२०७७ कार्तिक १४, शुक्रबार

रूकुम पश्चिमको आठबिसकोटमा डिमुरबाट मदिरा उत्पादन गरिँदै


सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा १० करोडभन्दा बढीको लागतमा मदिरा उद्योग सञ्चालनमा आउने भएको छ । ४० जनाको समूह, प्रदेश सरकार तथा स्थानीय सरकारको शेयर लगानीमा उक्त उद्योग सञ्चालनमा आउन लागेको हो ।

कर्णाली वेभरेज इण् डष्ट्रिज प्रा. लि.को नामबाट सञ्चालनमा आएको उक्त कम्पनीमा प्रदेश सरकारले एक करोड लगानी गरेको हो भने नगरपालिकाले १५ लाख शेयर लगानी गरेको हो । ‘ ‘कम्पनीले डिमोरबाट मदिरा उत्पादन गर्ने गरी अघि बढेका छौँ ।’’ कम्पनीका अध्यक्ष दलबहादुर शाहले भने, ‘‘यहाँको जंगलमा वार्षिकरुपमा ४० टन डिमोर उत्पादन हुने गरेको छ ।

सोही डिमोरलाई प्रयोग गरेर डिमोर वाइन उत्पादन गर्ने भएका हौँ ।’’ उनका अनुसार कम्पनीले अहिले ५० हजार लिटर क्षमताका ७ वटा फर्मेन्टेन्शन ट्याङ्की राखी सकिएको छ   । ‘‘यी ७ वटा ट्याङ्कीबाट ५० हजार लिटर वाइन उत्पादन हुनेछ ।’’ उनले भने, ‘‘वार्षिक २ लाख लिटर वाइन उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’’ कम्पनीले मदिराका अलावा चिउरीको फ्रुटी पनि उत्पादन गर्ने जानकारी दिए ।

‘‘यहाँ खेर गइरहेको चिउरीलाई पनि हामी प्रयोग गर्ने गरी अघि बढिरहेका छौँ ।’’ उनले भने, ‘‘त्यसबाट पर्याप्त जुस निकाल्ने छौँ ।’’ अहिले कम्पनीको वरिपरि घेराबार लगाउन आर्थिक अभाव भएको अध्यक्ष शाहकाे भनाइ थियो  ।

बोटलिङ्ग गर्ने भवन पनि निर्माण सम्पन्न भइसकेको उनको भनाइ छ । एसएस ३०४ गुणस्तरको भण्डारणसमेत कम्पनीले तयार गरिसकेको छ । नगरपालिकाका नगर प्रमुख गोरख केसीले नगरपालिकाले औद्योगिक क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

‘‘साझेदारीमा हामीले उद्योगहरुमा लगानी गरिरहेका छौँ ।’’ उनले भने, ‘‘यहाँ उत्पादन गरिएका मदिरालाई अन्यत्र बिक्री गरिनेछ ।’’ उसो त नगरपालिका मदिरामुक्त घोषणा भइसकेको छ ।

मदिरामुक्त नगर घोषणा भएको तर नगरमा नै मदिरा उद्योग खोलेको भनेर आलोचना पनि भइरहेको छ । ‘‘हामीले यहाँका लागि मदिरा उद्योग खोलेका होइनौँ ।’’ उनले भने, ‘‘सिधै निर्यात गर्ने र त्यसबाट नगरलाई समेत कर पाउने गरी व्यवसाय सुरुवात गरेका हौँ ।’’ उनले करोडौंको लगानीमा चीनबाट सामान आयात गरेर काष्ठ उद्योग पनि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।