२०७७ कार्तिक ५, बुधबार

चामुण्डाविन्द्रासैनीमा एक प्रतिनिधि एक संरक्षण बन: ‘आऊ पढ, कमाऊ र लैजाऊ’ पनि

सुर्खेत ।
ग्लोबल वार्मिंग कम गर्न चामुण्डा विन्द्रासैनी नगरपालिकाले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाका अनुसार जनप्रतिनिधि जनताका मात्र होइनन जनावरका पनि हुन भन्ने मुल नाराका साथ नगरपालिकाले यो वर्ष पाँच सय भन्दा बढी वर पिपलका विरुवाहरु रोपेको छ ।

१००८ ओटा बरपिपल रोप्ने योजनाका साथ नगरपालिका अघि बढेको नगर प्रमुख सुर्यबहादुर शाहीले बताए । ‘अहिले मानिसले रोपेका फलफूल जनावर तथा चराहरुलाई खान नदिएका कारण र जंगल मासिदै गएका कारण उनीहरुको बासस्थान कम हुँदै गएको छ ।’ उनले भने, ‘सोही समस्या समाधान गर्न र उनीहरुको बासस्थान बचाइ राख्न हामीले यो कार्यक्रम लागु गरेका हौं ।’ उनले बरपिपल वातावरणका लागि संजीवनी भएको र जनावरका लागि आहारा तथा बासस्थानका लागि महत्वपूर्ण भएको बताए । ‘अहिले बस्तीमा बाँदर तथा अन्य जीवजन्तु आउनुको मुख्य कारण उनीहरुको आहारा मासिनु नै हो ।’ उनले भने, ‘बरपिपलले उनीहरुको आहारा दिने भएका कारण उनीहरु गाउँमा आउन नसक्ने हाम्रो अनुमान छ ।’

एक प्रतिनिधि एक संरक्षण बन

नगरपालिकाका नौ वटा वडाका ४५ जना जनप्रतिनिधिले अहिले ४५ ओटा बन संरक्षण गरिरहेका छन् । एक वडा एक आयमुलक जंगल बनाइएको छ । एक वडा एक नर्सरी बनाइसकिएको छ भने उक्त नर्सरीमा विरुवाहरु उत्पादन भइ विक्री तथा वितरण भइसकेको नगर प्रमुख शाहीको भनाई छ ।

यस्तै नगरपालिकाले एक वडा एक आयमुलक मैत्री हरियाली सडक निर्माण गर्न सुरु भएको छ । ‘हरियाली सडक भन्नाले सडकको दुवैतीर आयमूलक विरुवाहरु रोप्ने जस्तै विभिन्न प्रजातीका फलफुल, तेजपत्ता जस्ता विरुवाहरु रोप्ने गरेका छौं ।’ उनले भने, ‘ताकी त्यसले उक्त क्षेत्रका जनताको आय बढाउन सहयोग गरोस र हरियाली पनि बाँचिरहोस ।’ देश भरमै सबैभन्दा पहिलो जलचर संरक्षण ऐन ल्याएको नगरपालिकाले वातावरण संरक्षण कार्यक्रम लागु गरेको छ । नगरको वडा नं. ३ मा रहेको एघार एकड जमिनमा पार्क बनाउन डिपीआर तयार भइसकेको उनको भनाई छ । जो कर्णालकिो सबैभन्दा ठूलो पार्क रहेको नगरप्रमुखको दाबी छ ।

‘आऊ, पढ, कमाएर घर जाऊ’

नगरपालिकाले आइएस्सी एजी पढन चाहने विद्यार्थीलाई लक्षित गर्दै आऊ, पढ, कमाएर घर जाउ भन्ने नारा अघि सारेको जनाएको छ । ‘हामीले आइएस्सी एजी पढन चाहने विद्यार्थीबाट शुल्क लिने छैनौं ।’ उनले भने, ‘सुरुमा भर्ना शुल्क लिने र त्यसपछि उनीहरुलाई नै काममा लगाएर आम्दानी गर्न लगाउने योजनाका साथ २८७ रोपनी जग्गा लिइसकेका छौं ।’ विद्यालयमा अध्ययन गर्ने र बाँकी रहेको समयमा विद्यार्थीहरुले त्यँहा तरकारी तथा अन्य उत्पादन गरेर फलाएको खण्डमा नगरपालिकाले विक्री गरिदिने र सो वापतको रकम सम्वन्धित विद्यार्थीको खातामा राखिदिने व्यवस्था मिलाइएको नगरप्रमुख शाहीको भनाई छ ।

