२०७७ कार्तिक १२, बुधबार

कर्णालीकी पुण्यप्रभा

हुम्ला, जुम्ला अनि मुगु अर्थात् हिमालका छायाक्षेत्र। कतै हिउँ ओढेका सेताम्य चुचुरा। कतै उराठलाग्दा पाखा।

मान्छेका दुःखजत्रा पहाड छन्, पहाडजस्तै मान्छेका दुःख छन्।

महिलाको त झन् उल्कै बिजोग।

दुःखका यी पहाडलाई कसरी छिचोलिन् होला उनले?

एक दिन उनी गाउँमा कतै हिँड्दै थिइन्। खोलाको बीचमा एकजना महिला छटपटाइरहेकी थिइन्। उनको साथमा अर्की एक महिला पूरै अत्तालिइरहेकी।

के भएछ भनेर बुझ्न खोजेको त, ती महिलालाई सुत्केरी व्यथा लागिसकेको थियो।

उनलाई थाहा भइसक्यो अस्पताल पुर्‍याउने समय नै थिएन। उनले खोलामै ती महिलालाई सुत्केरी गराइन्।

आफूले ओढेको सलले बच्चालाई बेरिन् र, गाउँलेहरू बोलाएर सुत्केरी र बच्चालाई अस्पताल पुर्‍याइन्।

ती थिइन्, पूण्यप्रभा देवकोटा, अर्थात् मुगुकी ‘सिस्टर’। उनी अहिले जिल्ला अस्पताल मुगुमा सिनियर अनमी छिन्।

जुम्लाको बोहरागाउँ। उनी त्यहीँ जन्मिइन्। चार छोराको बीचमा उनी एक्ली छोरी।

परिवार केही शिक्षित थियो। त्यसैले पनि उनले स्कुल देख्न पाइन्। दीर्घरोगी उनका बुबा एक दिन थला परे। औषधी गर्न लैजाने ठाउँ कतै थिएन। गाउँको स्वास्थ्य चौकीसम्म पनि बोकेरै लैजानुपर्ने।

बुबाकै औषधिमूलो गर्नका लागि सधैं स्वास्थ्य चौकीबाट मान्छे बोलाउनुपर्थ्याे।

पूण्यप्रभालाई लाग्यो- ‘म पनि यस्तै सुइ लाउने मान्छे बन्न पाए त घरमा कसैलाई बोलाउनु पर्दैनथ्यो होला।’

बाल मस्तिष्कमा अङ्कुराएको ‘सुइ लगाउने’ सपनाले उनलाई अनमीको पढाइतिर पुर्‍यायो।

उनी १३ वर्षकी थिइन्। त्यही बेला उनको बुबा बिते।

कक्षा १० को परीक्षा सकेर उनी सिधै अनमी कोर्समा भर्ना भइन्। २०५३ सालमा भर्ना भएर उनले २९ महिनामा अनमी तालिम सकिन्।

लोकसेवामा नाम निकालेर उनी हुम्ला पुगिन्।

हिँउले छोपेका चुचुरा, हिँउले खाएका बुट्यान अनि उदास र उराठलाग्दा टाकुरा, अरु केही थिएन। जता हेर्‍यो उस्तै, मन त कहाँ बस्थ्यो र? तर, पनि जागिर खानैपर्ने थियो। अनि स्वास्थ्यकर्मी बनेर बिरामीको सेवा गर्ने सपनाले त झक्झक्याइ रहन्थ्यो।

उनको काम थियो गर्भवती महिलालाई सुरक्षित सुत्केरी गराउनु।

तर, महिला स्वास्थ्य संस्थामा आए पो?

‘गर्भ जाँच गराउन पनि आउँदैनथे, सुत्केरी त परैको कुरा भो। एकाध मान्छे आउँथे त्यो पनि सिटामोल लिनमात्रै’ उनलाई सम्झना छ, ‘महिलाहरू त निकै कममात्रै आउने स्वास्थ्य चौकीमा। त्यो पनि एकदमै बिरामी भएपछि मात्रै।’

हुन त, ती स्वास्थ्यचौकी भन्नेमात्रै त हुन्। न कुनै औषधी न डाक्टर।

मान्छेहरूले सुनाउँथे, फलानो ठाउँमा सुत्केरी हुन नसकेर फलानीको ज्यान गयो।

फलानीको बच्चा त जन्मिँदै मर्‍यो। ‘मनै सिरिङ्ग हुन्थ्यो त्यो सुन्दा त’ सम्झनाले नै झस्काउँछ उनलाई ‘त्यस्तो सुन्दा त लाग्थ्यो, मैले सुत्केरी गराएको भए उनीहरू बाँच्ने पो थिए कि?’

