुनै अमुक शक्तिलाई पछ्याउने गर्दछन् ।

सेक्सपियरले भनेका छन् – ‘मानिसको मन सेतो कपडा हो जसलाई जुन रङ्गमा भिजायो त्यस्तै रङ्गको हुन्छ ।’ मलाई त लाग्छ परीक्षक पनि त्यस्तो पात्र हुन सक्नुपर्दछ जसले पहिले नै आग्रह र पूर्वाग्रहको अनि नकारात्मकता र सकारात्मकताको रङ्ग मनभरि भरेर कपि जाँच्नतिर लाग्ने होइन कि कपि परीक्षण गर्न थालेपछि कपि अनुसारको रङ्ग बनाउन सक्नुपर्दछ । अर्थात कपी परीक्षण गर्ने परीक्षकको मन सफा र पवित्र हुनु पर्दछ सेतो कपडा जस्तै ।

विएडको एउटा ५० पूर्णाङ्कको विषयको परीक्षा भने जस्तो राम्रो नभए पछि मैले साथी रमेश मैनालीसँग आफ्ना कुरा शेयर गरें । साथी रमेश मैनालीले मसँग सवै कुरा सोधपुछ गरेर ३३ अङ्क आउछ भने । नभन्दै पछि मार्कसीटमा ३३ नै लेखेर आयो । सायद ती कपि काट्ने परीक्षक सेतो रङको मन भएका थिए होलान, एक अङ्क पनि तलमाथि नहुने गरी जिम्मेवार भएर परीक्षण गर्ने । राजनीति गर्ने मान्छे र कपि परीक्षण गर्ने मान्छेको मन एउटै मार्काको भयो भने परीक्षार्थीहरुले कर्ममा भन्दा पनि भाग्यबादमा विश्वास गर्न बाध्य हुन्छन् । राजनीति गर्ने मान्छेहरु सत्तामा पुगे भने आफूले गरेको कुकर्ममाथि पनि उज्यालो र उन्नति देख्छन् । तिनै मानिसहरु प्रतिपक्षमा भए भने सत्ता पक्षले गरेको सुकर्म माथि पनि अध्यारो र अवनति देख्छन् । कर्म उनै हुन, देश उही हो । सत्ता पक्षको नेताको नजरमा देश भरिलो देखिन्छ भने प्रतिपक्षको नेताको नजरमा देश कङ्गाल देखिन्छ । यसै गरी परीक्षक पिच्छे परीक्षार्थी पनि फरक देखिने थाल्यो भने परीक्षाको स्तरीयता माथि प्रश्न चिन्ह खडा हुन्छ । परीक्षाको विश्वसनियता, बैधता र बस्तुगतता माथि कालो बादल मडारिन थाल्छ र अन्ततः नतीजाले साधुलाई सुली र चोरलाई चौतारो प्रदान गर्ने काम गर्दछ । निधारमा भावीले लेख्ने भाग्य रेखा जस्तै हो कपि परीक्षण गर्ने काम पनि ।

त्यसैले पनि यो कामको जिम्मेवारीमा भएको जो कोही पात्रले पनि गम्भीरता र सावधानीपूर्वक आफ्नो काम सम्पादन गर्नुको अर्को विकल्प देखिदैन । सवैलाई चेतना भया ।