२०७७ कार्तिक ५, बुधबार

प्रदेश प्रमुख कलौनीद्धारा पदभार ग्रहण, सबैसँग सहकार्य गर्दै संविधानको पालना गर्ने

सुर्खेत ।
कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीद्धारा बुधबार पदभार ग्रहण गरेका छन् । दिउसो १२ बजेर १६ मिनेटमा उनले प्रदेश प्रमुखको कार्यभार सम्हालेका हुन । कार्यभार सम्हालेपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिदैं उनले संविधानको अक्षरशः पालना गर्दै सबैपक्षसँग सहकार्य गर्ने बताएका हुन । ‘म नेपाल सरकारको प्रतिनिधिको रुपमा कर्णाली प्रदेश आएको हुँ ।’ उनले भने, ‘संविधानको अक्ष्रशः कार्यान्वयन गर्ने र लागु गर्ने दायित्व म पुरा गर्नेछु ।’ उनले यसकालागि कर्णालीवासी, प्रदेश सरकार सबैको सकारात्मक साथ, सहयोग पाउने अपेक्षा व्यक्त गरे ।

‘हामी सबै मिलेर कर्णालीलाई देशकै अन्य प्रदेश भन्दा विशिष्ट बनाउनुछ ।’ उनले भने, ‘त्यसकालागि सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेछ ।’ कर्णाली प्रदेशबाट प्रदेश प्रमुखमा एक जना पनि छनौट नभएको बताउँदै राजनीतिक दलहरु आक्रोशित भइरहेका बेला प्रदेश प्रमुखले कार्यभार सम्हालेका हुन । समारोहमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती मगर, मन्त्रीहरु, सरकारी उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेपनि राजनीतिक दलको भने प्रतिनिधित्व शुन्य रहेको थियो ।