२०७७ माघ १२, सोमबार

मप विश्वविद्यालयको स्ववियु निर्वाचन अन्यौल, निर्वाचन समितिका संयोजकद्वारा राजिनामा

Madhyapaschim-Bishwobidhyalसुर्खेत, भदौ ८ । आज (बुधबार) हुने भनिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्यौल भएको छ ।

आज (बुधबार) निर्वाचन गर्ने पहिलो निर्वाचन तालिका सार्वजनिक गरिए पनि अन्तिम चरणमा आएर विश्वविद्यालयको कार्यकारी परिषद्ले परिवर्तन गरेपछि विद्यार्थीहरुको मत बाँझिदा निर्वाचन अन्यौलमा परेको हो । मिति परिवर्तनपछि आक्रोशित भएका विद्यार्थीहरुबीच कुरा नमिलेपछि निर्वाचन समितिका संयोजक पूर्व डीन गणेशबहादुर कार्कीले राजिनामा दिएपछि झन् निर्वाचन अन्योलमा परेको छ ।

स्ववियु निर्वाचनको विषयलाई लिएर विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको अध्यक्षतामा विश्वविद्यालयमा क्रियाशील विद्यार्थी संघसंगठनका केन्द्रीय नेतृत्वसँगको बैठक मंगलबार बसेको थियो । पूर्व घोषित भदौ ८ गते (बुधबार)को स्ववियु निर्वाचन हुन नसक्ने पक्कापक्की भएपछि निर्वाचन समितिका संयोजक गणेशबहादुर कार्कीले सोही बैठकमा राजिनामा पेश गरेको सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

स्ववियु निर्वाचनको मिति निर्धारणसम्बन्धी बसेको बैठकमा अर्काे मितिका सम्बन्धमा विद्यार्थी संघसंगठनहरूको मत विभाजित भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले तोकेको भदौ १३ गतेको मितिमा निर्वाचन गराउन माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) असहमत भएको छ । क्रान्तिकारीले सुरुमा तोकिएको मिति आज (बुधबार) निर्वाचन हुनुपर्ने पहिलो माग राखेको थियो ।

यसका विकल्पका रुपमा बैठकमा भदौ १२ गतेको अर्काे तय गरिएको थियो । उक्त मितिमा अन्य विद्यार्थी संगठनको सहमति भए तापनि नेकपा माओवादी (केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) सहमत नभएको सूचना अधिकारी खड्काले बताए ।

यसरी नयाँ मिति तोक्न पनि विद्यार्थीहरुको मत विभाजित भएपछि बैठकसमेत विना निष्कर्ष टुङगिएको छ । बैठकले खास निष्कर्ष निकाल्न नसकेपछि आज (बुधबार) बिहान पुनः सहमतिको निर्वाचन मितिका सम्बन्धमा बैठक बस्ने निर्णय भएको छ । बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल, व्यवस्थापन संकायका डीन मस्तबहादुर गरंजा, विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. देवबहादुर खड्का, मानविकी र सामाजिकशास्त्र संकायका डीन खोपिराम लम्साल, शिक्षाशास्त्र संकायका डीन यमबहादुर कार्की, इन्जिनियरिङ संकायका निमित्त डीन अनन्तराज घिमिरे, विज्ञान तथा प्रविधि संकायका सहायक डीन पदमराज जोशी, इन्जिनियरिङ केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख ओपेन्द्र हमाल लगायतको सहभागिता रहेको थियो ।

यस्तै, विद्यार्थी संगठनका तर्फबाट नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, नेक्राविसंघका केन्द्रीय अध्यक्ष निरज लबजु, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष सुनिता बराल, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष गंगाराम तिमिल्सिना, नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री सरोजकुमार थापा, अनेरास्ववियुका केन्द्रीय महासचिव ऐन महर, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सचिव केशबहादुर शाही, अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष झपिन्द्र खत्री, नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय संगठन विभाग प्रमुख लक्ष्मीप्रसाद जोशीलगायत विभिन्न विद्यार्थी संगठनहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।