२०७७ कार्तिक ५, बुधबार

गुरुप्रतिको गुनासो

हामीहरुले स्ट्याण्डीङ गाइड भन्थ्यौं प्राध्यापक विद्यानाथ कोइरालालाई । यसो भन्नुमा कारणहरु थिए । वहाँलाई केही कुरा सोध्यो भने उत्तिखेरै हिड्दा हिड्दै बताइदिनु हुन्थ्यो । त्यसको बारेमा आफूलाई जानकारी भएन भने फलानो किताव, शोधपत्र वा प्रतिवेदन हेर्नुहोला भनेर सन्दर्भ सामग्रीको जानकारी दिनु हुन्थ्यो । जहाँको त्यही अर्थात ठाउको ठाउमै समाधान खोजिदिने सहज गुरुको रुपमा लिन्थ्यौं हामीले प्राध्यापक कोइरालालाई । सशरीर भेट्न पनि नपर्ने । फोन ग¥यो भने फोनबाटै समाधान खोजिदिने ।

यात्राको क्रममा भए त्यतिबेलै पनि जवाफ दिइहाल्ने । जिज्ञाशा राख्दाका बखत बस्नका लागि उही नेर कुर्ची वा सोफा भए पनि बस्नै नपर्ने । उभिएरै जवाफ दिन सुरु गरिहाल्ने । इमेल पठायो भने पृष्ठपोषण तुरुन्तै मिलिहाल्ने । असाध्यै फूर्तिलो, सक्रीय र सदावहार । अहिले पनि हामी चेला भन्दा वहाँ जवान देखिनु हुन्छ । छोरीभन्दा आमा तरुनी भने झै । त्यही फूर्तिलोपनले वहाँलाई बूढो हुन दिएको छैन । रोगी हुन पनि दिएको छैन ।

वहाँलाई थेसीसको गाइड बनाएका साथीहरुलाई भाग्यमानी भनेर उपमा दिन्थ्यौं हामी । सहज उपलब्ध हुने । शोधार्थीको समस्यालाई बुझ्ने । गर्नुपर्ने कुराहरु प्रष्ट बताइदिने । सिकाउनु पर्ने कुरा र गर्नुपर्ने काममा कुनै पनि कञ्जुस्याई नगर्ने । चेलाले कतै अल्छीपना देखायो भने आफै जाँगरिलो भएर अल्छी चेलामा समेत उत्साह र जाँगर भरिदिने । वहाँको त्यो शैली र सँस्कार आफ्नो गाइडमा कतै भेटिन्छ कि भनेर घोत्लिएर सोच्यो, केही नभेटिने । त्यतिबेला दिक्दारीको महसुस हुने । फोन ग¥यो, फोन नउठाउने । उठायो भने अर्को दिन वा अर्को हप्ता भनेर टारिदिने । महँगीले गाँजेको शहरमा गाइडलाई भेट्नका लागि एकहप्ता बस्नु पर्ने । भेट भयो भने नकारात्मक कुराहरु बढि गर्ने । छिटोछरितो र राम्रो ग¥यो भने कसैको कपी गरेर ल्यायो कि भन्ने । ढिलो ग¥यो भने यो अल्छीपाराले शोध कार्य हुदैन भनेर हतोत्साहित गर्ने ।

अघिल्लोपटक आफैले भनेका कुराहरु शोधार्थीले गरेर ल्यायो भने पनि पछिल्लो भेटमा भएन भन्ने । सिकाइ भन्दा पनि सास्ती दिने । आफ्नो योजना अनुसार त चल्नै नपाइने । गाइडकै योजनाअनुसार चल्नु पर्ने । शोधार्थीलाई अनावश्यक रुपमा यति दुःख दिने कि कतिपयलाई त बीचैमा शोधयात्रा स्थगन गर्नका लागि विवश बनाइदिने ।

