२०७७ कार्तिक १५, शनिबार

कर्णालीमा अझै बहुपति प्रथा कायमै

माथिल्लो डोल्पाका केही गाउँपालिकामा बहुपति र पाण्डु प्रथा अझै चल्दैछ । तिब्बती संस्कार प्रचलनमा रहेका क्षेत्रमा त्यस्ता पुराना प्रथा हट्न सकेको छैन ।

डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका केही परिवारमा अझै बहुपति प्रथामा छन् । जेठो दाजुले विवाह गरी भित्र्याएकी दुलहीलाई सबै भाइले श्रीमति मान्ने चलन नै बहुपति प्रथा हो । डोल्पोबुद्ध गाउँपालिका–१ का वडाध्यक्ष क्याल्पो थापा भोटेले चेतनाको कमीले यो प्रथा अझै चलिरहेको बताए ।

‘घरको धनसम्पतीमा अंशवण्डा लाग्छ र गरिब भइन्छ भन्ने मानसिकता अझै छ,’ उनले भने, ‘यसले गर्दा बहुपति प्रथा हटन नसकेको हो ।’ सिमेनकी ट्याङ्गा लामाले यो चलन हट्न अझै समय लाग्ने बताइन् ।