बाबुरामको गृहजिल्लामा बन्ने भयो नयाँ फोरम
काठमाडौं, ९ भदौ – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा नयाँ फोरम गठनको तयारी थालिएको छ । गोरखा जिल्लाको समग्र विकासको लागि भन्दै फोरम गठन हुन लागेको हो ।
फोरममा सबै दलका स्थानीय प्रतिनिधि, कलाकार, समाजसेवीलगायत गोरखा जिल्ला जन्मिएर देशका कुनाकाप्चामा रहेर प्रसिद्धि कमाएका व्यक्तित्वहरुलाई समेटिनेछ । ‘विकास सम्भव छ, मेरो सहभागितामा जुटौं आजैबाट म आइसकेँ तपाई नछुट्नु नि’ भन्ने नारा प्रस्ताव गरिएको फोरमबाट युवाहरुलाई दक्ष र आत्मनिर्भर भनाउन प्रयास हुने उक्त फोरमको अभियन्तामध्येका एक कृष्ण घिमिरेले जानकारी दिए ।
‘फोरम कुनै पार्टी विषेशको हुने छैन, विल्कुल युवाहरुलाई सहयोग गर्ने र दक्ष बनाउन आर्थिक फण्डिङ गर्ने प्लेटफर्म बनाउने हाम्रो उद्देश्य हो,’ उनले भने।’ उनका अनुसार फोरममार्फत गोरखाको विकासका लागि पहल गरेर एउटा नमुना जिल्ला बनाउन प्रयास हुनेछ भने व्यक्तित्व विकासका लागि पनि फोरम महत्वपूर्ण हुने विस्वास राखिएको बताए ।
सबै पक्षसँग फोरम निर्माण गर्ने विषयमा छलफल भइरहेको र त्यसले चाँडैनै मुर्तरुप लिने बताइएको छ ।