२०७७ कार्तिक १०, सोमबार

वीरेन्द्रनगरको विभेदकारी नियम, बजार क्षेत्रमै फोहोर सङ्कलन नभएको गुनासो

सुर्खेत। कर्णाली प्रदेशको राजधानी रहेको वडा नं. ६ मा वीरेन्द्रनगरपालिकाले जिम्मा दिएको फोहोर सङ्कलनकर्ताले फोहोर सङ्कलनमा पक्षपात गर्दै आइएको पाइएको छ । वडा नं. ६ को शनिहल लाइन, शनिहल लाइनको भित्री लाइन लगायतका स्थानमा दुई हप्तादेखि नगरपालिकाको फोहोर सङ्कलन गाडी नआएको दुःखेसो स्थानीय दानबहादुर सिंजापतिले पोखे ।

‘‘नगरपालिकालाई फोहोर सङ्कलनका लागि नियमित रुपमा हामीले पैसा तिरिरहेका छौँ ।’’ उनले भने, ‘‘मुख्य बजार क्षेत्र, बुद्धपथमा प्रायः दैनिकरुपमा फोहोर सङ्कलन भइरहेको छ ।’’ उनले नगरपालिकाले एउटै वडाका नागरिकमा विभेद गरिरहेको आरोप लगाए । ‘‘हामी सबैले तिर्ने करको दायरा एउटै हो ।’’

उनले भने, ‘‘तर हाम्रो घरमा दुई हप्तासम्म फोहोर राख्नुपर्ने बाध्यता नगरपालिकाले कायमै गरेको छ ।’’ शनिहलमै बस्ने गरेका धिरजंग शाहीको गुनासो पनि कम्ता छैन ।

पेशाले होटल व्यवसाय गरिरहेका शाहीले नगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडी समयमा नआउँदा गन्धमय होटल बनाउनु परेको बताए । ‘‘हामी साना होटल व्यापारी हौँ ।’’ उनले भने, ‘‘हाम्रा होटलमा आउने गाउँका ग्राहकलाई नाक थुन्न लगाएर खाना खुवाउनुपर्ने बाध्यता छ ।’’ नगरपालिकाको यस्तो हर्कतका कारण आफूहरुको व्यवसाय चौपट हुने स्थितिमा पुगेको बताए ।

यि त प्रतिनिधिमूलक पात्र मात्रै हुन् । अहिले वीरेन्द्रनगरका हरेक घरमा फोहोरको राश थुप्रिएको छ । फोहोर बढ्दै जाँदा एकातिर कोठा भाडामा बस्नेले दुर्गन्ध बढेको कारण घरमुलीको हप्की सहनुपरेको छ भने अर्कोतिर फोहोरका कारण प्रकोप फैलिन सक्ने खतरा बढेको पाइएको छ ।

नगरपालिकाले अहिले प्रति घर १ सय रुपैयाँदेखि लिएर ६ हजारसम्म फोहोर सङ्कलन कर सङ्कलन गरिरहेको छ । वडा नं. ६ का वडाध्यक्ष मोतिप्रसाद कँडेलका अनुसार प्रति चुलो मासिक १ सय रुपैयाँदेखि ठूला होटलमा ६ हजारसम्म कर सङ्कलन गर्ने गरिएको छ ।

‘‘हामीले पानी परेको बेलामा फोहोर सङ्कलन गर्न सकेका छैनौँ । परिस्थिति केही असहज नै छ ।’’ उनले भने, ‘‘फोहोर फाल्ने स्थान ल्याण्डफिल्ड साइडको बाटो कच्ची भएका कारण गाडी फस्ने हुँदा अहिले नियमित फाेहाेर सङ्कलनमा समस्या भएको हो ।’’ यद्यपी फोहाेर भने जसरी पनि नगरपालिकाले उठाउने उनको भनाइ छ ।

‘‘घाम लागेको दिनमा हामी फोहोर जसरी पनि उठाउँछौं ।’’ पानी एक महिनासम्म परिरहे नगरले फोहोर उठाउँदैन त भन्ने प्रश्नमा अध्यक्ष कँडेलले भने, ‘‘हामी जेसिबी प्रयोग गरेर भएपनि फोहोर सङ्कलन गरिछाड्छौँ । केही मात्रै विलम्ब भएको हो ।’