२०७७ कार्तिक ११, मंगलवार

सुर्खेतमा विप्लव समूहका २ कार्यकर्ता सहित ३ जना पक्राउ


सुर्खेत ।
सुर्खेत प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ जना कार्यकर्तालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी व्यूरो टोलीले आज वीरेन्द्रनगर–१०, पदमपुरबाट नेकपा (विप्लव समुह) को भातृ संगठन युवा संगठन जाजरकोटका अध्यक्ष खड्कबहादुर सिंह र लेखबेसी–६, बाट सुर्खेत जिल्ला सदस्य हिरु शाहीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा जाजरकोटबाट फरार रहेका सिंहलाई पक्राउ गरि आजै जाजरको पठाईएको बताए । उनले विप्लवका अर्का जिल्ला कमिटी सदस्य शाहीलाई भने नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय छिन्चुमा थप अनुसन्धान भईरहेको जनाए ।

यसैवीच प्रहरीले बोक्सी आरोप बुद्दामा फरार रहेका होमबहादुर चपाईलाई समेत पक्राउ गरि जेल चलान गरिएको जनाएको छ ।