२०७७ कार्तिक १४, शुक्रबार

विकासमा दीर्घकालीन सोच आवश्यकः सभामुख शाही

सुर्खेत। कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले विकासका लागि दीर्घकालीन सोचको आवश्यकता पर्ने बताएका छन् ।

शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णाली नदी व्यवस्थापनसम्बन्धी आयोजना गरिएको प्रदेश स्तरीय कार्यशाला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख शाहीले दीर्घकालीन विकासको सोच विकास गर्दै अघि बढेमा मात्रै कर्णालीको विकास सम्भव भएको बताए ।

उनले अहिले छोटो समयका लागि मात्रै विकासे काम गरिदै आएकाले सोचेजस्तो विकास गर्न नसकिएको बताए । कर्णाली नदीसम्बन्धी अध्ययन गरेको संस्था नदी संरक्षण संस्थाले कर्णाली नदी बारेको गरिएको अध्ययन प्रतिवेदन सभामुख शाहीले ग्रहण गर्दै उनले प्रतिवेदन दुरगामी महत्वको भएको बताए ।

‘‘प्रतिवेदन दुरगामी महत्वको छ । यसलाई कार्यान्वयन तहमा लैजान जरुरी छ ।’’, सभामुख शाहीले भने, ‘‘त्यसका लागि जनस्तरमा जनचेतना मूलक काम गर्न जरुरी छ ।’’ उनले सरकार एक्लैले मात्रै विकास गर्न नसक्ने र नदीसम्बन्धी सबै समस्या समाधान गर्न नसक्ने बताए । ‘‘विकास गर्दा जनताका आकांक्षा, अपेक्षा र आवश्यकताबाट सरकारहरु प्रभावित हुने गर्दछन् ।’’

सभामुख शाहीले भने, ‘‘आधारभूत तहसम्मै पुगेर जनचेतना अभिबृद्धि गर्नुहोस् । विकास सम्भव छ ।’’ कर्णाली नदीसम्बन्धी काम गर्दा कर्णालीको धार्मिक, पौराणिक महत्वका बारेमा प्रचार–प्रसार गर्नुपर्नेमा सभामुख शाहीको जोड थियो ।

चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीले कर्णाली नदीको संरक्षण गर्नु महत्वपूर्ण भएको बताए ।

तर नदीको संरक्षणका नाउँमा हिमाली भागको मात्रै संरक्षण गरेर नदीको संरक्षण नहुने उनको भनाइ छ । ‘‘अहिले विश्वमा तापक्रम बढेका कारण हिमालको हिउँ पग्लिरहेको छ । कुनै दिन यस्तो आउन सक्छ जुन दिन हिमालमा हिउँ नै हुने छैन ।’’ उनले भने, ‘‘त्यसैले अब मध्यपहाडी क्षेत्रको संरक्षण गर्न सबै लाग्न जरुरी छ ।’’

दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डा रीले अध्ययन प्रतिवेदनले आफूहरुलाई धेरै फाइदा नहुने बताए । ‘‘प्रतिवेदनले कर्णालीका सभ्यता समेट्न सकेको छैन । दाहसंस्कार गर्दा त्यही पानीलाई जलको रुपमा ग्रहण गर्ने चलन व्याप्त छ । तर हामीलाई राक्षस तालबाट आएको नदी भनेर भ्रममा पारिएको छ । यो भ्रम चिर्न आवश्यक छ ।’’
उनले भने, ‘‘अध्ययनले हामीलाई ज्ञान मात्रै दिएको छ । २०÷२२ वटा हाइड्रोसम्बन्धी लाइसेन्स खारेज गर्ने हैसियत यसले राख्न सक्छ कि सक्दैन ।