२०७७ माघ १४, बुधबार

एमाले प्रदेश नं.६ को सहसंयोजकमा पूर्वमन्त्री यामलाल कँडेल

yamlalसुर्खेत, भदौ ८ । पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता यामलाल कँडेलले नेकपा एमाले प्रदेश नं. ६ को सह–संयोजकको जिम्मेवारी पाएका छन् ।

एमाले स्थायी कमिटी बैठकले ७ वटै प्रदेशमा संयोजक र सह–संयोजक तोक्दै कँडेललाई ६ नम्बर प्रदेशको सह–संयोजकको जिम्मेवारी दिएको हो । प्रदेश नम्बर ६ को संयोजकमा उपाध्यक्ष युवराज ज्ञवाली र सह–संयोजकको जिम्मेवारी पोलिटब्यूरो सदस्य कँडेलले पाएका हुन् ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका कँडेल २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट वामपन्थी राजनीतिमा प्रवेश गरेका हुन् । उनी तत्कालिन नेकपा (माले)सँग आबद्ध थिए । नेता कँडेल प्रखर वक्तासमेत हुन् ।

अनेरास्ववियुको केन्द्रीय सदस्य, पार्टीको जिल्ला र अञ्चल कमिटी सचिव हुँदै २०४९ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर र २०५१ सालमा प्रनिनिधि सभा सदस्य र २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।  उनी २०५५ सालमा पर्यटन मन्त्रीसमेत भएका थिए । पञ्चायत र शाही शासनकालमा केही महिना जेलजीवन बिताएका थिए ।