गतिला गुरुहरुको खडेरी परेको यो कालखण्डमा थेसीसको गाइड गर्ने गुरुहरुमा प्राध्यापक कोइराला जस्ता गुरु पाउनु भनेको सिकाइका निम्ति चन्द्रमा दाहिने हुनु जस्तै हो । अहिलेको गाइड गर्ने अधिकांश गुरुहरुले शोधार्थीलाई सिकाइमा भन्दा पनि चाकरीमा दक्ष बनाउन खोजेको हो कि भन्ने आभास हुने गरी व्यवहार गरिन्छ । कतिपय गुरुहरुसँग यनकेणप्रकारेण सामिप्यता गाँसेर नजिक हुन सकियो र विश्वास जित्न सकियोे भने शोधपत्रको गुणस्तरमा त्यति धेरै केरकार गरिदैन । बरु ‘तपाइले गरेको काममा शंका र अविश्वास गर्ने कुरै आउदैन’ भनेर प्रशंसा पाइन्छ । यस्तै विश्वास जितेको पावन अवसर पारेर कतिपय शोधार्थीहरुले कपी पेष्टको फर्मूला अपनाएर पनि थेसीस बनाउने गर्छन् ।

निम्ति विश्वविद्यालयका छेउछाउतिर यहाँ थेसीस पाइन्छ भन्ने पसलहरु पनि चल्छन् । कतिपय उपल्लो तहका शैक्षिक बेरोजगारहरुको पेशा नै निश्चित दरभाउमा थेसीस लेख्ने पनि हुने गर्दछ । यसरी कतिपय शोधार्थीले गाइडको मन जित्न सके र पसलमा थेसीस भेटाउन सके भने त शोधपत्र लेख्ने कुरा दालभात खाए भन्दा पनिसामान्य हुने गर्दछ ।
कहिलेकाही अभागी शोधार्थीहरुले शोधपत्र स्वीकृत गर्ने टिममा पुगेपछि पनि दुःख पाउने गर्छन् ।शोधपत्रको गाइड गर्ने र स्वीकृत गर्ने टिमका अन्य सदस्यहरुको बीचमा पुख्र्यौली विवाद हुँने गर्दछ । ‘त्यसले गाइड गरेको थेसीसलाई सजिलैसँग स्वीकृत गर्नु हुदैन’ भनेर घरैबाट मानसिकता बनाएर जाने गर्दछन् कतिपय शोधपत्र स्वीकृत गर्ने टिमका सदस्य प्राध्यापकहरु । यसो हुनुमा उनीहरुको बीचका विविध खाले मतभेदहरुले भूमिका खेल्ने गर्दछ । विचार र आस्थाको मतभेद । अवसरमा भएको विभेदको मतभेद । क्षमताको उचित कदर नभएको कारणले सिर्जना भएको मतभेद । तथाकथित बौद्धिक दिवालियापनको मतभेद । अन्तर क्याम्पस र अन्तर विश्वविद्यालय बीचको मतभेद । यस्तो लाग्छ कि विश्वविद्यालयको अर्को नाम नै मतभेद हो । यसले गर्दा यसको छेउटुप्पो सम्मको पनि भेउ नपाएको शोधार्र्थी विचरालाई मर्का पर्दछ । आफ्नै अगाडि नाम चलेका प्राध्यापकहरुले तल्लोस्तरमा झरेर एकले अर्काप्रति गरेका टिकाटिप्पणी हेर्दे गर्दा शोधार्थीमा समेत उत्साह होइन कि वितृष्णा बढ्ने गर्दछ ।
कहिलेकाही कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले आफ्ना गुरुहरुप्रति गरेका टिकाटिप्पणीको विश्लेषण गर्दा पनि कतै हाम्रा गुरुहरु साँच्चीकै गुरु जस्ता हुन सकेनन् कि झै महसुस हुन्छ । माष्टर लेवलमा अध्ययन गर्ने विद्यार्थीहरु प्रति समेत साथीको जस्तो ब्यवहार गर्न नसक्ने प्राध्यापकहरुबग्रेल्ती हुँदा रहेछन् । पाठ्यक्रमले तोके बमोजिमका कतिपय कामहरु गुरुले अपेक्षा गरेअनुरुप विद्यार्थीले सम्पादन नगर्दा हप्कीदप्की गर्ने गुरुहरु अहिले पनि कलेज र विश्वविद्यालयका कक्षाकोठाहरुमा भेटिदा रहेछन् । माष्टर लेवलमा अध्ययन गर्ने विद्यार्थीले तोकिएको काम किन गर्न सकेन भन्ने सम्बन्धमा कहिलेकाही समय निकालेर उसँगै भलाकुसारी गर्ने गुरुहरु पाउन कठिन रहेछ ।