२०७७ कार्तिक १५, शनिबार

दलितबाट दलित नै विभेदमा

जिल्लाको बराहताल गाउँपालिका–४ निवासी सन्त सार्कीले दलितभित्रकै कामी समुदायले आफूलाई जातीय विभेद गरेको अनुभूति गर्छन् ।

कामीले घरभित्र लैजान नसकेको र पानी छुन नदिएको बताउँछन् उनी ।

सबै जातजाति समान हुनुपर्नेमा आफ्नै समुदायबाट भेदभाव किन हुन्छ ?’ उनले प्रश्न गरे । सुर्खेतमा सार्कीले कामीसँग बिहेवारी गर्न सक्ने अवस्था समेत नरहेको उनी बताउँछन् ।

चौकुने गाउँपालिका धामीसैनका टेक मिजार दलितभित्रै विभेद र छुवाछूतको अवस्था रहेको बताउँछन् । ‘हामी कोही ३ दिने त कोही १३ दिने किरीया गर्दै आएका छौं । ३ दिनेको छोरीसँग १३ दिनेले बिहे गर्दैनन्,’ उनले भने, ‘३ दिने हामीभन्दा तल्लो जात भनिँदै आएको छ ।’

अन्य जाति समुदायसँग लडेर जानु राम्रो भएपनि सबैभन्दा पहिले दलित समुदायबीचको जातीय खाडल तोड्नुपर्ने उनले बताए । ‘जबसम्म हामी एक हुन सक्दैनौं, हामी दलितबीच भेदभाव कायम रहिरहन्छ, तबसम्म अन्य समुदायसँग लड्नु बेकार छ,’ उनले भने । सुर्खेतमा दलित समुदायका कामी, टमटा, लोहार, दमाई, सार्की, वादी जातिको बसोबास छ ।

सबैभन्दा पहिले दलित समुदायभित्रै एकता हुन जरुरी रहेको चौकुने–६ का जगत टमटाले बताए । ‘हामीले चाहेर पनि आफ्नै समुदाय भित्रबाट विवाह गर्न सकेका छैनौं,’ उनले भने, ‘अब यसका लागि हामीले नै अघि बढ्नुपर्छ र जबसम्म दलित समुदाय एक भएर अघि बढ्न सक्दैन, तबसम्म छुवाछूत समस्या हल हुँदैन ।’

पछिल्लो समय युवा पुस्तामा छुवाछूतको भेदभाव कम हुँदै गएको उनले बताए । ‘विगतमा भन्दा अहिले छुवाछूत कम भएको छ,’ उनी भन्छन्, ‘निर्मुल चाहिँ भइसकेको छैन ।’

कानून व्यवसायी दूर्गा सापकोटा राज्यले कडा कानून बनाएपनि पालना गर्नेले नगरेका कारण छुवाछूत प्रथा समाजमा रहिरहेको बताउँछन् । ‘कम्तिमा आफ्नै समुदायबाट छुवाछूत तथा भेदभाव हटाउनुपर्ने थियो । दलित समुदाय सबै एक भएर अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था आएको छ,’ उनी भन्छन्, ‘हामीमा अरुलाई कानून पालना गरेन भन्ने कुरा सजिलो लाग्छ तर आफूले पालना नगरेपनि हुन्छ भन्ने भावना हाबी भइरहेको छ ।’

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले छुवाछूत गर्नेविरुद्ध कडा कारवाही गरिने बताए । ‘मानव–मानवबीच हुने विभेद कानूनले स्वीकार्दैन,’ उनले भने, ‘हामी कानूनलाई कडाइका साथ लागू गर्छौं र यस्ता कुप्रथालाई न्यूनीकरण गर्दै लैजान्छौं ।’