त्यसकालागि तरकारी संकलन केन्द्र खोलिसकिएको छ । यसका अलावा चामुण्डा माविलाई नमूना विद्यालय बनाउन प्रयास गरिएको र सो प्रयास सफल भएका कारण विद्यालयमा कम्तीमा पचास करोड आउने निश्चित भएको उनको भनाई छ । ‘प्रत्येक वडामा बाल शिक्षाको व्यवस्था गरेका छौं ।’ उनले भने, ‘यसका अलावा स्थानीय पाठ्यक्रम र अभिभावक शिक्षा माला केहि दिनमा नै प्रकाशित गर्ने तयारीमा हामी छौं ।

स्थानीय तहको आवश्यकता अनुसारको कस्ता विषय बस्तु अध्यापन गराउँदा सीपयुक्त जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने कुरालाई ख्याल गरेर पाठ्यक्रम निर्माण गरेका छौं ।’ पाठ्यक्रम लागु भइसकेपछि युवाहरु स्वरोजगार बन्ने गरी शिक्षा पाउने र भारत तथा अन्य प्रदेश धाउन प्रचलन अन्त्य हुने नगरपालिकाको अपेक्षा छ । हाल उक्त नगरपालिकाका ७० प्रतिशत भन्दा बढी युवाहरु भारतका विभिन्न शहरहरुमा ज्याला मजदुरी गर्न जाने गरेका छन् ।

गाडी नकिन्ने मेयर

दैलेख जिल्लाका एक मात्र नगरप्रमुख हुन शाही, जसले दुइ वर्षसम्म गाडी नै खरिद गरेनन् । बरु उनले निर्वाचित भएको पाँच दिनमा नै एम्बुलेन्स किन्ने निर्णय गरे, यस्तो निर्णय गर्ने उनी देशकै पहिलो प्रमुख भएको दाबी गर्छन । कर्णाली प्रदेशमा सबैभन्दा पहिले एम्बुलेन्स भित्र्याउने नगरपालिका पनि चामुण्डाविन्द्रासैनी नगरपालिका नै हो ।

तर अहिले उनी संघीय सरकारले उपहार दिएको गाडी चढन सुरु गरेका छन् । ‘नगरपालिकाको बजेट जनताकै लागि खर्च गर्ने मनसायका साथ आफुले गाडी खरिद गरेको थिएन ।’ उनले भने, ‘अहिले संघीय सरकारले एक गाडी दिएको छ सोही गाडी प्रयोग गरिरहेको छु ।’

नगरपालिकाले हरेक महिना ज्येष्ठ नागरिक, नवजात शिशु, गर्भवती महिला र अपांगता भएकाहरुको नियमित स्वास्थ्य जाँच गर्न घरमै स्वास्थ्यकर्मी पठाउने गरेको छ । प्रत्येक वडामा दुइ ओटा शहरी स्वास्थ्य क्लिनीक स्थापना भइ स्वास्थ्य सेवा प्रवाह गरिरहेको नगरपालिकाले विन्द्रासैनी स्वास्थ्य चौकीलाई १५ शैयााको अस्पतालको रुपमा विकास गर्न सुरु भइसकेको नगर प्रमुखको भनाई छ । यसका अलावा तीनओटा बजेट ल्याइसकेका उनले हरेक स्वास्थ्य कार्यालय, विधालय, स्वास्थ्य क्लिनीकमा मोटरबाटो पुगिसकेको छ ।

विभिन्न पकेट क्षेत्र घोषणा र कार्यान्वयन

नगरप्रमुख शाहीका अनुसार सबैभन्दा पहिले कृषिको विकास गर्नुपर्छ र जनतालाई आत्मनिर्भर बनाउन तब मात्र सकिन्छ भन्ने लागेर विभिन्न पकेट क्षेत्र घोषणा गरि कार्यान्वयनमा ल्याइएको दाबी गरे । ‘ओखर पकेट क्षेत्र, टिमुर पकेट क्षेत्र, आँप पकेट क्षेत्र तोकि काम अघि बढिसकेको छ ।