बरु उल्टै धम्काउने, विद्यार्थीहरुका नकारात्मक पक्षहरुको बढाइचढाइ गरी प्रस्तुत गर्ने, सधैं उनीहरुप्रति शंका र अविश्वासको आँखाले हेर्ने, प्रयोगात्मक प्रकृतिको मूल्याङ्कनमा त्यसको प्रभाव देखाउने र विद्यार्थीहरुसँग खुलेर मुस्कुराउन नसक्ने गुरुहरुको कक्षाबाट साँच्ची के सिक्छन होला विद्यार्थीहरुले ? उच्च तहमा अध्ययनरत विद्यार्थी र गुरुहरुको बीचमा यस्तो टिठलाग्दो सम्बन्ध हुन्छ भने विद्यालय तहको तल्ला कक्षाहरुमा झन यो सम्बन्ध कस्तो हुन्छ होला ? सम्झँदा समेत जीउ जिरिङ्ग हुने गर्दछ ।
प्राध्यापकहरुले शिक्षा दिने नाममा सूचना बाड्ने काम त गरिरहेका छन नै । मष्तिष्कको स्मरणशक्तिको पाटोलाई बढाउने काम पनि गरिरहेका छन् । तथापि जागरण बाँड्ने काम गरिहेका छैनन् । बोधशक्ति बाड्ने काम पनि गर्न सकिरहेका छैनन् । सवैको उन्नति र भलाईलाई मध्यनजर गरी नियति र प्रवृत्तिको परिधिलाई फराकिलो बनाउने कुरा त झन एकादेशको कथा भएको छ । ब्यवस्थापनको बारेमा शिक्षा दिने कलेज र विश्वविद्यालयहरु स्वयम् नै अस्तब्यस्त देखिन्छन् ।अव त विश्वविद्यालयले आफ्ना विद्यार्थीहरुलाई व्यवस्थापन गर्नु प¥यो भने प्रहरी बलको प्रयोग गर्ने प्रचलन आइसकेको छ । यस्तो लाग्छ कि सहमति, सहकार्य, समझदारी, सम्झौता, सहअस्तित्व जस्ता कुराहरु सिकाइदैन विश्वविद्यालयका कक्षाकोठाहरुमा । शिक्षक उत्पादन गर्ने शिक्षा शंकायहरुले समेत देखिने गरी सकारात्मक सन्देश दिन नसकेको अवस्था छ । गुरुलाई शिक्षा दिने गुरुहरु नै सकारात्मक सद्भाव होइन कि विभिन्न विसंगतिहरुका साथ कक्षामा उपस्थित हुने प्रचलनलाई नौलो मानिदैन हाम्रो परिवेशमा ।
एकजना साथीले मलाई सुनाएको, शिक्षा शङ्कायका एकजना प्राध्यापक शिक्षक सेवा आयोगको अन्तर्वार्ता लिने टिममा बस्छन् । विभिन्न उम्मेदवारहरुको अन्तर्वार्ता लिने क्रममा एकजना उम्मेदवार यस्तो आउछिन जसको नजीकको आफन्तसँग उनको बैरभाव र मतभेद छ । उक्त प्राध्यापकले प्रतिशोध साध्ने उपयुक्त थलो त्यहीनेर देख्छन् र ती उम्मेदवारलाई सकिनेजति रेटेर मूल्याङ्कन गर्छन । खुव गतिलो काम गरेको झै महसुस गरी त्यो कुरा आफ्ना साथीहरुसँग समेत शेयर गर्छन । नभन्दै शिक्षक सेवा आयोगको नतीजा प्रकाशन हुँदा उक्त प्राध्यापकद्वारा मूल्याङ्कनमा रेटिएकी उम्मेदवारको नाम बैकल्पिक सूचीको प्राथमिकता क्रमको एकमा देखिन्छ ।थाहा छैन, नतिजा देखेपछि उक्त प्राध्यापकले झनै कति गर्वको अनुभूत गरे होलान् आफ्नो कर्ममा । साँच्ची, कसैलाई विगार्नुमा आफ्नो अस्तित्व उठेको देख्ने गुरुबाट कसैको भविष्य सप्रिने कुरामा कसरी आशाबादी हुने होला ? साँच्ची, यसरी नै आग्रह र पूर्वाग्रहको नाममा मूल्याङ्कन गर्ने गुरुहरुले प्राध्यापन पेशा अङ्गालेपछि शिक्षा गतिलो पनि कसरी हुने होला?
