२०७७ कार्तिक ९, आईतवार

डिपीआर आतंक बन्द गर

सुर्खेत पश्चिममा रहेको मदन भण्डारी लोकमार्गको डिपीआर बनाउन सुरु गरिएको बताउँदै प्रतिनिधिसभा सदस्य नवराज रावतको एक जम्बो टोली आइतबार बडिड्चौर पुग्यो । उनमा यति फुर्ति देखियो कि सडक निर्माण नै पुरा भएजस्तो गरी उनले पत्रकारको जम्बो टोलीको भरपुर प्रयोग समेत गरे ।

सुर्खेतबाट प्रकाशित हुने अधिकांश पत्रपत्रिकामा उक्त समाचार सोमबार प्रकाशित पनि भयो । समाचार प्रकाशित हुने नै रावतले सफलता हो भन्ने ठानेका पनि हुन सक्छन् ।
प्रदेश सरकारले गतवर्ष धेरै योजनाको डिपीआर बनायो । डिपीआरमा लाखौं रुपैंया खर्च गरेको थियो । तर नतिजा शुन्य नै रह्यो । हरेक योजनाका नाउँमा डिपीआर भन्ने कुरा कमाई खाने माध्यम बन्न पुग्यो । जनता डिपीआर भनेको के हो भन्ने मै अलमलमा छन् । उनीहरुलाई डिपीआर होइन काम भएको हेर्ने मन छ । डिपीआर बनाउनु मात्रै सफलता होइन । बड्डिचौरमा अहिलेसम्म बत्ती पुग्न सकेको छैन । सुखेृतबाट करिब ३० किलोमिटरको मात्रै दुरीमा रहेको उक्त क्षेत्रमा विजुली पुग्न नसक्नु, सडकको अवस्था दयनीय हुनु लज्जा जनक नै हो ।
अहिले जसरी उत्साहित रुपमा राजनीतिक दाउपेच अनुरुप आफुले गरेको भनेर देखाउन सामान्य डिपीआर निर्माणमा चासो लिनु रावतका लागि राम्रो होइन । उनको ध्यान डिपीआर निर्माण भन्दा पनि विकास निर्माणमा तीव्रतामा जानु पर्छ । हरिहरपुरको भेरी नदीमाथि बन्ने पुल अलपत्र अवस्थामा छ । अलपत्र रहेका आयोजनालाई तत्काल कार्यान्वयन गर्नको लागि सांसद रावतले सदनमा आवाज उठाउन जरुरी छ । उनले नउठाएका भने होइनन तर प्रभावकारी रुपमा उठाउन जरुरी भइसकेको छ । दक्ष तथा कुशल राजनीतिक पात्रले डिपीआर तथा अन्य आयोजनाको उदघाटन गर्दै हिडन जररी नै छैन । जनताका पीर मर्कालाई सदनबाट उठाइ समस्या समाधानको पहल मात्रै गरेपनि धेरै हुन्छ । उदघाटन गर्ने त स्थानीय, प्रादेशिक जनप्रतिनिधि छन । उनीहरुलाई जिम्मा दिए हुन्छु ।