२०७७ कार्तिक ८, शनिबार

बाँदर हेरालुलाई वडा कार्णलयले मासिक ५ हजार तलब

कालिकोटको महावै गाउँपालिका– ७, राम्नीमा बाँदर हेरालुलाई वार्षिक तलब दिने निर्णय गरेको छ । स्थानीयले बाँदरले बालीनाली सखाप पार्न थालेको गुनासो धेरै नै आउन थालेपछि वडा कार्यालयले बाँदर हेरालुलाई वार्षिक ६० हजार दिने घोषणा गरेको हो ।

राम्नी गाउँमा रहेका ६ सय परिवारको बाली बाँदरले खान थालेपछि स्थानीयले वडा कार्यालयमा बाँदर हेरालुका लागि बजेटको व्यवस्था गर्न माग गरेपछि नगरपालिकाले बाँदर हेरालुका लागि बजेटको व्यवस्था गरेको हो ।

स्थानीयले वर्षे बाली र हिउँदे बालीका रूपमा लगाउने गहुँलगायतका बाली बाँदरले खाइदिने गरेपछि वडा कार्यालयमा गुनासो गरिएको वडा सचिव अक्कलबहादुर शाहीले बताए । उनले भने, ‘बादरले बाली सखाप पारेको भन्दै स्थानीयले क्षतिपूर्तिको मागसहितको निवेदन वडा कार्यालयमा पेश गरेकाले हेरालुका लागि रकम छुट्याइएको हो ।’

बाँदर हेरालुलाई मासिक ५ हजारका दरले एक जनालाई वार्षिक ६० हजार दिने गरी बजेट विनियोजन गरिएको सचिव शाहीले बताए ।