२०७७ कार्तिक १०, सोमबार

इन्जीनियरिङ कम्पनी स्थापना गर्ने प्रदेश सरकारको निर्णय

सुर्खेत ।कर्णाली प्रदेशमा अब इञ्जिनीयरिङ कम्पनी स्थापना हुने भएको छ । गत बिहिवार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजानिक गर्दै शुक्रवार पत्रकार सम्मेलनमा यस्तो जनाइएको हो ।
कम्पनी ऐनमा व्यवस्था भएअनुसार दर्ता भएर सरकार, निजी क्षेत्र र विज्ञ सम्मिलितको नौ जना सञ्चालक समिति हुनेछ । प्रथम साधारणसभा नभएसम्मका लागि सात सदस्यीय तदर्थ सञ्चालक समिति गठन गरिने बताइएको छ । इन्जिनियरिङ कम्पनीको चुक्ता पूँजी रु एक अर्बको हुनेछ भने तत्काल संस्थापकले चुक्ता गरेको पूँजी रु ५० करोड हुनेछ ।

कम्पनिको प्रबन्धपत्र र नियमावली तयार गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेकाले चाँडै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ताका लागि प्रक्रिया अघि बढाइनेछ ।
इञ्जिनीयरिङ डिजाइनका काम अगाडि बढाउने उद्देश्यले स्थापना हुने यस कम्पनीको आफ्नै संरचना, स्थायी कर्मचारी, विनियमावली हुने छ । यसको स्थायी कर्मचारी भर्ना नभएसम्म बजारबाट सेवा करारमा लिइने बताइएको छ । कम्पनीको केन्द्रीय कार्यालय सुर्खेत इत्राममा रहने छ ।
मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सरकारी स्वामित्वमा इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने निर्णय गरिएको जानकारी बताइन् ।उनले कर्मचारी समायोजनपछि कर्णाली प्रदेशमा जनशक्ति अभाव रहेको बताउँदै मन्त्री केसीले अभाव भएको जनशक्ति पूरा गर्न र पूर्वाधार विकास निर्माणमा सहजता ल्याउन यसले सहयोग पुर्‍याउने बताइन् । यो निर्णयले कर्णाली प्रदेश सरकारको विभिन्न प्रशासनिक कार्यमा तिब्रता हुने उनको भनाई रहेको थियो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले मन्त्रिपरिषद्को प्रशासन हेर्ने सचिवको अध्यक्षताका सबै मन्त्रालयको कम्पनीको विषयगत क्षेत्र हेर्न सबै मन्त्रालयको उपसचिव यसको सदस्य रहनेगरी दर्ता तयारीमा रहेको र एक साताभित्र यो कम्पन्न रजिष्टारको कार्यालयमा दर्ता गराइने बताए ।