तैपनि, हिम्मत हारिनन् उनले। गाउँगाउँ पुगिन् उनी गर्भवती महिला खोज्न। उनीहरूलाई सम्झाइन् बुझाइन्। परिवारलाई पनि सम्झाइन्।

‘गर्भवती महिला खोज्दै गाउँगाउँ पुग्थेँ, कतिको त डेट आइसकेको हुने अनि घरमै मैले सुत्केरी गराउँथे,’ पूण्य भन्छिन्, ‘पछिपछिमात्रै एकाध महिला स्वास्थ्य चौकीसम्म आउन थाले, गर्भवती भएर।’

गर्भ जाँच गर्दागर्दै उनले धेरै सम्झाउँथिन्, ‘सुत्केरी हुने बेला यहीँ आउनु केही डर नमान्नु। लाज मान्नुपर्दैन।’

अहो! कस्तो गाह्रो।

बिस्तारै गर्भवती स्वास्थ्य चौकी आउन थाले। पूण्यप्रभालाई खोज्न थाले। सुत्केरी हुन आउने ती गर्भवतीहरूमात्रै थिएनन्, दुःखका भीर छिचोलेर आएका ती पूण्यप्रभाका खुसीका बहार थिए।

तर, फेरि अर्काे दुःख थियो, सुत्केरी गराउने ठाउँको। भवन थिएन।

‘त्यस्तै, धुलो, माटोमा कपडा बिछ्याएर पनि मैले धेरै सुत्केरी गराएको छु।’

बच्चा जन्माउन नसकेर मरिरहेका आमाहरू अनि जन्मिन नसकेर मरिरहेका शिशुहरूका लागि पूण्यप्रभा त भगवानै लाग्थिन्। धेरै आमाहरूले जिन्दगी पाए। धेरै शिशुहरूले नयाँ संसार देख्न पाए।

हुम्ला पुगेको पनि दुई वर्ष पुग्यो। त्यही बेला उनको सरुवा जुम्ला अस्पतालमा भयो।

‘यहाँ पनि उस्तै थियो। बजारनजिकका महिला आउँथे नत्र, गाउँगाउँमा गर्भवतीहरू खोज्दै हिँड्नुपर्थ्याे,’ भोग्नुपर्ने त महिलालाई नै हो, प्रसव पीडा ‘यहाँ पनि महिलाहरूको अवस्था त उस्तै थियो। डाक्टर वा स्वाथ्यकर्मीले सुत्केरी गराउँदा त देउता रिसाउँछन् पो भन्थे।’

केही वर्षपछि उनी फेरि मुगु पुगिन्।

फरक केही थिएन। ठाउँमात्रै फरक थियो। बाटोहरू त उस्तै हुन्। दुःख उस्तै थिए।

महिलाका पीडा उही थिए, दुःखका पहाडहरू उत्रै र उस्तै थिए।

गाउँमा स्वास्थ्य संस्थाहरू थिएनन्। सदरमुकाममा एउटा स्वास्थ्यचौकी थियो। उनको जागिर त्यहीँ भयो। डाक्टर थिएनन्।

बाहिरबाट गएका डाक्टर त्यहाँ बस्दै नबस्ने। महिनामा एक दिनमात्रै पनि डाक्टर देख्न मुस्किल हुन्थ्यो।

सुत्केरी गराउने काम भए पनि त्यहाँ त उनले झन सबै बिरामी हेर्नुपर्ने भयो।

बिरामीलाई बाहिर पठाउन खोज्यो, मान्दै नमान्ने।

‘हाम्लाई मारे पनि यहीँ मार्नुस्, निको पारे नि यहीँ पार्नुस् बाहिर जान्नम्,’ दुःख कम्ता थिएन। न कुनै साधन न कुनै स्रोत। ‘सुत्केरी त हेर्थे नै, डाक्टर नभएपछि त झन् सबै बिरामी हेर्नुपर्ने हुन्थ्यो। मैले पनि जानेको उपचार गर्थे। काम त त्यही नै हो नि,’ प्रभा भन्छिन् ‘आफूले जानेको उपचार गर्दैमा मानिसको ज्यान बाँच्छ भने किन नगर्नु त?’

त्यही बेला उनको बिहे भयो। घरमा थाहा थिएन। एकजना थिए, सिएमए, अच्युत भण्डारी। माया, प्रीति बस्यो। बिहे भयो। अच्युतले पछि त्यो पेसा छोडे। अहिले पत्रकार भएका छन्।

तर, पूण्यप्रभा भने निरन्तर लागिरहिन्। गर्भवती खोजिरहिन्, भेटेजति र, स्वास्थ्य संस्थामा आएजतिलाई सुरक्षित सुत्केरी गराइरहिन्।

सदरमुकामबाट दुई दिन हिँडेर पुगिने ठाउँ, मुगुको खत्याड, बिहेपछि उनको घर भयो।

गाउँ पनि उस्तै थियो।

वरिपरिका सात गाउँमा उनीमात्रै एक्लो स्वास्थ्यकर्मी थिइन्। ज्वरो देखाउनेदेखि सुत्केरी गराउनेसम्म उनै थिइन्।

