२०७७ कार्तिक १२, बुधबार

बसपार्क सञ्चालनमा ढिलाइ

सुर्खेत । निर्माण सम्पन्न भएको चार महिना बिते पनि सुर्खेत सिटी बसपार्क अझै सञ्चालनमा आएको छैन । निर्माण कम्पनीले नगर विकास कोष र कोषले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने आयोजना प्रक्रियागत ढिलाइका कारण सञ्चालनमा आउन नसकेको हो ।

नगरपालिकाका इञ्जिनियर विशाल अधिकारीले बसपार्क अब छिट्टै हस्तान्तरण हुने बताए । ‘‘हस्तान्तरण प्रक्रिया सुरु भइसकेको छ, सम्भवतः असोजको पहिलो सातासम्म हस्तान्तरण भइसक्छ’’, उनले भने, ‘‘हस्तान्तरणपछि कसरी सञ्चालन गर्ने भन्ने मोडालिटीका सम्बन्धमा पनि छलफल भइरहेको छ ।’’ पटक–पटकको म्याद थपसँगै निर्माण कम्पनी चाङ्मिला÷नरसिंहजेभीले चार वर्ष लगाएर अत्याधुनिक संरचना सहितको बसपार्क यही जेठमा सम्पन्न गरेको हो ।

नगर विकास कोषबाट ऋण सहयोगमा निर्माण सम्पन्न भएको आयोजनालाई वीरेन्द्रनगर नगरपालिकाले नगरको गौरवको आयोजनाका रुपमा लिएको छ । सुविधासम्पन्न बसपार्क नहँुदा सुर्खेतबाट सञ्चालित बस, यातायात कर्मचारी तथा यात्रुलगायतले अनावश्यक सास्ती भोग्नुपर्ने बाध्यता थियो । नगर प्रमुख देवकुमार सुवेदीले बसपार्क सञ्चालनमा आएपछि हाल प्रयोगमा आइरहेको बसपार्कलाई मंगलगढी पार्कमा विस्तार गर्ने बताए ।

निर्माण कम्पनी चाङ्मिला÷नरसिंह जेभी र नगर विकास समितिबीच ०७२ माघमा सम्झौता भएको थियो । पन्ध्र महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले चार वर्ष लगाएर सिटी बसपार्क पूरा गरेको हो । ६ करोड ८३ लाख लागतमा बनेको बसपार्कमा ६४ व्यापारिक सटर, दुई पक्की शौचालय, पर्खाल, गार्ड बस्ने घर, टर्मिनल भवन, टिकट काउण्टर लगायतका संरचना छन् । करिब चार हजार ५ सय वर्गमिटर क्षेत्रफल रहेको बसपार्कमा साना–ठूला गरी १२० बस अट्न सक्ने क्षमता रहेको छ ।