गौतम बुद्धको पालामा अहिलेका जस्ता विश्वविद्यालयहरु थिएनन् । न त रामकृष्ण परमहंशको पालामा नै थिए । जिसस क्राइष्ट र इव्राहिमको पालामा पनि थिएनन् यस्ता विश्वविद्यालयहरु ।मलाइ त लाग्छ,त्यतिबेला यस्ता विश्वविद्यालयहरुभइदिएको भए गौतम बुद्ध आज जसरी संसारभरि भगवान गौतम बुद्धको नामले परिचित छन्, उनको यो दिव्य परिचय बन्दैनथे होला । उनी पनि लोभ, लालच, शंकुचित स्वार्थर अरुको कुभलो अनि आफ्नो भलो गर्ने कार्यमै आफूलाई लिप्त बनाउथे होला । विश्वशान्तिका कुराहरु पनि उनीबाट सम्भव हुदैनथे होला । सम्भव हुने पनि कसरी ? गुरु नै अरुको बरवादीमा आफ्नो आवादी देख्ने भएपछि सर्वजनहितायको पक्षमा चेलाले उभिन सिक्ने पनि कसरी र कोबाट ? रामकृष्ण परमहंश, जिसस् र इब्राहिमको पनि अवस्था त्यही हुन्थ्यो होला ।
कुनै पनि धर्म र आस्थाका प्रवर्तकहरुले मानिसको भलाई र मानवतालाई विर्सिएर आफ्नो धर्म र आस्थाको विजारोपण गरेको देखिदैन । उनीहरुले भिन्न भिन्न आस्था र धर्मको बीचका मानिसहरुको बीचमा कलहको परिकल्पना पनि गरेका थिएनन् । बरु सहकार्यको सपना देखेका थिए । तथापि आज त्यस्तो छैन । धर्म र आस्थाको नाममा आज मानिसले मानिसलाई मार्ने काम गरिरहेकोे छ । सायद विभिन्न धर्म र आस्थाहरुको बारेमा गरिएको मानवताविरोधी यो अनौठो ब्याख्या पनि हाम्रै विश्वविद्यालय र हाम्रै गुरुहरुले सिकाए कि भन्ने कुराहरुमा सन्देह गर्दा अन्यथा हुदैन जस्तो लाग्छ ।
निष्कर्षमा भन्नुपर्दा, म गुरुहरुप्रति नकारात्मक छैन ।दुनियाँ असल हुनुका लागि गुरुहरु असल हुनुको अर्को विकल्प नभएको विषयमा यो पङ्तिकार दृढसंकल्पित छ । आफ्नो वा अरुको कारणले गुरुहरुको आकाशमा कालो बादल लागे पनि चन्द्रमाको चाँदनी यदाकदा झुल्किरहेको छ अहिले पनि । विद्यानाथ कोइराला जस्ता गुरुहरु जिउदै छन अहिले पनि । यत्ति हो कि साँच्चीकै गुरुजस्ता गुरुहरु अल्पमतमा छन् । भित्र अरु नै थोक भएर गुरुको आवरण लगाएका गुरुहरुको चर्चा परिचर्चा चुलिएको छ अहिले । आशा गरौं, सत्यलाई हेर्ने दृष्टिकोणहरुमा फेरबदल भए पनि सत्य डगमगाउने छैन । आफ्नो गरिमा बचाएर प्राध्यापन कर्ममा समर्पित गुरुहरु सत्य हुन् । दुनियाँलाई एकदिन त्यस्ता गुरुहरुको आवश्यकता फेरि महसुस हुनेछ । दुनियाँलाई अहिंशा, शान्ति र मानवताको शिक्षा दिने विद्यालय र विश्वविद्यालयहरुको खाँचो पनि विश्वले महसुस गर्नेछ । त्यतिबेला अवश्यमेव आफ्नो गरिमा र स्वाभिमान जोगाएर प्राध्यापन गरिरहेका गुरुहरुको महत्व क्रमशःचुलिदै जानेछ, सवैलाई चेतना भया ।