२०७७ कार्तिक १२, बुधबार

स्कुलमा अब सिक्का हालेपछि सेनिटरी प्याड

सुर्खेत । एस्ओएस् हर्मन माइनर विद्यालय, सुर्खेतले छात्राहरुको लागि स्यानेटरी प्याड भेन्डिङ मेसिन विद्यालयमा जडान गरेको छ । महिनावारीको समयमा उनीहरुको पढाईमा असर पर्न नदिन भेन्डिङ मेसिन जडान गरिएको विद्यालयले बताएको छ । शुक्रवारदेखि सञ्चालनमा आएको भेन्डिङ मेसिनबाट दुई र पाँच रुपैयाँको सिक्का हालेपछि प्याड निस्कन्छ ।

विद्यालयका छात्राको लागि सञ्चालन गरिए पनि शिक्षिका, एस्ओएस् बालग्रामका आमा र अन्टीहरुले पनि प्याड प्रयोग गर्न गर्नेछन् । छात्राहरुको लागि आधुनिक सुविधायुक्त स्यानेटरी प्याड भेन्डिङ मेसिन सञ्चालन गर्ने हर्मन माइनर कर्णाली प्रदेशकै पहिलो विद्यालय पनि बनेको छ । विद्यालयले स्यानेटरी प्याड मेसिन जडान गरेपछि आफूहरु निकै सहज हुने छात्राहरुले बताए । ‘‘अब म्याडमहरुसँग प्याड मागिरहनु पर्दैन’’, उनीहरुले भने ।

महिनावारीको बेला छात्राहरूले शारीरिक र मानसिकरूपमा कमजोर महसुस गर्ने भएकोले उनीहरुलाई सहज वातावरण दिएर पढाईमा सघाउन मेसिन सञ्चालन गरिएको विद्यालयका प्राचार्य जगदिश ढकालले बताए । ‘‘एउटा प्याडको ८ रुपैयाँ पर्छ’’, उनले भने, ‘‘विद्यार्थीले दुई र पाँच रुपैयाँको सिक्का राखेर प्याड प्रयोग गर्ने भएकोले बाँकी खर्च विद्यालयले व्यर्होछ ।’’ विद्यालयमा ६ देखि १२ कक्षामा अध्ययनरत दुई सय ४० जना किशोरीहरुले सहजरुपमा मेसिनको प्रयोग गर्ने सहायक प्राचार्य हरिहर बस्नेतले बताए ।

प्रदेश अस्पताल, सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले मेसिनले छात्राहरुको पढाईमा सघाउने बताए । ‘‘सबैले महिनावारी समस्यालाई हल्कारुपमा लिएको पाइन्छ’’, डा. केसीले भने, ‘‘महिलाहरुको शारीरिक र मानसिक विकाससँग जोडिएको मुद्दालाई गम्भीर रुपमा लिनु जरुरी छ ।’’ हर्मन माइनर विद्यालय, सुर्खेतले भेन्डिङ मेसिन राखेर आफूलाई अझ अब्बल बनाएको वीरेन्द्रनगर–४ का वडाध्यक्ष निलकण्ठ खनालले बताए ।
कर्णाली प्रदेशका मात्र हैन, देशैभरीका विद्यालयमा स्यानेटरी प्याडको व्यवस्था नहुँदा छात्रा महिनावारी भएको बेला विद्यालय आउँदैनन् ।
जसको कारण उनीहरुको पढाई छुट्ने गरेको पाइन्छ ।