‘कहिलेकाहीँ बिदामा घर जान्थेँ, घर पुग्दा नपुग्दै बिरामीको भीड लाग्थ्यो। उनीहरू स्वास्थ्यचौकी जानै नमान्ने’ घर आउँदा जाँदा कतिलाई त उनले बाटोमै सुत्केरी गराएकी छिन्।

डाक्टरहरूले सक्दैन भनेर माया मारेका कयौँ केस उनले सल्टाएकी छिन्।

एकपटक एकजना महिला थिइन्। उनको त्यो दशौं गर्भ थियो। स्वास्थ्य चौकीमा डाक्टरले ‘सकिँदैन’ भने। बच्चा निकाल्दा आमाको ज्यान जान्थ्यो, आमालाई बचाउँदा बच्चा मार्नुपर्ने।

कस्तो धर्मसङ्कट। प्रभाले आँट गरिन्, ‘आमा पनि बचाउँछु, बच्चा पनि बचाउँछु।’

डाक्टरसँग सल्लाह गरिन्। भनिन् ‘एकपटक म प्रयास गर्छु।’

उनी सफल भइन्। बच्चा पनि बाँच्यो आमा पनि। अहिले त्यो बच्चा १२ वर्ष पुगिसकेको छ। आमाको स्वास्थ्य पनि राम्रो छ।

अर्की एकजना महिला एक दिन स्वास्थ्यचौकी आइन्। घरमा उनकी बुहारी गर्भवती थिइन्, यता सासुचाहिँ व्यथा लागेर स्वास्थ्यचौकीमा। त्यसमाथि पेटमा जुम्ल्याहा बच्चा।

‘हेर्नुस् न कस्तो चेतना छ हाम्रोमा। कति उमेरसम्म बच्चा जन्माउने भन्ने नै केही छैन। जस्तो हुन्छ हुन्छ। सब भगवान भरोसा छ।’

डाक्टरले फेरि भने, ‘यो उमेरमा दुई/दुईवटा बच्चा? त्यो पनि बच्चा उल्टा छन्। हुँदैन म सक्दिनँ। बाहिर लैजानुस्।’

लैजानु पनि कहाँ र? कि सुर्खेत कि नेपालगन्ज। गाडी पर्याप्त थिएन। प्लेन चल्ने त औंसीपूर्णिमा मात्रै हो।

हिँडेर जान त पूरै असम्भव। बिरामीका आफन्तले भने, ‘बरु मरे पनि यहीँ मर्ने। बाहिर त कतै नजाने।’

फेरि पूण्यप्रभाले हिम्मत गरिन्, ‘एकपटक प्रयास त गरौँ। बचाउन पो सकिन्छ कि?’

डाक्टरले पनि साथ थिए। बच्चा जन्मिए। तर, एउटा बच्चालाई बचाउन सकिएन। कहिलेकाहीँ सुत्केरीको मृत्यु वा बच्चाको मृत्युका खबरले प्रभालाई साह्रै पिरोल्छ।

तर, के गर्नु र! पहाड बनेर धुम्म परेका मान्छेका दुःख पनि अनेक हुने।

स्वास्थ्य चौकी पुग्नै दुई दिन लाग्छ। अझै पनि गाउँगाउँमा बाटो छैन। स्वास्थ्य चौकी छैन र यातायातका साधन छैनन्।

शिक्षा र चेतना पनि उस्तै छ। ‘अझै पनि हामीले बुझाउन सकिनौँ कि जस्तो लाग्छ। मानिसहरू अझै पनि बुझिरहेका छैनन्। स्वास्थ्य संस्थामा आएर सुत्केरी गराउनुपर्छ भनेर। अझै धेरै आमा र शिशुहरूलाई बचाउन सकिन्थ्यो’

प्रभालाई अझै लाग्छ, ‘यस्तो ठाउँ भनेर धेरै मानिस बस्न मान्दैनन्, तर मलाई त यस्तै ठाउँका मानिसको सेवा गर्दागर्दै मर्न मन छ।’

सुत्केरी गराउने पूण्यप्रभामाथि अहिले अर्काे पनि जिम्मेवारी थपिएको छ, ‘सुरक्षित गर्भपतन।’ र, यो जिम्मेवारी पनि उनले निभाइरहेकी छिन्।

अहिले पूण्यप्रभा इन्टिग्रिटी आइडलको छैटौं संस्करणमा उत्कृष्ट पाँचसम्म पुगेकी छिन्।

अकाउन्टिबिलिटी ल्याब नेपालले देशभर गरेको पब्लिक सर्वेक्षणमा सहभागी १ हजार १ सय १९ कर्मचारीमध्येबाट पूण्यप्रभा उत्कृष्ट पाँचको छनोटमा परेकी हुन्।

गजेन्द्र बोहोरा, नेपालन्युज