केहि वर्षमै यसले नतिजा ल्याउने छ ।’ उनले भने, ‘आलु पकेट क्षेत्र, तरकारी पकेट क्षेत्र फस्टाइरहेको छ ।’ उनले पशुपालनको क्षेत्रमा पनि नगरपालिकाले विभिन्न सरकारसँग सहकार्य गर्दै लगानी गरिरहेको बताए । ‘हामीले अहिले दुग्ध डेरी स्थापना गर्न बजेटको व्यवस्था गरिसकेका छौं ।’ उनले भने, ‘त्यसले गाइ भैंसीपालन गर्ने किसानको दुध खेर जान नदिने र आय बढने मेरो अपेक्षा छ ।’

‘फराकीलो बाटो, फराकीलो नगर फराकीलो मन’

फराकीलो बाटो, फराकीलो नगर फराकीलो मन भन्ने मुल नाराका साथ नगरपालिकाले बाटो फराकीलो बनाउने अभियान सुरु गरेको छ । सांगेतडा देखि पाल्तसम्मको करिब ४० किलोमिटर सडकलाई फराकीलो बनाइएको छ । यो वर्ष विभिन्न निकायसँगको सहकार्य तथा समन्वय गर्दै ग्राभेल तथा कालोपत्रे गर्ने योजना छ ।

यो सडक सबै वडाको बीचबाट लगिएको नगरप्रमुखको भनाई छ । दैलेखकै सबैभन्दा फराकिलो बाटो यहि भएको उनको दाबी छ । कुन्डाँडामा बसपार्क निर्माण तथा टेम्पोपार्क निर्माण भइसकेको उनले बताए । ‘यसका अलावा हरेक वडामा खेल मैदान निर्माण गरिसकिएको छ भने अहिले हरेक टोलमा खेल मैदान बनाउने नीति ल्याइएको छ ।’ उनले भने, ‘मैदान नै मैदानको नगरको रुपमा नगरलाई लिन सकिन्छ ।’

कर्णाली नदीबाट लिफ्ट गर्दै खानेपानी आयोजना निर्माण भइरहेको छ । झण्डै १४ करोडको लगानीमा सुरु भएको उक्त आयोजनाबाट २००० मिटर भन्दा बढी उचाइमा पानी लगिनेछ र सो आयोजनाबाट वडा नं. ५, ६, ७, ८ र नौ वडाका हजारौं जनता लाभान्वित हुने अपेक्षा नगरपालिकाको छ । खानेपानीको हाहाकार झेल्दै आएको नगरपालिकामा मझुवा बृहत खानेपानी सञ्चालनमा आइसकेको छ र त्यसले सबै वडाका केहि भूभागहरु समेटेको नगर प्रमुख शाहीको भनाई छ । जबमुकाँध लिफ्ट खानेपानी आयोजनाको निर्माण सम्पन्न भइसकेको छ भने अन्य साना खानेपानी आयोजना निर्माण भइ सञ्चालनमा आइसकेको नगरप्रमुख शाहीको भनाई छ ।

नगरप्रमुख छात्रवृत्ति कोष

नगरपालिकाले गरिब, जेहेन्दार विद्यार्थीका लागि नगरप्रमुख छात्रवृत्ति कोष स्थापना गरेको छ । ‘हाललाई हामीले उक्त कोषमा चार लाख बजेट राखेका छौं ।

इन्जिनियर, डाक्टर पडन चाहने गरिब विद्यार्थीलाई हामी सोही कोषबाट छात्रवृत्ति दिने योजनामा छौं ।’ उनले भने, ‘तर अहिलेसम्म कोही पनि गरिब विद्यार्थी आएका छैनन् ।’ उनले आफुले सबैलाई चिन्ने भएका कारण पनि नआएको हुनसक्ने अनुमान लगाए । ‘गरिब विद्यार्थीले नामै निकाल्न मुस्किल हुँदो रहेछ ।’ उनले भने, ‘धनिलाई म त्यस्तो छात्रवृत्ति दिदैं दिन्न । त्यसैले होला कोही पनि नआएका ।’