२०७७ कार्तिक १५, शनिबार

कर्णाली प्रदेश प्रमुखमा कलौनी सिफारिस: प्रदेश प्रमुख नियुक्तिमा फेरिपनि कर्णाली नै हेपियो

सुर्खेत ।
कर्णाली प्रदेशका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले नेकपा सचिवालयको बैठकले प्रदेश प्रमुख चयनमा कणाृली प्रदेश लाई हेपिएको आरोप लगाएका छन् । चितवन जिल्लाबाट दुइ जना प्रदेश प्रमुख बन्दा कर्णाली प्रदेशबाट एक जना पनि पर्न नसक्नु अच्चम भएको नेताहरुको भनाई छ । नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रदेश प्रमुख नियुक्तिमा कर्णालीका नेताका लागि के योग्यता चाहिन्छ भन्दै प्रश्न गरेका छन् । सचिवालयको निर्णय पश्चात छोटो प्रतिक्रिया लेख्दै सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य लागेको छ । अन्तका मेयर हारेकाको योग्यता पुग्दोरहेछ । तर, कर्णालीकालाई योग्यता पुग्न केके चाहिने रहेछ ?’

नेता रिजालले मेयरमा हारेकालाई पनि प्रदेश प्रमुखका सिफारिस गरिएको रिजालले दाबी गरेका छन् । नेकपाले प्रदेश प्रमुखमा सिफारिस गरेकामध्ये नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका विष्णु प्रसाई २०७४ सालको स्थानीय तह निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरमा पराजित भएका थिए । उनले यसैलाई इंगित गर्दै यस्तो कटाक्ष गरेका हुन् । ‘अन्त मेयर हारेकाको योग्यता पुग्दोरहेछ’, रिजालले भनेका छन, ‘तर, कर्णालीकालाई योग्यता पुग्न केके चाहिने रहेछ ?’
यता, नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरख वोगटीले यसबारेमा प्रतिक्रिया लिन खोज्दा फोन काटे भने कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कंडेलको फोन उठेन । नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज एवम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले समेत फोन उठाएनन् ।

को हुन प्रदेश प्रमुखमा सिफारिस भएका कलौनी ?


नेकपाको सचिवालयले कर्णाली प्रदेशको प्रमुखमा सुदुरपश्चिमका गोविन्द कलौनीलाई सिफारिस गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बसोबास गर्दै आएका गोविन्द कलौनी २०१२ साल जेठ २९ गते बैतडीको तत्कालीन रिम गाविसमा जन्मिएका हुन् । गोविन्दप्रसाद कलौनी पुराना वामपन्थी नेता हुन् । हालसम्म ठूलो अवसर नपाएका उनी तत्कालीन एमालेका उच्च तहका नेता मानिन्छन् । उनले डडेल्धुरा, बैतडी र कञ्चनपुरलाई राजनीतिक कर्मथलो बनाएका छन् ।

२०४८ सालमा डडेल्धुरा, २०५६ मा बैतडी र २०६४ मा कञ्चनपुरबाट निर्वाचनमा लडेका थिए उनी । तीनैपटक चुनाव उनका लागि अनुकूल हुन सकेन । २०३५ सालदेखि ०३७ सालसम्म अनेरास्ववियु (तत्कालीन एकताको पाँचौं) बाट राजनीति सुरु गरेका कलौली २०३९ सालदेखि २०४१ सम्म डडेल्धुरामा तत्कालीन ‘मार्क्सवादी अध्ययन दल’ (नेकपा माले) को प्रमुख भएर काम गरे ।

२०४७ सालमा माध्यमिक विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएर पार्टीको पूर्णकालीन सदस्य बने । २०५० सालमा नेकपा (एमाले) डडेल्धुराका संस्थापक सचिव भएका कलौनी २०५२ सालमा नेकपा (एमाले) बैतडी जिल्ला कमिटी सचिव, २०५४ सालमा नेकपा (माले) केन्द्रीय कमिटी सदस्य (महाकाली इन्चार्ज) हुँदै २०५९ सालमा नेकपा (एमाले) केन्द्रीय लेखा परीक्षण कमिटीको सदस्य भए ।

२०६४ सालमा आठौं राष्ट्रिय महाअधिवेशन आयोजक कमिटी सदस्य रहेका कलौनी २०६५ सालमा आठौं राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दिएका थिए । हाल उनी नेकपाको महत्वपूर्ण जिम्मेवारीमा छैनन् ।
सोमबार बसेको पार्टी सचिवालय बैठकले विष्णु प्रसाईं, शर्मिला त्रिपाठी, धर्मनाथ यादव, अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार र गोविन्द कलौनीलाई प्रदेश प्रमुख बनाउन सिफारिस गर्ने निर्णय गरेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिएका थिए ।