२०७७ मंसिर २०, शनिबार

टहरोमा शिक्षा, टहरो मै खुसी

rtसुर्खेत, भदौ १० ।
सुनसान देखिने जंगल । बिग्रिएको सडक । गाडि झ्याप्प रोकियो । सानासाना मान्छेहरुको एकहोरो उल्लाहसको आवाज घन्कियो । हरिहरपुर–५ गिरिघाटमा रहेको बालबालिकाको आवाज थियो त्यो । जंगलमा रहेको टहरो नजिक एउटा गाडि रोकिदा उनीहरु खुसी देखिन्थे । टहरो त उनीहरुको आशाको दियो नै रहेछ ।

टहरोमा पटक पटक मान्छेहरु आएर उनीहरुलाई राहात दिन्छन । चिल्लो गाडि देख्दा उनीहरु सधै खुसी हुन्छन । केही दिन अगाडि कर्णाली बचाउन अभियानको गाडि पनि त्यही रोकियो । उनीहरु गुर्र दौडिए । गाडिको अगाडि , पछाडि, यताउता हेरे । केही पोकाहरु देखे पछि उनीहरु हर्षित भए ।
गाडिका पोका देखेपछि कक्षा २ मा अध्ययनरत कविता वि.क.ले खुसी थाम्न सकिनन् । उनले सबैलाई ठुलै स्वरमा भनिन्–‘‘आज पनि कापी, कपडा पाइने भयो ।’’ सबै बालबालिकाहरु गाडि मै झुण्डिए । एकछिन निकै रमाए । कोही टहरो भित्र बाटै मुस्कुराइरहे । २०७१ म आएको बाढीले घरबस्ती नै बगाइदिएपछि हरिहरपुर गाविसको सिस्नेरी र डोप्काबाट विस्तापित भएका उनीहरु अहिले गिरिघाट शिविरमा बस्दै आएका छन् । उनीहरुले गिरिघाटको सडक छेउको जंगलको कटेरोमा पढिरहेका छन् । सडक छेउ मै भएकोले उनीहरुलाई राहत वितरण गर्न विभिन्न संघसंस्थाहरु पुग्ने गर्छन ।

टहरोमा बस्न थालेपछि पटकपटक बालबालिकाहरुका लागि राहात आउने गरेको छ । सरकारी लगानीमा उनीहरुलाई केही भएको छैन तर गैरसरकारी संघसंस्थाहरु र व्यक्तिहरुले राहत स्वरुप सहयोग गरिरहेका छन् । टहरो पनि विभिन्न संघसंस्थाहरुले नै बनाइदिएको र त्यही टहरो नै बालबालिकाहरुका लागि शिक्षा आर्जन गर्ने थलो भएको शिक्षकहरुले बताएका छन् । सिस्नेरीको प्राविका प्राध्यानाध्यापक धनबहादुर वलीले टहरोमा भएपनि बालबालिकाहरुले शिक्षा लिइरहेको र खुसी भएको बताए ।

सडकको छेउमै टहरको निर्माण गरिएकोल पटकपटक राहत पाउने हुँदा बालबालिकाहरु उत्साहित हुने र सबै दुःखहरु बिर्सने गरेको उनको भनाई छ । ‘‘टहरोमा पढिरहेकाछन्, तर यही टहरोले उनीहरुलाई खुसी दिएको छ, उनीहरु खुसी छन्,’ उनले भने–‘जसोतसो पढेकै छन्, कहिलेकाँही राहात वितरण हुन्छ, यसले पनि सहयोग पुगेको छ ।’’ अहिले यो कटेरोमा प्राथमिक तहका ९२ जना र शिशुकक्षामा २१ जना बालबालिकाहरुले अध्ययन गरिरहेका छन् ।

बाढिका कारण हरिहरपुरमा मात्रै २६ जनाको मृत्यु भएको थियो । अहिले डोप्का र सिस्नेरीका तीन सय ५२ जना पुरुष र तीन सय ४० जना महिलाहरु गिरिघाट शिविरमा बसिरहेका छन् । लामो समय वितिसक्दा पनि उनीहरुको व्यवस्थापन हुन नसक्दा अभावहरु बढ्दै गएका छन् । शिविरका अध्यक्ष रामचन्द्र पुरीले बालबालिकाहरु र महिलाहरु बाहेक धेरै पुरुषहरु शिविरबाट पनि विस्थापित भइसकेको बताए । बालबालिकाहरुलाई पढाउन समस्या भएको भन्दै उनले टहरोबाट उनीहरुले पाएको खुसी धेरै दिन टिक्न नसक्ने बताए । केही पीडितहरुले शिविर छोडेर भारत गइसकेको भन्दै उनले बालबालिकाहरुलाई पनि उतै लिदा उनीहरुले टहरोबाट देखेको खुसी पनि टुट्ने बताए ।

गाविस सचिव केशरबहादुर डांगिले सरकारले बाढिपीडितहरुको व्यवस्थापनमा ढिलाई गरेका कारण शिविरहरुमा निराशा छाएको भन्दै तत्काल व्यवस्थापन गर्नुपर्ने बताए । गाविसले मात्रै उनीहरुका समस्या समाधान गर्न नसक्ने भन्द्यै उनले बालबालिकाहरु नै पढ्न नपाउने अवस्था सिर्जना हुने भएकोले उनीहरुको शिक्षाका लागि पनि ध्यान दिइनुपर्ने बताए ।