२०७७ कार्तिक ९, आईतवार

पप्पु कन्स्ट्रक्सनको लापरवाही, सात वर्षमा पनि भेरीमा बनेन पुल

सुर्खेत। दुई छिमेकी जिल्ला अर्थात् कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशको सुर्खेत–बर्दिया जोड्ने ‘फास्ट ट्रयाक’मा पुल नबन्दा स्थानीयले सास्ती खेप्नु परेको छ । हरिहरपुरमा रहेको भेरी नदीमा पुल नबन्दा छोटो दूरीमा यात्रा गर्न स्थानीयले पाएका छैनन् ।

हरिहरपुरमा रहेको भेरी नदी माथि निर्माण गर्न लागिएको पक्की पुल नबन्दा यात्रुहरू रत्न राजमार्ग ( कोहलपुर–सुर्खेत)को लामो यात्रा गर्न बाध्य छन् । उत्तर–दक्षिण जोड्ने उद्देश्यले आर्थिक वर्ष २०६४÷६५ देखि तेलपानी– भेरीगाउँ–सुर्खेत सडक खण्डको सर्भे थालिए पनि ठेकेदारको लापरवाहीले ‘फास्ट ट्रयाक’ पूरा हुन नसकेको हो ।

सडकको ट्रयाक खोल्ने काम पूरा भए पनि भेरी नदीमा पुल निर्माण थालिएको ७ वर्ष बितिसक्दासमेत अधुरै छ । जसले गर्दा सुर्खेत–बर्दिया सिधा यातायात सम्बन्ध विस्तार हुन सकेको छैन ।

बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमानामा पर्ने रानीघाटमा निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा छ । २०७१ को बाढीले पिलर बङ्ग्याएको भन्दै ठेकेदार निर्मा णबाट पन्छिन खोजेको स्थानीयवासीको आरोप छ । छिटो पुल निर्माण सम्पन्न गर्न स्थानीय बासिन्दाले सडक डिभिजनलाई दबाब दिँदै आएका छन् ।

पुल निर्माणका लागि पप्पु मल्ल जेभी कन्स्ट्रक्सन प्रा.लि. र डिभिजन सडक कार्यालय, सुर्खेतबीच आर्थिक वर्ष २०६८÷६९ मा सम्झौता भएको थियो ।

१४ करोड २९ लाख ७९ हजार २ सय ७८ रुपैयाँ लागत रहेको योजनाअन्तर्गत हालसम्म दुई वटा सपोर्ट पिल्लर मात्र निर्माण गरिएको छ । कम्पनीले २०७२ पुस २९ गते सम्पन्न गर्ने कार्यादेश पाएको थियो ।

डिभिजन सडक कार्यालयले तीन वर्षमा निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता उल्लंघन गरेको भन्दै छिटो काम थाल्न ठेकेदारलाई ताकेता गर्दै आएको छ ।

निर्माण कम्पनीले हालसम्म २ करोड बढी रुपैयाँ भुक्तानी लगिसकेको छ । सुर्खेतबाट बर्दियाको भुरीगाउँ ५० किमि दूरीमा पर्छ । सुर्खेतदेखि ३२ किमि बर्दियाको तेलपानीसम्म सडकको ट्रयाक निर्माण भइसकेको छ ।

गुणस्तरहीन काम गर्ने र समयमै योजना सम्पन्न नगर्नाले देशैभरी बद्नाम बनेको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको पुल निर्माण काय सुर्खेतमा समेत अलपत्र पारेको छ । कन्स्ट्रक्सनले सुर्खेतको भेरी नदी माथि बन्न लागेको पुललाई समेत अछुतो छोडेन । उसले ठेक्का लिएको पुल विगत ७ वर्षदेखि अलपत्र परेको छ ।

निर्माण क म्पनीका े लापरवाहीले सम्झौताअनुसार काम हुन नसक्दा पुल अलपत्र बनेको हो । पहाडको भू बनोटअनुसार पुलहरुको डिजाइन स्टमेट नगरिँदा मोटरेबल पुलहरुको काम प्रभावित भएको छ ।

पुलका डिजाइनअनुसार काम गर्न ठेकदारहरुलाई गाह्रो भएपछि ढिलाई भएको निर्माण पक्षको भनाइ छ । सम्झौता अनुसार पुलको जग बायाँ किनाराको खुल्ला फाउण्डेशन, दायाँ र खोलाबीचको वाल फाउण्डेशनमा निर्माण गर्नुपर्ने हो ।

तर, निर्माण कम्पनीले सडक विभागमा बुझाएको विवरण अनुसार दायाँ किनारा र बीच भागको जग बसाउन समस्या भएको उल्लेख छ ।

पुल निर्माणमा देखिएको अवरोध हटाउन गोताखोर र ब्लाष्टिङ्ग गर्दा पनि नदीको जग बनाउने ठाउँमा लागेको ढुङ्गा फुटाउन नसकिएको निर्माण कम्पनीले बताएको छ ।